मन्थली (रामेछाप), ६ भदौ : रामेछापको गोकुल गङ्गा गाउँपलिकाका निवर्तमान अध्यक्ष शेरबहादुर सुनुवारले कृषि कर्ममार्फत गाउँमा उदाहरणीय बनेर देखाउनुभएको छ । दैनिक हजारौँको सङ्ख्यामा विदेशिने युवालाई चुनौती दिँदै उहाँले गाउँमै नमुना कृषि फार्ममार्फत व्यावसायीक कृषि गर्दै आउनुभएको छ ।
पछिल्लो समय स्वदेशमै कृषि गर्नुभन्दा विदेश जाने युवाको सङ्ख्या बढेको भन्दै राजनीतिसँगै कृषिलाई व्यावसाय बनाएको सुनुवारले बताउनुभयो । राजनीति गर्नेले अरु पेसा/व्यवसाय नगर्ने परम्परा रहेको बताउँदै उहाँले कृषिका माध्यमबाट स्वरोजगारी सिर्जना गर्ने उद्देश्यले कृषि कर्ममा लागेको बताउनुभयो ।
‘राजनीति पेसा होइन सेवा हो’भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको बताउँदै सुनुवारले राजनीति गर्नेको जीविकोपार्जनका लागि कुनै पेसासँग जोडिनुपर्ने आवश्यकता महसुस गरेर राजनीतिसँगै कृषि पेसामा जोडिएको बताउनुभयो । राजनीति गर्ने मान्छे जुन पेसामा जोडिए पनि अब्बल र नमुना बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेकपा एमाले वाग्मती प्रदेश कमिटीका सदस्यसमेत रहनुभएका सुनुवार सबैलाई कर्म गर्न सिकाउँदै हुनुहुन्छ । सुनुवार बहुदलीय व्यवस्था आएदेखि निरन्तर राजनीतिमा सक्रिय हुनुहुन्छ । विसं २०७४ को स्थानीय निर्वाचनमा गोकुलगङ्गा गाउँपालिकाको अध्यक्षका रुपमा विजयी हुनुभएका सुनुवारले पालिकाको पदमा हुँदा पनि फुर्सदको समयमा कृषि कर्मलाई निरन्तरता दिनुभएको थियो । अहिले उहाँ गाईवस्तुको थलाको भकारो सोर्न र डोको बोक्ने गर्नुहुन्छ ।
विसं २०४९ देखि निरन्तर सार्वजनिक पदमा रहनुभएका सुनुवार विसं २०४९ मा गाविस उपाध्यक्षमा निर्वाचित हुनुभयो । पछि उहाँले गाविसको कार्यबाहक अध्यक्ष भएर काम गर्नुभयो । विसं २०५४ मा गाविस अध्यक्ष भएर जिम्मेवारी निभाउनुभयो ।
विसं २०७४ को निर्वाचनमा भने उहाँ पराजित भएपछि आफ्नो सम्पूर्ण समय कृषिमा लगाएको सुनुवारले बताउनुभयो । गाउँमा पशुपालनसँगै खेतीलाइृ नै व्यावसाय बनाएको उहाँको भनाइ थियो । गाउँपालिकाको अध्यक्ष हुँदा पालिकालाई कृषिबाट नै समृद्ध बनाउन सकिन्छ भन्ने उद्देश्यले कृषि क्षेत्रमा अनुदानको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँले अध्यक्ष हुँदा यहाँका किसानलाई किबी, फलफूलका बिरुवा, कृषि उत्पादन, पशुपालनलगायतका क्षेत्रमा अनुदानको व्यवस्था मिलाउनुका साथै आलु पकेट क्षेत्र घोषणा गरेर कार्यक्रम सञ्चालन गर्नुभयो । व्यावसायिक क्षेत्रमा लागेमा जीविकोपार्जन सहन हुन्छ भन्दै उहाँले स्थानीयवासीलाई प्रेरित गर्न विभिन्न अनुदानका कार्यक्रम ल्याउनुभएको थियो ।
