दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) का लागि वर्तमान उपाध्यक्ष राजेन्द्र कुमार (आर.के.) शर्माले कर्मभूमि कतारबाट बुधबार औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।
दोहास्थित र्याडिसन ब्लु होटलमा ‘गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने मूल नारा समेटेर शर्माले २४ महिने (२ वर्षे) कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर बाचापत्र सार्वजनिक गरेका हुन् ।
एनआरएनए अभियन्ताहरुलाई साक्षी राख्दै उनले २४ महिनामा २४ काम गर्ने बाचासहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
शर्माले विश्वका सबै क्षेत्रमा बस्ने गैरआवासीय नेपालीहरूको सल्लाह र सुझावको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू ल्याएको बताए । यो योजना तथा कार्यक्रमले सिंगो गैरआवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजाने र आफ्नो कार्यकालमा ‘फुटेको होइन, जुटेको एनआरएन’ बन्ने उनले दाबी गरे ।
बाचापत्र सार्वजनिक गर्दै शर्माले भने, ‘मैले आइसिसीको उपाध्यक्ष भई कार्य गरिसकेकाले स्वभावतः अध्यक्ष भई जिम्मेवारी निर्वाह गर्नका लागि अनुभव कमाइसकेको छु । त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु । तपाई हाम्रो सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर गैरआवासीय नेपाली अभियानको नेतृत्व लिने संकल्प गरेको हुँ ।’
राम्रो एनआरएनए बनाउने सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर नेतृत्व लिने संकल्प लिएको भन्दै उनले सबैको साथ पाउनेमा विश्वास व्यक्त गरे ।
२४ बाचापत्रमा के छ ?
शर्माले बाचापत्रमा एनआरएनहरूबीच एकताः आफ्नो पहिलो बाचा रहेको बताएका छन् । . यसैगरी वैदेशिक रोजगार : दक्ष जनशक्ति, सुरक्षित वातावरण, हाम्रो नीति : सुधारौँ श्रमिकको आर्थिक स्थिति, विप्रेषणको प्रयोग कहाँ, उत्पादनमूलक उद्यम हुन्छ जहाँ, एनआरएनएको निरन्तर खटन : ‘गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ गठन आफ्नो बाचा पत्रमा उल्लेख गरेका छन् । सांगठनिक पुनर्संरचना : पहिला कार्यदलबाट गहन योजना, मानव संशोधन : सबलीकरणयुक्त कार्यसम्पादन, संस्थागत सुशासन : शून्य सहनशील स्वअनुशासन, एनआरएनए निर्वाचन : सबैले गर्न पाउन् मतदान, आर्थिक कूटनीति लगानी प्रवर्द्धन मुख्य नीति, गरौँ उच्चतम् प्रयोग सूचना प्रविधि : हुन्छ विकास र समृद्धि, नेपाली रोजौं, नेपाली खोजौं : निर्यात बढाउन जोडतोडले लागौं नारासहितको कार्यक्रम आफ्नो बाचापत्रमा समेटेका छन् ।