साउदी, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको ५ औँ बर्षगाठको अवसरमा प्रवास शाखा साउदीले भाग्यशाली उपहार तथा सांस्कृतिक कार्यक्रम सहित भब्य रुपमा मनाएको छ।
“मातृभूमिका लागि विश्वभरका रोल्पालीहरु गोलबन्द होऔ ” भन्ने मुल नाराका साथ स्थापना भएको समाजको साउदी शाखाका अध्यक्ष महेन्द्र घर्तीको सभा अध्यक्षता तथा नेपाली राजदूतावासका पुर्बी क्षेत्रका स्थानीय प्रतिनिधि नारायण पासवानको प्रमुख आतिथ्य, साउदी अरबमा सक्रिय संघ संगठनका अध्यक्ष तथा प्रतिनिधित्वहरु तथा सामाजिक ब्यक्तित्व हरुको आतिथ्यमा नेपाली श्रमिकहरुको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
मानवीय तथा सामाजिक सहयोगमा अग्रसर रहदै आएको समाजले आयोजना गरेको कार्यक्रममा सामाजिक अभियन्ता बिपिन झाँक्री , नेपाली दिदीबहिनी समुह साउदीका अध्यक्ष तुलसी माया गुरुङलाई दोसल्ला ओढाएर र गैर आवासीय नेपाली संघ ,मध्यपुर्ब संयोजक राजेन्द्र अर्याललाई बिशिष्ट सम्मान प्रदान गरेका थिए। समाजले संस्थाका पदाधिकारी र अन्य सामाजिक संघ संगठन तथा व्यक्तित्वलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।
इद बिदाको अबसर आयोजित उक्त कार्यक्रममा स्थानीय कलाकारद्वारा बिबिध सांस्कृतिक प्रस्तुति समेत दिएका थिए। म्हेन्दोमाया गायक रोम लामा ,फणिन्द्र कार्की ,प्रज्वल मगर , गौरव तामाङ ,तेम्बा लामा ,दिब्या थापा ,दीक्षा थापा ,राम कुमार जिमी लगायतका कलाकारले उत्कृष्ट प्रस्तुति दिएका थिए।
कार्यक्रममा प्रमुख अतिथी पासवानले साउदी कानुनले वर्जित गरेको कुनै काम नगर्न नेपाली समुदायलाई आग्रह गरेका छन् । कतिपय कार्य नेपालमा समान्य रहेपनि यहाँ गैरकानुनी हुने हुदा त्यस्ता कार्य नगर्न अपिल गरेका छन्। त्यसैगरी समाजका अध्यक्ष घर्तीले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार ब्यक्त गर्दै कुनै कमि कमजोरी भएमा माफी मागेका छन् ।
समाजको सामाजिक अभियानमा सहयोग पुर्याउने उद्देश्यले आयोजित भाग्यशाली बम्पर उपहार योजना( लक्की ड्र)को नतिजा सार्वजनिक गरिएको छ। उक्त उपहार कार्यक्रमको प्रथम पुरस्कार सुनको सिक्री राजु कुमाल ,द्वितीय पुरस्कार मोबाइल फोन मुकेश ,तृतीय पुरस्कार स्मार्ट टिभी राजकुमार राई ,चौथो पुरस्कार स्मार्ट वाच दिल थापा र सान्त्वना पुरस्कार आइरन नन्द राम र अजयले जित्न सफल भएका छन्।
हरी खत्रीद्वारा सहजीकरण गरिएको कार्यक्रममा स्वागत मन्तव्य उमान सिंह घर्तीले दिएका थिए।कार्यक्रम सभ्य तथा भब्य रुपमा सफल भएको शाखाका सचिव जीवन घर्ती मगरले मुग्लानी खबरलाई जानकरी गराएका छन।