गाउँपालिका अध्यक्ष हुँदा उहाँले किबी, चिया, आलु, सिमीका साथै विभिन्न जातका फलफूल र खाद्यबालीको व्यावसायी खेतीका लागि विभिन्न कार्यक्रम ल्याएको सुनुवारले बताउनुभयो ।
अहिले उहाँको बगैँचाका तीन सय बढी किबीका बोटले व्यावसायिक उत्पादन दिन सुरु गरिसकेका छन् । अन्य बिरुवा पनि एक÷दुई वर्षमा उत्पादन दिने अवस्थामा पुगेका छन् । एक बोट किबीले वार्षिक ५० केजीसम्म उत्पादन दिन्छ । किसानले किबी बगैँचाबाट रू तीन सय प्रति केजीमा बिक्री गर्छन् ।
सुनुवारले आर्गानिक चिया र आलुका साथै लसुन, प्याज, स्कुस, कोदो, मकैलगायत खेती गरिरहनुभएको छ । विभिन्न जातका फलफूलका साथै स्थानीय जातका कुखुरा र पशुपालनमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ उहाँ ।
उहाँ आफैँ खेतीको काममा खट्नुहुन्छ । कोदालो खन्नुहुन्छ, डोको बोक्नुहुन्छ, बिरुवा काँटछाँट गर्नुहुन्छ । “भ्याएसम्म प्रायः काम आफैँ गर्ने हो । नभ्याउँदा अलिअलि मान्छे पनि लगाउनुपर्छ”, सुनुवारले भन्नुभयो । उहाँले उत्पादनसँगै बजारीकरणको काम पनि सुरु गरेको बताउनुभयो ।
आफ्नो र स्थानीय किसानको उत्पादन बजारसम्म पु¥याउने काममा अहिले सुनुवार लाग्नुभएको छ । “यसले गर्दा किसानले उत्पादनको राम्रो मूल्य पाउने र उपभोक्ताले पनि सस्तो मूल्यमा गुणस्तरीय र आर्गानिक खानेकुरा पाउने वातावरण बन्दै गएको छ”, उहाँले भन्नुभयो ।
अहिले माथिल्लो लेकाली भेगमा आलु खन्नेर बजार पठाउने बेला भएको छ । यहाँ उत्पादित आलु लिएर सुनुवार आफैँ काठमाडौँं छिर्नुभएको छ । भक्तपुरस्थित गट्ठाघर पुलको छेउमा एउटा सटर भाडमा लिएर उहाँले दुई हजार चार सय मिटर माथिको कुनै विषादी प्रयोग नगरिएको आर्गानिक आलु बिक्रीमा राख्नुभएको छ ।
रामेछापको गोकुलगङ्गा र उमाकुण्डको ताबेँलगायत लेकाली क्षेत्रको आलु उपत्यकाका उपभोक्तालाई बेचिरहेको सुनुवारले बताउनुभयो । उहाँले आलुको विज्ञापन गर्न चिन्ता नभएको भन्दै शुभचिन्तक, पार्टीका नेताहरू विज्ञापन गरिदिइरहनुभएको बताउनुभयो ।
गोकुलगङ्गामा उत्पादन भएको अर्गानिक आलु भक्तपुरको गठ्ठाघरमा बिक्री गरिरहेको बताउँदै सुनुवारले यसले किसानलाई प्रोत्साहन दिनुका साथै सहरवासीलाई अर्गानिक आलुको स्वाद दिइरहेको बताउनुभयो ।
आफू गाउँपालिका अध्यक्ष हुँदा जनताको इच्छाअनुसार जनपक्षीय योजना बनाएर किसानलाई अनुदान दिएको जनाउँदै उहाँले यस क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले आलु जोनका रुपमा काम गरिरहेको जानकारी दिनुभयो ।