काठमाडौं,गोकर्णेश्वर नगरपालिकामा भएको 'प्रथम उप मेयर कप' सेभेन ए साइड फुटबल प्रतियोगितामा प्रथम उपाधी क्रिजल फुटबल क्लब मण्डिखाटारले चुम्न सफल भएको छ।
गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिद्वारा आयोजित कुल १२ वटा टिमको सहभागितामा भएको प्रतियोगिता नेपालय इंगलिस पब्लिक स्कुलको खेल मैदानमा गत असार १४ गते सम्पन्न भएको छ । बिहिबार भएको फाइनल खेलमा क्रिजल फुटबल क्लब मण्डिखाटारले जुनियर फुटबल क्लब बालुवाटारलाइ १-० गोल अन्तरले पराजित गर्दै उपाधी हासिल गरेको हो ।कडा प्रतिस्पर्धामा भएको खेलमा फाइनल खेलको अन्तिम शून्य समयमा क्रिजल फुटबल क्लब मण्डिखाटारका खेलाडीले हानेको गोल नै निर्णायक गोल बन्न पुगेको थियो । जित संगै क्रिजल फुटबल क्लब मण्डिखाटारले पुरस्कार स्वरूप नगद रु १ लाख ३६ हजार ( कर सहित), ट्रफी, मेडल,प्रमाणपत्र प्राप्त गरेको छ भने उप बिजेता जुनियर फुटबल क्लब बालुवाटारले नगद रू ६८ हजार ( कर सहित) ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्न सफल भएका हुन।
उक्त प्रतियोगितामा सर्वाधिक गोल कर्ताको उपाधी जुनियर फुटबल क्लबकि सुजिता घलान, उत्कृष्ट गोल रक्षक उषा थापा,उत्कृष्ट खेलाडी क्रिजल फुटबल क्लब मण्डिखाटारकी सम्झना तामाङ घोषित भएका थिए भने उत्कृष्ट खेलाडीहरुलाई जनही नगद रु. ५ हजार र ट्रफी प्रदान गरिएको थियो।
गोकर्णेश्वर युवा तथा खेलकुद संयोजक संजय लामाको सभा अध्यक्षतामा शुरु भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल, बिशेष अतिथि गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामा, नगरपालिका खेलकुद विकास समितिका संयोजक वडा अध्यक्ष द्वय नन्दलाल श्रेष्ठ, जयराम महत, नेपाली काग्रेस नगर कमिटिका सभापती कुमार लामा,विभिन्न राजनितिक दलका प्रतिनिधिहरु,समाजसेवी बुद्धिजिबि खेलकुद प्रेमी लगायतको उपस्थिती रहेको थियो।
कार्यक्रममा बिजेता, उप बिजेता र उत्कृष्ट खेलाडीहरुलाई चेक,ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।त्यसै क्रममा गोकर्णेश्वरबाट फुटबल खेलमा उल्लेखनीय योगदान पुर्याउने पुर्व राष्ट्रिय खेलाडी, रेफ्री प्रशिक्षक, स्वयंसेवक लगायत खेल आयोजनाको शुरूवात देखि अन्त्यसम्म अनवरत साथ सहयोग पुर्याउनु ब्यक्तिहरुलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो भने औपचारिक कार्यक्रमको सहजीकरण रामनारायण शाहले गरेका थिए।