काठमाडौं : गैर आवासीय नेपाली संघ अमेरिका (एनआरएनए) को आगामी निर्वाचनमा युवा एनआरएनए अभियन्ता तेज पौडेल (विनोद)ले पनि आफ्नो उम्मेद्वारी दिएका छन् । उनले युवाको सहभागिता प्रभावकारी ढंगले हुनुपर्ने भन्दै एनआरएनए अमेरिकाको आगामी कार्यकाल (२०२३-२५) का युवा संयोजकमा उम्मेद्वारी दिएका हुन् । नेपालको स्याङ्जा आरूचौरमा जन्मिएका पौडेल लामो समय देखि अमेरिकालाई कर्म थलो बनाउँदै आएका छन् ।
पेसाले कम्प्युटर सफ्टवेयर इन्जिनियरिङमा करिब एक दशक बिताएका विनोद हाल इन्फरमेसन सेक्युरिटी मेनेजरको रूपमा कार्यरत छन् । पौडेलले आफ्नो पेसासँगै सफ्ट अप (softup.io) नामको सफ्टवेयर कम्पनी(स्टार्टअप) स्थापना गरेर नयाँ नयाँ सफ्टवेयर पनि बनाउँदै आएका छन् । उनको कम्पनीमा नेपालमा करिब २ दर्जन नेपाली युवाहरू आबद्ध छन् । सानैदेखि सामाजिक काममा रुची भएका विनोद अमेरिकामा रहँदै गर्दा पनि मातृभूमि नेपाल र नेपालीका लागि काम गर्ने विभिन्न संस्थामा आवद्ध भइ सहयोग गर्दै आइरहेका छन् ।
पौडेलसँग एनआरएनए अमेरिकाको यूथ टाक्स फोर्सको(२०१९-२१) को सदस्य सचिव भई समेत काम गरेको अनुभव छ l उनले जनसम्पर्क समिति नदर्न क्यालिफोर्निया च्याप्टर (१०१५) सहसचिव, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, क्यालिफोर्निया(२०२१) सचिव, यूथ कङ्ग्रेस अमेरिका(२०२१) सचिव तथा नेजा (२०२०) सदस्य समेत भएर आफ्नो भूमिका सफलतापूर्वक निभाएका छन् । उनी भन्छन् “अरूले गरेनन् भन्दै दोष दिनु भन्दा आफैँ लागिपर्ने निर्णय गरियो” । दोष दिएर होइन, जस लिएर अगाडी बढ्ने संकल्प लिएका उनले सामाजिक सञ्जाल मार्फत अमेरिकामा गैर आवासीय नेपाली संघमा आबद्ध नेपालीहरूमा विशेष अपिल समेत गरेका छन् । पौडेललाई एनआरएनको अहिलेको गतिविधि मन पर्दैन । उनी भन्छन्, “एनआरएनसँग २ वटा विकल्प छन्, कि नेपालीको पक्षमा काम गरेर सुध्रिने, होइन भने नाम मात्रैको एनआरएन बनाएर दूषित राजनीति गर्नुभन्दा अभियानबाटै बाहिरिने ।”
अहिलेको एनआरएनको मुख्य एजेन्डा चुनाव मात्रै भएको गुनासो गर्ने पौडेल, युवा संयोजकको रूपमा कार्यसमितिमा गए एनआरएनएको सिस्टम परिवर्तन गर्न पहल गर्दै साँच्चै नेपालीको एनआरएन बनाउन लागि पर्ने बताउँछन् । उनलाई निर्वाचनमा युवा संयोजकमा उम्मेदवार दिने घोषणा गरेका अर्का विजय ज्ञवालीले युवाहरू एक आपसमा भिड्न नहुने बन्दै आफ्नो उम्मेदवारी फिर्ता लिँदै सहयोग समेत गरेका छन् l
पौडेलका एजेण्डाहरू
-एनआरएनएको खुला सदस्यता, बाह्रै महिना (Year Around) वितरण,
-चुनावबाट चुनावसम्म मात्र भएको एनआरएनलाई जनताको एनआरएन बनाउन पहल
-एनआरएनएका सदस्यलाई स्वास्थ्य बिमा, गाडी बिमा, जीवन बिमा लगायतका बिमामा छुटको सुविधा र सहजिकरण
-एनआरएनएमा विद्यार्थी र युवाहरूलाई सहभागिता
-नेपाली राष्ट्रिय खेलकुद समूहहरूसँग सहयोग गर्दै पारस्परिक रूपमा लाभदायक सम्बन्ध स्थापना
-करियर मार्गदर्शन कार्यशालाहरू आयोजना
-नेतृत्व विकास कार्यक्रमहरू सञ्चालन
-अमेरिकामा नयाँ आगन्तुक युवाहरूलाई सहयोग प्रदान
-Tax Treaty लागु गरेर दोहोरो कर प्रणालीको अन्य गर्नु दुवै देशसँग पहल
-एनआरएनएमा आज सम्म भएका आर्थिक क्रियाकलापको अडिट
-नेपाल सरकार र नेपाल दूतावाससँग सहयोग गर्दै विभिन्न क्रियाकलापहरूमा युवा सहभागिता
-विश्वविद्यालयहरू, व्यापार तथा समाजमा अत्यन्त प्रभावशाली मानिसहरूसँग युवाको पहुँच
-व्यापार व्यवसायको टास्कफोर्स बनाएर व्यापार गर्न इच्छुक नेपालीलाई आर्थीक र मानसिक रुपमा सहयोग l