झापा, (बसन्तराज सुब्बा) : केर्खा कमल गाउँपालिकाको संयोजनमा इनरुवा इन्टरनेशनल पोलिटेक्निकल इन्स्टिच्युट प्रा.लि बाट सञ्चालित तीन हप्ते नारी सौन्दर्य सम्बन्धि कार्यक्रमको समापन भव्यताका साथ सम्पन्न भएको छ।
भुमि ब्यबस्थापन सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रदेश स्तरीय विनियोजित रकमबाट संचालित तालिमको संयोजक पूर्णिमा देवान फागोको सभा अध्यक्षतामा कमल गाउँ पालिका वडा न.३ स्थित केर्खा बजारमा गत जेठ २८ गते ब्युटिसियन तालीमको औपचारिक उद्घाटन गरिएको थियो। उक्त कार्यक्रमलाई सोही स्थान र ब्यक्तिकै सभा अध्यक्षतामा यहि असार १९ गते विधिवत रुपमा भव्य तरिकाले समापन गरिएको छ। उक्त तालिममा २२ जना प्रशिक्षार्थीहरुको सहभागी रहेको थियो भने प्रमुख अतिथि कमल गाउँपालिका उप प्रमुख प्रमिला न्यौपाने तिवारी,बिशिष्ट अथितिहरुको हातबाट प्रमाणपत्र, सामाजिक ब्यक्तित्व एवम मिडिया कर्मी विरेन्द्र कु.याक्थुम्वा र वसन्तराज सुब्बालाई प्रशंसा-पत्र र तालिमकी प्रशिक्षिका पार्लर केर्खाकी सञ्चालिका रिता लिम्बुलाई सम्मान-पत्र प्रदान गरिएको थियो l कार्यक्रमका बिशेष अथिती कमल वडा नं ३ का अध्यक्ष अग्नी कोइरालाले आफ्नो भनाई राख्दै ब्युटिशियन तालीम सीप एवं त्यसमा प्रयोग गरिने सामग्रीहरुको महत्व र आवश्यकता उल्लेख गर्दै यो तालिम र ब्यबसाय सकारात्मक रहेको बताएका थिए। त्यस्तै आवासीय नीजि विद्यालय संगठन झापा जिल्ला प्याब्सनका अध्यक्ष गौरिमान फागोले मुजा परेको अनुहारलाई समेत मेकअपले सुन्दर बनाउने भएकोले मेकपिङ शीप कला आजको आवश्यकता रहेको बताउदै आयोजित कार्यक्रमका आयोजक प्रायोजकहरू लाई धन्यवाद दिएका थिए । आदिवासी जनजाती महासंघ कमल गाउँपालिका अध्यक्ष बद्री साम्पाङ राई र उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता दाहालले पनि ३ हप्ते महिला जन्य तालिमको महत्व र विशेषता केन्द्रीत आ-आफ्ना भनाई राखेका थिए। दमकमा १५ बर्ष ब्युटी पार्लर गरि अहिले केर्खामा पार्लर सञ्चालन गर्दै आएकी रिता लिम्बूले प्रशिक्षकको रुपमा रहि तीन हप्ते ब्युटिसियन तालिम २२ जना प्रशिक्षार्थीहरू लाई सिकाउन पाउँदा खुशी लागेको व्यक्त गर्दै यो कोर्ष पूरा नभएपनि आधारभुत रुपमा सबैले जानेको र अनुशासित भएर सिकेको कुरा ब्यक्त गर्दै बाकी कोर्ष अवसर आए पुन: सिकाउने प्रतिबद्धता जनाईन।
त्यस्तै तीन हप्ते ब्युटिसियन तालिम लिएका प्रशिक्षार्थीले तालिममा प्रशिक्षक लिम्बुले उत्कृष्ट रुपमा सिकाएको भन्दै गुनगान गाउन समेत भ्याए भने फेरि बाकी थप क्लासहरु स्थानीय बजेटबाट प्रदान गर्न आग्रह गर्दै आयोजकहरु लाई धन्यवाद दिएका थिए। त्यस्तै अथितिहरुमा क्रमश: कमल गाउँपालिका सदस्य चन्द्रकला आङदेम्बेले,केर्खा प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक रामकाजी,प्रहरी हवल्दार, उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता दहाल उप्रेती,अग्रज महिला समाजसेवी शान्ता मुखिया, कमल योग अभियान जागरणकी अध्यक्ष तथा तमु गुरुङ समाज झापाकी सदस्य ममता गुरुङ, पत्रकार बसन्त राज सुब्बा, उमा नाथ भण्डारी, मुना लिम्बू समाम्फे उपस्थिती रहेका थिए।
करिब १६० घण्टे ब्युटिसियन तालिम कार्यक्रममा प्रमुख अतिथी प्रमिला तिवारीले प्रदेश स्तरीय सिपमुलक तालिम कार्यक्रम कमल गाउँपालिका ब्युटिसियन तालिम धेरैले चाहेर पनि सहभागी हुन नपाएको बताउदै तालिम प्राप्त दिदीबहिनीहरुलाई सर्टिफिकेट सिरानीमा राखेर नबस्न अनुरोध गरेकी थिइन। विशेषगरि महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागी यो पनि एउटा महत्वपूर्ण सीप भएको अवगत गराएकी थिइन् ।कार्यक्रमको अन्त्यमा: अथितिहरुलाई आयोजकको तर्फबाट मायाको चिनो अतिथिहरूलाई सभा अध्यक्ष पुर्णिमा देवान फागोले प्रदान गरेकी थिइन भने यो तीन हप्ते तालिममा सहभागी भैई स्वस्फुर्त रुपमा तालिम ग्रहण गर्नुहुने २२ जना सहभागीहरुलाई सिकेको सीपलाई ब्यवसायिक तथा ब्यवहारिक रुपमा प्रयोग गर्न आग्रह गर्दै आगामी दिनको उज्ज्वल भविष्यको शुभकामना ब्यक्त गरेकी थिइन।उनले कार्यक्रमलाई सफल बनाउन साथ सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद ब्यक्त गर्दै औपचारिक कार्यक्रमको समापन गरेकी थिइन। गौरा चापागाईं द्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा स्वागत मन्तव्य विरेन्द्र कुमार याक्थुम्वा(सुवास)ले राखेका थिए।