काठमाण्डौ, साँझपख कराईमा नौनी (तयारी किनेको) खराउँदै के थिएँ !खै के सोचे कुन्नी ? अनायासै आँशु तरक्क झरेछ।यसो यताउति हेर्दै सम्हालिन खोज्दा नखोज्दै के भयो हजुरलाई? छोरीको प्रश्न हामी बसिहाल्छौं नि ! दिदी बहिनी ! यसपाली हजुर आमा विरामी हुनुहुन्छ भोलि साँझसम्म पुगिहाल्नु हुन्छ नि !जानू मम्मी यसपाली.....!
खै मेरो भित्री आशय उस्ले के बुझि ! तर आँसु भित्र पनि भाषा हुँदोरहेछ मैले चाहिँ बुझें ! तिमीहरूले कहाँ रोकेको छौ त! अस्ति भर्खर भेटेर आएँ ! कति जानु आउनु र !अब दशैंमा जानै पर्छ ! यसरी नै भूलाएँ छोरीका कुरालाई ।
खै किन झर्छ आँशु कहिलेकाहीँ थाहै नदिई।
यो आँशु भन्ने चिज त रहेछ मन पगाल्ने र त्यही मन पखाल्ने!चाडपर्वले कतिपय कुराहरू सम्झाउँछ पनि र कतिपय कुराहरू भूल्न पनि सिकाउँछ।आफूले मरिमेटी सम्झेकाहरूलाई झनै सम्झाउँछ र कहिल्यै पालो नफर्काउनेहरूलाई पनि सम्झाईदिन्छ।
प्रसङ्ग नौनीको थियो अन्तै मोडेछु.....!
तीजमा सबै भन्दा बढी आमाको सम्झना आउँछ सबैलाई ।मलाई पनि स्वभावैले आयो। आमाले निडर भएर झ्वाईय पार्दै खर्रिएको नौनीमा हातले तर्काएको पानीको आवाजले तर्सिएको पल सायद मेरो स्मृतिमा आएर हुनुपर्छ मेरो आँखाले मलाई नै नसोधी तर्किएको।किन आमा पानी राख्नु हुन्छ यति तातो घ्यूमा ? आमाको उत्तर सम्झे खराउँदैं गरेको नौनी चलाउँदै गर्दा। राम्रोसँग खरिएको नखरिएको थाहा हुन्छ ! त्यो बेला के कति बुझे ?तर अहिले आफैंले नौनी खराउँदा राम्रोसँग बुझें!
ढकनी, खिर ,
आलुको भाङ्गोले मोलेको अचार,
घिरौलो र बोडीको तरकारीमा मिसिएको स्वाद, आफ्नोपन,मीठास, ममताले पस्किएर दिएको क्षण आमा भन्दा बाहिर खोजेर पनि पाउन सकिन्न ।आमाले पकाएको दरमा छुट्टै सम्झना मिसिएको हुन्छ । बचपन जोडिएको हुन्छ ।त्यसैले मैले सधैं भन्ने गर्छु दर भन्दा दरको सम्झना मीठो!
महिना दिन अघि किनेको तीजको नयाँ लुगा हेर्दाहेर्दै पुरानो भएको त्यो क्षण। आधि टोक्दै फाल्दै गरेको त्यो बेलौतीको (अम्वा)बोट। घर आँगन । आफू नपुगे पनि मन चाहिँ त्यहीँ पुगेर फर्कन्छ।हाम्रो चाडपर्वले घर परिवार हुँदै
गाउँघरसम्म जोड्छ। चाडपर्वको बहानामा भेट्नै पर्छ ! पुग्नै पर्छ भनेर कर्तव्यबोध पनि सिकाउँछ।
पृष्ठभूमिमा कमाउने नि हो!
रमाउने नि हो......!(गीत बज्दै)
दर खाने दिनको मीठो सम्झनाका साथै हरितालिका
तीजको अवसरमा सबैमा हार्दिक शुभकामना🙏
- गीता आचार्य