चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको उच्चस्तरीय टोलीको मित्रराष्ट्र चीनको भ्रमणबाट दुई पार्टी र दुई देशबीचको सम्बन्ध थप सृदृढ हुन सघाएको ठानिएको छ ।
पार्टीका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको यही भदौ २६ गते असामयिक निधनका कारण भ्रमण टोलीका नेता पोखरेल र चार सदस्य यही भदौ २७ गते स्वदेश फर्कनुभएको थियो भने अन्य सदस्यहरू यही भदौ २९ गते स्वदेश फर्कनुभएको थियो ।
चीनले पर्यावरणीय हिसाबले विश्वको नमूना सहरको रूपमा विकास गरिरहेको छिङ्हाइ प्रान्तको राजधानी सिनिङमा चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको ‘चिनियाँ आधुनिकीकरण: मानवता र प्रकृतिबीचको सद्भाव’ विषयक अन्तर्राष्ट्रिय सेमिनारमा महासचिव पोखरेललाई प्रमुख वक्ता बनाइएको थियो । तीस देशका प्रतिनिधि सहभागी उक्त कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओलगायतका नेताहरू उपस्थित हुनुहुन्थ्यो ।
भ्रमणका अवसरमा चीनका मुख्य सहरबाट नेपालका नयाँ दुई अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई उडानका लागि चीन सरकार र चिनियाँ कम्युनिष्ट पार्टीको साथ, पहल र समन्वयको पहल हुने आशा गरिएको एमालेको विदेश विभाग प्रमुख डा राजन भट्टराईले बताउनुभयो । उहाँले त्यस अर्थमा भ्रमण उपलब्धिमूलक रहेको जनाउनुभयो ।
उहाँका अनुसार चीनले एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला चीन भ्रमणका क्रममा भएका सम्झौता र सहमतिहरू तथा यसैगरी चिनियाँ राष्ट्रपति सी जिनपिङको दुईदिने राजकीय भ्रमणको क्रममा भएका सहमति र सम्झौताहरू छिटो कार्यान्वयन होस् चाहना नेपाली प्रमण्डलसँग व्यक्त गरेको छ ।
नेपाली टोलीले नेपाल एक चीन नीतिमा दृढ रहेको र नेपालको भूमिबाट हुने सबै खालका चीन विरोधी गतिविधिलाई अस्वीकार गर्दै असंग्लन परराष्ट्र नीति र पश्चशीलको सिद्धान्तमा दृढ रहेको स्पष्ट गरेको थियो ।
भ्रमण दलमा विदेश विभाग प्रमुख डा राजन भट्टराई, एमालेका स्थायी कमिटी सदस्य एवं केन्द्रीय प्रचार विभागका प्रमुख कमिटी सदस्य राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वाला शाहा, केन्द्रीय सदस्यहरू राम राना, टुका हमाल, निरज आचार्य, रचना खड्का, सहदेव बोगटी, मञ्जु गुरुङ, मानवीर राई, अजय गुप्तालगायत रहनुभएको थियो ।