मेरा प्रिय शिक्षक साथीहरूलाई हार्दिक नमन: गर्दछु
कतै प्रहरी मुडभेट नहोस ।
कोही शिक्षकलाई प्रहरी दमन भएको समाचार मेरो कानले सुन्नु नपरोस।
म एउटा कोठामा बसेर मेरो राज्यसँग डराएको छु, कतै गोली त चलेन, कतै ती गुरुको देहावसानको समाचार पो सुन्नु पर्ने हो कि ? कतै दुर्घटनाको समाचार पो आउने हो कि भनेर! मेरो मन आजबाट किन किन त्रासले के के सोचिरहेको छ? म सरकारी शिक्षक हुन नसकेको मान्छे भएर होला म बेला - बेला धेरै कुरा मनमा सोच्ने गर्दछु, मैले मेरो बाबा शालिकराम घिमिरेबाट धेरै ज्ञान गुनका कुरा सिकेँ, ठुलो बुबा रामप्रसाद घिमिरे पनि शिक्षक नै हुनुहुन्थ्यो, उहाँ पनि मेरो प्रेरणाको स्रोत हुनुभयो,म आज नै आफुले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र अनि मैले त्यो शैक्षिक प्रमाणपत्र प्राप्त गर्न मैले गरेको संघर्ष पनि स्मरण गर्दैछु।
मेरी आमाले छोरो पढ्न जानु छ भनेर आधा रातदेखि गरेको दुखका दिनलाई पनि म आज नै किन किन स्मृतिमा सोच्दै छु ,मलाई स्मरण नै छ , मेरो बाबाले मलाई छोरो शिक्षक बनोस भनेर नै शिक्षा विषय लिएर क्याम्पसमा भर्ना गरिदिएको कुरा पनि मलाई ताजा नै छ, म राज्यलाई पनि केही कुरामा दोष दिने पक्षमा छैन, शिक्षक साथीहरू ! म अब आफ्नू परिचय खुलाउनुलाई ठिक ठान्दछु, प्रिय मित्रहरु! मेरो बाबाको बेलाको पढाइ र अहिले पढाइ मा पनि धेरै भिन्नता भै सक्यो , शिक्षकहरुको क्षमता मापन गर्ने परिपाटी पनि फरक नै भैसक्यो।
तपाईंहरु राज्यबाट जति असुरक्षित महसुस गर्नुहुन्छ, त्योभन्दा धेरै असुरक्षित भएको महसुस म आज गरिरहेको छु, कतै तपाईहरुले जसरी शिक्षामा योगदान दिनु भएको छ, त्यो योगदान मेरो पनि छ, तपाइँको मागलाई राज्यले चिन्छ वा चिन्दैन , मलाई थाहा छैन, तर मलाई यो कुरा चाहिं थाहा छ,मेरो जीवनको आधा भन्दा बढी समय तपाईंहरुले भन्दा बढी नै दुख: गरेर बिताइसकेको छु, राज्य मौन छ, मौन नै बस्छ, राज्यसँग कति पल्ट मैले सम्झौता पनि गरेको छु, म अभागी पनि होइन, यदि मैले नपढेकाे भए आज म कतार ,वा दुबैतिर गइसकेको हुन्थे होला वा त्यो पनि भएन मेरो खेती जग्गा त बाँझो राखिदिन्थे होला। आज म आफैले आफैलाई सम्झाइ रहेको छु ।म संग केही पनि छैन तर केही भएको अभिनय गरिरहेको छु किनभने मलाई म गरिव छु भन्ने कुरा राम्रोसंग मैले थाहा पाएको छु ।
अन्त्यमा शिक्षक मित्रहरू ,तपाईंहरु चाहिं कमजोर हुनुहुन्न , तपाईहरुले निषेध आज्ञा ताेड्न सक्नुहुन्छ , विधेयक परिवर्तन गर्न सक्नु हुन्छ, तर राज्यमा भएको अभावलाई निर्मुल पार्न तपाईँहरुले सक्नु हुन्छ जस्तो मलाई लाग्दैन।अब के लेखु हामी गरिव छौँ , हामी भन्दा गरिव राज्य छ, ख्याल गरेर जानुहोला। आन्दोलन गरिरहँदा प्रहरीको मुडभेटमा ज्यान चाहिं बचाउनु है ।
उही तपाईंहरुको प्रिय मित्र दिनेश घिमिरे "अन्जान"
कागेश्वरी मनोहरा ३ भद्रवास
मनास्लु वर्ल्ड स्कुल (संस्थापक निर्देशक)