कैलालीका भन्सार कार्यालयमा गत आर्थिक वर्ष २०७९÷८० मा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन सकेको छैन । दुई भन्सार कार्यालय रहेको कैलालीमा भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व उठेको छ ।
कैलाली भन्सार कार्यालयलाई गत आव २०७९÷८० मा भन्सार विभागले रु १२ अर्ब ३० करोड ६६ लाख ७८ हजार राजस्व उठाउने लक्ष्य तोकेको थियो । तर उक्त आवमा रु आठ अर्ब २९ करोड ६३ लाख मात्र राजस्व उठेको छ । यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्र भएको भन्सार कार्यालय कैलालीका सूचना अधिकारी पवित्रकुमार खड्काले बताउनुभयो । बैंक तथा वित्तीय संस्थामा देखिएको समस्याका कारण व्यापारिक वातावरण नहुँदा राजस्व कम सङ्कलन भएको उहाँले बताउनुभयो ।
टीकापुर नगरपालिकाको सीमामा रहेको सत्ती भन्सार कार्यालय खक्रौलाबाट पनि लक्ष्यअनुसार राजस्व उठ्न सकेको छैन । भन्सार विभागले सत्ती भन्सारलाई आव २०७९÷८० मा रु १६ करोड ९४ लाख, ४२ हजार राजस्व उठाउने लक्ष्य तोकेकोे थियो । सो अवधिमा सत्ती भन्सारले रु सात करोड, ३८ लाख, ८९ हजार मात्र राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ४४ प्रतिशत मात्र भएको सत्ती भन्सार कार्यालय खक्रौलाका निमित्त प्रमुख तुलसीराम चौधरीले बताउनुभयो ।
“आर्थिकमन्दी, भन्सार कार्यालयमा क्वारेन्टाइन र प्लान्ट कार्यालय नहुँदा राजस्व सङ्कलन कम भएको हो”, उहाँ भन्नुहुन्छ । कैलालीका भन्सार कार्यालयबाट आयातबाट मात्र राजस्व उठ्ने गर्छ । यी भन्सार भएर पेट्रोलियम पदार्थ, कपडा, मोटर पार्टस, हार्डवेयरका सामान, चामल, गहुँ, पापड, भुजिया, दालमोठ, बिस्कुटलगायत बस्तुको आयात अत्यधिक हुने गरेको छ । तर निर्यात भने न्यून मात्रामा हुने गरेको चौधरीले बताउनुभयो ।
स्थानीयवासीले सत्तीमा क्वारेन्टाइन कार्यालय स्थापनाको माग गर्दैआएका छन् । सत्ती भन्सारमा रहेको क्वारेन्टाइन कार्यालय सशस्त्र द्वन्द्वका बेला विस्थापित भएको थियो । “विस्थापित भएका धेरै कार्यालय खुले । तर क्वारेन्टाइन पुनःस्थापना हुन सकेन”, स्थानीय सङ्गम चौधरी भन्नुहुन्छ, “क्वारेन्टाइन नभएका कारण पनि भन्सारले गति लिन सकेन, यहाँका व्यापारीलाई समेत दुःख भएको छ ।”