चार महिना पहिलेसम्म जमुना परियार नेपालीको हातमा सीप थिएन । घरमा बालबच्चाका लागि चाहिने खर्च, घरखर्च र आफ्नो लागि आवश्यक खर्चसमेत उहाँका श्रीमान् एक्ला स्रोत हुनुहुन्थ्यो । स–साना कामका लागि श्रीमान्सँग पैसा माग्न जमुना आप्ठेरो मान्नुहुन्थ्यो । अहिले आफ्ना लागि आवश्यक खर्च जमुना आफैँ कमाउनुहुन्छ ।
बागलुङ बजारको एक टेलरिङ सेन्टरमा कालिगडको काम गरिरहनुभएकी जमुना सीप सिकेपछि आत्मनिर्भर हुनुभएको हो । उहाँको अहिले मासिक कमाइ हुन्छ । आफ्नो, बालबच्चा र घरको खर्च चलाएर जमुना बचत गर्ने हुनुभएको छ । “आफ्नो कमाई हुँदा र नहुँदा धेरै फरक हुँदोरहेछ, चार महिना खर्चेर सिकेको सीपले मलाई आत्मनिर्भर बनाएको छ”, जमुना भन्नुहुन्छ, “मैले अरू धेरै दिदीबहिनीलाई काम सिक्न र थोरै भए पनि कमाउन सकिन्छ भन्ने गरेकी छु ।”
उहाँले सीप सिक्नु भनेको घरको जग बसालेको जस्तै आम्दानीको जग बसेको बताउनुभयो । जमुनाले धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिआइआरडिसी)बाट चारमहिने टेलरिङ तालिम लिनुभएको हो । तालिमपछि उहाँलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले सीप परीक्षा लिएर प्रमाणपत्र दिएको छ । त्यही प्रमाणपत्रले उहाँलाई जागिर पाउन सहज भएको छ भने चार महिना सिकेको सीपले काममा सघाएको छ ।
जमुनाजस्तै ‘डिआइआरडिसी’बाट तालिम पाउने कैयौं महिलाहरुको जीवनमा परिवर्तन आएको छ । लामो समयदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सम्बन्धन लिएर विभिन्न सीपमूलक तालिम चलाइरहेको सो संस्थाले कैयौँ युवाहरुलाई स्वरोजगारसँग जोडेको छ । विसं २०७४ देखि सीप कक्षा सुरु गरेको उक्त संस्थाले वर्षमा दुई पटकमा कक्षाहरु सञ्चालन गर्दै आएको छ ।
चालु वर्षको पहिलो सत्रमा पाँच सय ६३ जनाले सीप सिकेका छन् । एक सय ४३ जनाले प्लम्बर, ६५ जनाले विद्युत् जडान, दुई सय ५५ जनाले टेलरिङ र एक सय एक जनाले ग्रिलसम्बन्धी सीप सिकेका छन् । “सीप सिकेका धेरैले राम्रो गर्नुभएको छ, कैयौँ युवाहरु रोजगारीसँग जोडिनुभएको छ, कैयौँले स्वरोजगारमुलक व्यवसाय थाल्नुभएको छ”, सो संस्थाका कार्यक्रम संयोजक शालिग्राम शर्माले भन्नुभयो, “विदेश जानेहरुलाई तालिमले निकै सहयोग गरेको छ ।” सोमबारदेखि छैटौँ ‘ब्याच’को दोस्रो सत्रका लागि तालिम सुरु भएको छ । तालिममा ७२ युवायुवती सहभागी छन् । तालिमको गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठकले उद्घाटन गर्नुभएको थियो ।