विसं २०६५ देखि भदौ १५ गतेलाई राष्ट्रिय पुस्तकालय दिवस सरकारी तवरबाट नै मनाउन सुरु गरिए पनि दिवस मनाउने परम्परामात्र बनेको छ । पुराना ऐतिहासिक पुस्तकालयसमेत संरक्षण र सम्वद्र्धनको अभावमा इतिहास मात्र बन्दै गएका छन् ।
तत्कालीन मेजर जरनल मृगेन्द्र शम्शेर जङ्गबहादुर राणाबाट २००५ सालमा अनुमति प्राप्त भएको भोजपुर सदरमुकाममा रहेको ऐतिहासिक श्रीराम अमर सहिद पुस्तकालयको हालत पनि अहिले त्यस्तै छ । पुस्तकालयभित्र पुस्तक छन्, तर भूकम्पले घरमा क्षति पुर्याएको भन्दै २०७२ सालबाट पूर्णरुपमा बन्द गरिएको छ ।
पुस्तकालयमार्फत विगतमा विभिन्न सामाजिक कार्य गर्दै आइरहेको सम्झँदै स्थानीय तथा भोजपुरका पूर्वजिल्ला शिक्षा अधिकारी सीताराम श्रेष्ठले भन्नुभयो, “अहिलेका पुस्ताले साहित्य तथा पुराना पुस्तक पढ्न छाडेका छन्, उनीहरुमा अध्ययनभन्दा पनि मोबाइल, टिभी, इन्टरनेटको पहुँच बढ्दै गयो ।” देउसी भैलो, साहित्यिक कार्यक्रम, नाटकसमेत देखाउँदै स्थापना भएको पुस्तकालय सञ्चालन गर्ने र भवन निर्माणका विषयमा कमै मात्र चासो देखिने गरेको छ ।
तत्कालीन राणा शासनकालमा स्थानीय जागरुक युवा नारदमणि थुलुङ, विचारी चन्द्रप्रसाद, इन्द्रप्रसाद श्रेष्ठ, जगदिश सापकोटालगायतका युवाद्वारा पुस्तक सङ्कलन गरी भगवान् रामको नामबाट पुस्तकालय सञ्चालन भएको इतिहास पाइन्छ । राणा विरोधी आन्दोलनमा ज्यान गुमाएका वीर अमर सहिदको सम्झनामा २०१० सालमा भोजपुर सदरमुकाममा नै श्री अमर सहिद पुस्तकालय नामको अर्काे पुस्तकालयसमेत स्थापना भएको थियो । यो पुस्तकालयलाई पछि आएका वडा हाकिमले २०१२ साल माघ २२ गते धार्मिक तरिकाबाट पुस्तकालय सञ्चालन गर्न अनुमति दिएको पुस्तकालयका ज्ञाता स्थानीय शेरबहादुर मोक्तानले जानकारी दिनुभयो ।
पुस्तकको अभाव, आर्थिक समस्या, स्थान अभावजस्ता कारणले गर्दा दुवै पुस्तकालयलाई अगाडि बढाउन र सञ्चालन गर्न नसकिए पछि २०२३ साल माघ १६ गते श्री राम पुस्तकालय तथा श्री अमर सहिद पुस्तकालयलाई संयुक्त गरि श्रीराम अमर सहिद पुस्तकालय भोजपुरको नामबाट सञ्चालनमा ल्याइएको पुस्तकालयका संरक्षकसमेत रहनुभएका मोक्तानले बताउनुभयो ।
हाल यो पुस्तकालय सात आना दुई पैसा जग्गामा बनेको तीन तले आफ्नै घरमा छ । तत्कालीन पुस्तकालयका संस्थापक सदस्य युवाले चाडपर्वमा देउसी, भैली, लाखे जात्रा प्रदर्शन तथा विभिन्न अवसरमा नाटक एकाङ्की प्रदर्शन मञ्चन गरेर बचत गरि तथा तत्कालीन जिल्ला पञ्चायतबाट आर्थिक सहयोग प्राप्त गरी कूल रु एक लाख १४ हजारको लागतमा २०४० साल भदौमा भोजपुर सदरमुकाममा आफ्नै घर निर्माण गरिएको थियो ।
राणा शासनकालमा सञ्चालनमा आएका ऐतिहासिक पुस्तकालयको संरक्षणमा सबैले ध्यान दिन जरुरी रहेको स्थानीय बुद्धिजीवी सम्झना प्रधानको भनाइ छ । उहाँले भन्नुभयो, “आगामी दिनमा यस पुस्तकालयलाई अझ पाठकको सुविधामा पुग्ने गरी समयसापेक्ष सुधार हुन आवश्यक छ, त्यसका लागि पुस्तकालयको भवन जीर्णोद्वार गर्न आवश्यक देखिन्छ ।”
विसं २०१२ मा स्थापना भएको हाल भोजपुर नगरपालिका–४ सिद्धेश्वर, दाँवामा रहेको जनहित पुस्तकालयसमेत अहिले नियमितरुपमा सञ्चालनमा आउन सकेको छैन । पुस्तकालयको आफ्नै निजी भवन रहेको सचिव गणेश श्रेष्ठले जानकारी दिनुभयो । सचिव श्रेष्ठले भन्नुभयो, “यस पुस्तकालयमा करिब चार हजार पुस्तक छन्, पाठक अभावका कारण हाल नियमित सञ्चालनमा भने आउन सकेको छैन ।” यसलाई पनि अहिलेको प्रविधिसँगै इ लाइब्रेरीको अवधारणामा सञ्चालन गर्न सकिएमा राम्रो हुने श्रेष्ठको भनाइ छ । ऐतिहासिक पुस्तकालय सञ्चालनका लागि छुट्टै अवधारणा बनाइनुपर्ने श्रेष्ठ बताउनुहुन्छ ।
ऐतिहासिक पुस्तकालय सञ्चालन गर्न सकिएमा सबै पक्षलाई राहत मिल्ने स्थानीय तथा पूर्वपरराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईको भनाइ छ । उहाँले भन्नुभयो, “आधुनिकतासँगै विगतमा सञ्चालनमा रहेका पुस्तकालय पनि इ लाइब्रेरीको अवधारणामा सञ्चालन गरिनुपर्छ ।” दाँवामा रहेको ऐतिहासिक पुस्तकालय व्यवस्थित गर्ने विषयमा पनि प्रयासरत छौँ ।