नुवाकोट जन्म तथा घर भई हाल काठमाडौँमा सञ्चार क्षेत्रमा क्रियाशील सञ्चारकर्मीको आजको भेलाले रमेश जम्मकट्टेलको नेतृत्वमा नौ सदस्यीय ‘नुवाकोट–काठमाडौँ पत्रकार समाज’ गठन गरेको छ ।
साउन १५ को ‘खीर खाने संस्कृति’ मनाउँदै आज अनामनगरमा आयोजित भेलाले समाजको सहसंयोजकमा नवराज घिमिरे, सदस्यमा प्रशन्न ढुङ्गाना, प्रकाश पुडासैनी, राजन ढकाल, हरिराम भेटवाल, आशिष ढुङ्गाना, प्रयास श्रेष्ठ, प्रतिमा मुडभरीलाई चयन गरेको छ ।
उक्त तदर्थ समितिले संस्थाको विधान तर्जुमा, दर्ता प्रक्रिया र भावी कार्यक्रम सञ्चालन गर्नेछ । एक दशकअघिको यस्तै भेलाले पत्रकार दिनेश आचार्यको अध्यक्षतामा तदर्थ समिति गठन गरेकामा आज पुनःगठन गरी नयाँ रूप दिइएको हो । उक्त समितिमा दुई सदस्य र आवश्यकतानुसार सल्लाहकारपछि चयन गरिनेछ ।
भेलाको अध्यक्षता गर्दै राष्ट्रिय समाचार समिति (रासस) का नायब महाप्रबन्धक श्यामप्रसाद रिमालले जन्म जिल्लाप्रतिको सम्मान र यसको समृद्धिका लागि सञ्चारकर्मीले हातोमालो गर्नुपर्ने बताउनुभयो ।
भेलामा सञ्चारकर्मी सागर गजुरेल, प्रकाश सिलवाल, रामकृष्ण पौडेल, विष्णु तारुके, माधवप्रसाद तिवारी, अनिता श्रेष्ठ, नवराज अधिकारी, राजकुमार सिग्देल, उद्धव सिलवाललगायतले समाजलाई संस्थागत र सक्रियरूपमा सञ्चालन गरी सञ्चार क्षेत्रबाट नुवाकोटको विकासमा टेवा दिन सकिनेमा जोड दिनुभएको थियो ।