भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई महानगरवासीको एउटा आरोप सधैँ रहने गरेको छ, ‘सहज भेट्न पाइँदैन’ ।
धेरै जनसङ्ख्या भएको महानगरमा कार्यालय समयमा सबैलाई भेट्न सम्भव पनि छैन । कार्यालयको कामसँगै भेटघाटको व्यवस्थापन गर्दा सबैलाई भेट्ने अवसर मिल्दैन । दाहालका विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार एक दिनमा चार सयभन्दा बढी प्रमुखलाई भेट्न महानगर आइपुग्छन् ।
धेरैको भेट्ने चाहनाका कारण सबैलाई मन बुझाउन नसकिएको उहाँ स्वीकार गर्नुहुन्छ । यिनै गुनासा चिर्दै पछिल्ला दिनमा प्रमुख दाहालको बिहानीको हिँडाइ नगरका टोलटोलमा हुने गरेको छ । बिहान ५ बजे घरबाट गाडीमा निस्किएर एउटा वडामा पुगेपछि उहाँको हिँडाइसँगै भेटघाट सुरु हुन्छ । टोलटोलमा उहाँ बिहानी हिँडाइ (मर्निङ वाक) गर्नुहुन्छ । स्थानीयसँग भेट गर्नुहुन्छ ।
गुनासा एवं सुझाव सुन्नहुन्छ र चालु आयोजनाको अनुगमन गर्नुहुन्छ । कतिपय स्थानीय उहाँसँगै हिड्ने गर्नुहुन्छ । यसरी हिँड्दा आफ्ना कुरा खुलेर राख्ने अवसर पनि मिलेको छ । प्रमुखसँग आफ्नै टोल छिमेकमा तस्वीर खिच्नेको पनि कमी हुँदैन । हालसम्म महानगरपालिकाका वडा नम्बर १, ६, १०, ११, १६, २२ र २३ का टोलटोलमा उहाँ पुगिसक्नुभएको छ । क्रमशः सबै वडामा पुग्ने उहाँको योजना छ ।
नियमित बिहानीको हिँडाइसँगै रहनुहुने दाहालका छिमेकी टिकाराम पोख्रेलका अनुसार हिँडाइ सँगसँगै नगरवासीका गुनासो, सुझाव सुन्ने र जवाफ दिने अवसर दाहाललाई मिलेको छ । भेट्न महानगर आउन नपर्ने गरी दाहालले धेरैका समस्या सडकमा नै समाधान गर्ने गरेको उहाँले जानकारी दिनुभयो । स्थानीयसँगै घुलमिल हुने, बिहानीको चिया पिउने र फर्कने दाहालको दैनिकी बनेको छ ।
भौतिक निर्माणका कामलाई अनुगमन गर्ने र अपुग एवं अधुरा भएका काम पूरा गर्न त्यहीबाट सम्बन्धित कर्मचारीलाई उहाँले निर्देशन दिने गर्नुभएको छ । दाहालले भन्नुभयो, “भेट्न पाइएन भन्ने नगरवासीको गुनासो मेट्न बिहानी हिँडाइमा टोल टोलमा पुग्ने गरेको छु ।” नगरवासीका गुनासा सुन्न, सुझाव लिन, उहाँहरुसँग घुलमिल हुन, योजना हेर्न र नयाँ योजना बनाउन यसले आफूलाई सहयोग पुगेको उहाँले बताउनुभयो ।
दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी हुनुहन्छ । त्यसो त उहाँ नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य पनि रहनुभएको छ । यसै कारणले महानगरपालिका मात्र नभएर पार्टीसँग सम्बन्धित व्यक्ति पनि उहाँलाई भेट्न आउने गरेका छन् ।
दाहालको आफ्नो दैनिकी निकै व्यस्थतामा बित्ने गर्दछ । बिहान उठेदेखि राती सुत्ने बेलासम्म उहाँ नगरवासीकै काममा व्यस्त हुने गर्नुहुन्छ । उहाँले भन्नुभयो, “जब म निदाउँछु तब मात्र मैले आराम पाउँछु ।” बिहान ब्युझिँदै गर्दा बज्ने फोनका घण्टी निदाउनु अघिसम्म बजिरहन्छन् । यो व्यस्तताका बावजुत नगरवासीलाई घरघरमा नै भेट्ने पछिल्लो दैनिकी उहाँको बनेको छ । बिहान ५ देखि ८ बजेसम्मको समय उहाँले यस्तै कार्यका लागि छुट्याउँदै आउनुभएको छ ।