घोराही दाङ, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले आफ्नो पाँचौं वार्षिकोत्सव घोराही स्थित होटेल माछापुच्छ्रेको सभाहलमा एक कार्यक्रमको आयोजना गरि भव्यताका साथ मनाएको छ।
समाजका केन्द्रिय अध्यक्ष डिलाराम ओलीको सभा अध्यक्षतामा शुरु भएको कार्यक्रममा प्रमुख अतिथी पुर्व सभामुख कृष्ण बहादुर महरा, बिशेष अतिथी घोराही उपमहानगर पालिका नगर उप प्रमुख हुमाकुमारी डिसी,विभिन्न राजनीति दलका प्रतिनिधिहरु,जिल्ला प्रहरी कार्यलय दाङ प्रमुख एस.पी बीर बहादुर वली, जिल्ला ट्राफिक प्रहरी प्रमुख किशोर मल्ल, सञ्चारकर्मी,पत्रकार,सेवा समाज केन्द्रका केन्द्रीय पदाधिकारी,सदस्य,सल्लाहकार,सेवा समाज केन्द्रका जिल्ला पदाधिकारी,केन्द्रिय सदस्यहरु, सलाह कारहरु,नेपाल मगर संघ दाङ एवम् विभिन्न रोल्पाली समाजका पदाधिकारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
वाषिर्कोत्सवको औपचारिक कार्यक्रम पूर्वसभामुख कृष्णबहादुर महरा हस्त बाहुलीबाट दीप प्रज्वलन गरि उद्घाटन गरिएको थियो। समाजका प्रेस सल्लाहकार डिबी बुढाथोकी द्वारा सहजीकरण गरिएको कार्यक्रममा समाजका प्रवक्ता वकिल बहादुर पुनले स्वागत मन्तव्य द्वारा उपस्थित सम्पुर्णलाई स्वागत गरेका थिए।समाजको पाँचौ वार्षिकोत्सव अलि पृथक र फरक परिदृश्यमा भएको थियो।रोल्पाली मौलिक बाजागाजा,दमहा मादल झाँकीको प्रस्तुति संगै नगर परिक्रमा गर्दा त्यहाँको माहोलमा छुट्टै रौनकका थपिएको थियो।मानवसेवा भन्दा ठूलो कुनै सेवा नभएको महशुस गर्ने समाजले मौलिक संस्कार संस्कृती,धर संस्कार संस्कृति र परम्परालाई समेत संरक्षण सम्बर्द्धन गर्न उत्तिकै लालयित भएको महसुस गर्न सकिन्थ्यो।कार्यक्रममा बिभिन्न किसिमका सांस्कृतिक प्रस्तुतिले थप रमाईलो भएको थियो।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरु समाजसेवी पदम केसी, रेउघाली समाज समिति दाङका अध्यक्ष श्याम सुन्दर घर्ती मगर, संस्थापक अध्यक्ष सन्दीप थापा, समाजका महासचिव चेतबहादुर डाँगी, बागेश्वरी ट्रष्टका अध्यक्ष चतुरमान डाँगी, नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाका सभापति तिलक राउत लगायतले आफ्नो मन्तब्य राख्दै समाजले गरेका उत्कृष्ट कार्यहरूका चर्चा परिचर्चा गर्दै कार्यक्रम पुर्ण सफलताको शुभकामना ब्यक्त गरेका थिए।त्यसैक्रममा बिशेष अतिथी तथा घोराही उमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले समाजले गरेका हरेक सामाजिक गतिविधिप्रति प्रशंसा गर्दै समाजले पीडितहरुको घाउमा मल्हम लगाउन गरिएको सराहनीय काम प्रति उच्च सम्मान व्यक्त गर्दै संस्थालाई आवस्यक परे जुनसुकै सहयोग गर्न कदापी पछाडि नहट्ने प्रतिबद्धता समेत जनाएकी थिइन।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीरबहादुर ओलीले पछिल्लो समय सामाजिक संजाल प्रयोगकर्ताहरूले गलत रुपमा प्रयोग गर्दा समाजमा ठूलो समस्या उत्पन्न भएको जनाउदै यस्ता क्रियाकलापले जतिबेला पनि ठूलो समस्या निम्त्याउनेमा प्रष्ट पारेका थिए।मानिसहरु भाइरल हुनकै लागि अनेक गतिविधि गर्ने हुँदा यसले मान्छेलाई जेलको छिडी सम्म पुर्याउन सक्ने अवगत गराउदै साइबर सुरक्षामा ध्यान दिन सुझाव दिएका थिए।उनले अनुमतिबिना कसैको तस्विर नलिन अनुरोध गर्दै सबैजना सचेत रहन समेत जानकारी गराएका थिए।
वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि तथा पुर्व सभामुख कृष्ण बहादुर महराले कार्यक्रमलाई सम्बोधन गर्दै निस्वार्थ रुपमा समाजमा गरिने गतिविधिले सामाजिक प्रति सकारात्मक सोच तथा परिवर्तनमा ठूलो भुमिका निर्बाह हुने बताए।पछिल्लो समयमा नेपाली समाजमा राजनीति प्रति वितृष्णा बढ्दै गएको जनाउदै सामाजिक सेवा र सहयोग प्रति आकर्षण बढ्दै गएको जनाएका थिए।समाजले विश्वभरी रहेका रोल्पालीहरुलाई गोलबन्द गराउदै मानविय सेवामा थुप्रै उल्लेखनीय कार्य गर्दै आएकोमा मुक्तकण्ठले प्रशंसा गर्दै निरन्तरताको शुभकामना ब्यक्त गरेका थिए।
नेता महराले आफ्नो पनि समाजसेवा गर्ने भित्री चाहना भएकोले समाजलाई आवस्यक पर्दा जुनसुकै सहयोग पनि तयार रहेको प्रतिबद्धता जनाएका थिए। कार्यक्रमको अन्त्यमा समाजका केन्द्रीय अध्यक्ष तथा सभा अध्यक्ष डिलाराम वलीले पाँच वर्षको अवधिमा समाजले गरेका गतिविधिहरूका बारेमा स्पष्ट पारेका थिए।अध्यक्ष ओलीले समस्यामा परेका समाजका सदस्य तथा अन्य ब्यक्तिलाई दुई करोड ५० लाख भन्दा बढी आर्थिक सहयोग प्रदान गरिएको समेत जानकारी गराउदै हालसम्म विश्वका १५ देशमा शाखा बिस्तार भैसकेको र शाखा बिस्तार क्रम निरन्तर रहेको बताउदै विश्वभरिका रोल्पालीहरु समाज संग आबद्ध हुँदै सामाजिक भावनामा एकता हुन आग्रह गरेका थिए।
उनले पाँचौं वार्षिकोत्सव सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग पुर्याउनुहुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।