दोहा : सुनुवार सेवा समाज (शाखा ) कतारको छैठौं अधिवेशन (सम्मेलन) सम्पन्न भएको छ । अधिबेशन बाट शुभराज सुनुवारको अध्यक्षतामा १३ जनाको नयाँ कार्यसमिति निर्विरोध चयन भएका छ्न ।
समितिको प्रथम उपाध्यक्षमा कमल विक्रम सुनुवार, द्वितीय उपाध्यक्षमा सोनी कुमारी सुनुवार, महासचिवमा गंगाबहादुर सुनुवार, सचिवमा दिनेश सुनुवार, कोषाध्यक्षमा सोचन सुनुवार र सहकोषाध्यक्षमा सन्त मुखिया सुनुवार चयन भएका छन् ।
कार्यसमिति सदस्यहरूमा मेनुका सुनुवार, बुद्ध बहादुर मुखिया सुनुवार, दिपा सुनुवार, माया सुनुवार, शिशिर सुनुवार र कृष्ण बहादुर सुनुवार चयन भएका छन् । केन्द्रीय प्रतिनिधि साम सुनुवारले निर्वाचित कार्यसमितिलाई नेपाली र आफ्नो मातृभाषामा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
समाजका अध्यक्ष निरबहादुर सुनुवारको सभापतित्व तथा जनजाति महासंघ कतारका अध्यक्ष दुर्गाबहादुर पाङ्मी मगरको प्रमुख आतिथ्यता तथा सुनुवार सेवा समाज संघीय समिति केन्द्रका प्रतिनिधि साम सुनुवारको विशिष्ट आतिथ्यता लगायतको आदिबासी जनजाती महासंघमा आबद्ध मातृ संस्थाहरुका प्रतिनिधि हरुको बाक्लो उपस्थिति रहेको थियो ।
अधिवेशनमा सुनुवारहरूको मौलिक झाँकी प्रस्तुत गरिएको थियो भने थुप्रै कलाकारले आफ्ना सांगीतिक प्रस्तुति दिएका थिए । सो अवसरमा समाजले विभिन्न समयमा आयोजना गरेका कार्यक्रममा सांगीतिक प्रस्तुति दिने कलाकार, समाचार सम्प्रेषण गर्ने विभिन्न सञ्चार गृहमा आवद्ध पत्रकारहरूलाई सम्मान गरिएको थियो ।
पूर्वअध्यक्ष अमृत राईलाई कार्यक्रम सफल बनाउन खेलेको भूमिकाको प्रशंसा गर्दै किराँती परम्पराअनुसार फेटा लगाएर सम्मान गरिएको थियो । त्यस्तै एनआरएनए एनसीसी कतार २०२१–२३ कार्यकालका प्रथम उपाध्यक्ष जैबी राई र समाजका सल्लाहकार तेज बहादुर सुनुवारलाई सम्मान पत्र, फेटा र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू सहित प्रमुख अतिथि मगरले शुभकामना मन्तव्य राख्दै आफ्नो संस्कृति र पहिचानलाई बिश्वको जुनसुकै देशमा गएपनि भुल्न नहुने बताए । जनजातिहरू फुटेर टुटेर कहीँ नपुग्ने भन्दै एकताले मात्र गन्तव्यमा पुगिने बताउदै कतारमा रहेका ३ किराँतीलाई पुनः एकै ठाउँमा हुनुपर्नेमा जोड दिए
सभापति सुनुवारले मन्तव्य राख्दै आफ्नो कार्यकाल अवधिभर साथ सहयोग गर्ने,कार्यक्रमलाई सफल पार्न आ- आफ्नो ठाउँबाट भुमिका खेल्ने सम्पुर्णमा आभार प्रकट गर्दै खुला सत्रको समापन गरेका थिए ।
कोषाध्यक्ष गंगाबहादुर सुनुवारले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई महासचिव शुभराज सुनुवारले सहजीकरण गरेका थिए । सुनुवार सेवा समाज (शाखा ) कतारले आफ्नो स्थापना काल देखीनै आफ्नो भाषा, धर्म सस्कृती, रितिरिवाज,परम्परा जगेर्ना सम्बर्द्धन गर्दै विभिन्न सामाजिक तथा आर्थिक कार्यहरु गर्दै आइरहेको छ ।
"पहिचान र समानताको लागि प्रतिबद्धता " भन्ने नाराका साथ सन : २०१० मा स्थापना गरिएको जातियता संस्था सुनुवार सेवा समाज (शाखा ) कतारको छैठौं अधिवेशन रेड चिल्लि रेस्टुरेन्टको सभाहल सनैयामा भब्यताका साथ सम्पन्न गरिएको हो ।