काठमाण्डौ, गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटी चोकमा ज्ञानका भण्डार मञ्जुश्रीको पुर्ण कदको प्रतिमा अनावरण गरिनुका साथै प्राण प्रतिष्ठा तथा समुद्घाटन एक भब्य कार्यक्रमका बिच तेस्रो औतारी गुरु लोप्साङ नाम्गेल रिम्पोर्छेको हस्तबाहुलीबाट सम्पन्न भएको छ।
लोक विश्वास अनुसार मञ्जुश्रीलाई नेपालका सृष्टिकर्ता भनी मानिएको छ ।प्राचीनकालमा काठमाडौं उपत्यकामा पानीको ठूलो दह थियो । जहाँ नागहरू बस्दथे । बन्धुमती नगरबाट एक दिन विपश्वी बुद्ध यहाँ आए र दहमा चैत्र पूर्णिमाको दिन कमलको वीज छरेपछि त्यसबाट कमलको फूल फुलेर आश्विन शुक्ल पूर्णिमाको दिन नाग दहमा श्रीस्वयम्भू ज्योतिरुप उत्पन्न भयो । त्यही ज्योतिरुपबाट निःसृत पञ्चरंगी किरणहरूमा पञ्च बुद्ध प्रकट भए । यसपछि सो ज्योतिको दर्शन गर्न विश्वभर बुद्ध आएका थिए।
स्वयम्भू ज्योतिको दर्शन गर्नुभई नागदहको जल बाहिर निस्कने बाटो स्थानीयहरुलाई बताएर चाँडै यहाँ मानव सभ्यता र संस्कृतिको विकास हुने घोषणा गरेर हिडेका थिए । यसैगरी महाचीनबाट आफ्ना शिष्यहरू सहित महा मञ्जुश्री काठमाडौंको नाग दहमा उत्पन्न भएको ज्योतिको दर्शन गर्न आएको कुरा उल्लेख गरिएको छ। उनले आफ्ना शिष्य र स्थानीयहरुको सहयोगमा नागदहको पानी चौबार, पशुपति र गोकर्णमा काटेर बाहिर पठाए। अनि कात्तिक शुल्क पूर्णिमाको दिन स्वयम्भू ज्योतिको दर्शन नजिकै गएर गरे । तलाउका नागहरू पनि बसून् भनी टौदह, धनदह र द्वारा तीर्थ सिर्जना गरे । अनि उहाँले उपत्यकामा मञ्जु पतन नामक सहर बसाइ धर्माकारलाई राजा बनाई नेपाल खाल्डो अर्थात् उपत्यकामा मानव सभ्यता र बौद्ध संस्कृतिको स्थापना गर्नुभई चीन फर्किए भन्ने कुरा बौद्ध वाङमयको स्वयम्भू पुराण पुस्तकमा उल्लेख गरिएको पाईएको छ।
चीनको पञ्चश्री पर्वतबाट आउनुभएको बोधिसत्त्व महामुनी मञ्जुश्रीले नेपाल उपत्यकाको नाग दहमा स्वः उत्पन्न भएको ज्योतिको दर्शन गरेर मानव सभ्यता, धर्म र संस्कृतिको सुरुआत गरेको स्मरणमा उहाँकै साथमा आएर चीन नफर्की काठमाडौं उपत्यका र यसका पहाडी भूभागमा आवाद रहेका तामाङहरूले उनैद्वारा प्रतिपादित पात्रोको आधारमा हरेक वर्षको माघ शुल्क प्रतिपदाको दिन संवत् फेरिएको उपलक्ष्यमा मञ्जुश्री संवत् मनाउने गर्दछन् ।
काठमाण्डौ पुर्बी भेगको सबै भन्दा पुरानो क्लब जोरपाटी युवा क्लबको आयोजनमा भएको कार्यक्रममा जोरपाटी युवा क्लबका अध्यक्ष साम्देन लामाको सभा अध्यक्षता तथा तेस्रो औतारी गुरु लोप्साङ नाम्गेल रिम्पोर्छेको प्रमुख आतिथ्यता रहेको थियो।त्यसैगरी बिशेष अतिथिहरूमा संघीय सांसद सन्तोष चालिसे,गोकर्णेश्वर नगर प्रमुख दिपक कुमार रिसाल,उप प्रमुख सान्नानी लामा लगायत रहेका थिए भने अतिथिहरूमा वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी,वडा नं ६ का वडा अध्यक्ष नवराज लामा,विभिन्न वडाका वडा अध्यक्षहरु,वडा सदस्यहरु,विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु,समाजसेवी ,कर्मचारी, धार्मिक अभियन्ता बुद्धधर्मालम्बीहरु,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा मन्तब्य राख्नेहरूमा वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ६ का वडा अध्यक्ष नवराज लामा लगायतले आफ्नो मन्तब्य राख्दै मञ्जुश्रीको प्राण प्रतिष्ठा तथा प्रतिमा स्थापना गर्नु ऐतिहासिक र गर्व लाग्दो काम भएको बताएका थिए।खोल्ने निश्चित समय बनाई दर्शन गर्नको लागि सेक्युरिटीको समेत ब्यबस्थापन गरि अगाडि बढ्नुपर्नेमा जिड दिएका थिए। नगर उप प्रमुुख सान्नानी लामाले आफ्ना भनाई राख्दै गोकर्णेश्वर नगरपालिका हिन्दु बौद्ध लगायत विविध धर्मावलम्बीहरुको आस्थाको केन्द्र भएकोले यस मञ्जुश्रीको प्रतिमा स्थापनाले झन ठूलो महत्व बढ्दै गएको र हामी गोकर्णेश्वर नगरबासी साच्चिकै भाग्यमानी समेत रहेको बताइन। मन्तब्य राख्ने क्रममा नगर प्रमुख दिपक कुमार रिसालले नगरपालिकाको मुटु मानिने जोरपाटी चोकमा ज्ञानका भन्डार मञ्जुश्रीको प्रतिमा स्थापना गर्नाले नगरपालिकाको सौन्दर्यता धार्मिक आस्था र बलियो पहिचानको रुपमा खडा भएको बताए।
जतासुकै बाट आउतजाउत गर्दा पनि मञ्जुश्रीको प्रतिमाको दर्शन हुने बताउदै अझै यसलाई ब्यबस्थित गर्न पेटी लगाई ठेलागाडाको ब्यबस्थापन गरि भिडभाड निर्मुल गरिएको बताउदै नगरपालिकालाई सुन्दर बनाउन थुप्रै कार्यहरु अगाडि बढाउदै गएको जानकारी गराएका थिए। त्यसैगरी प्रतिनिधि सभा सांसद तथा कार्यक्रमका विशेष अतिथी सन्तोष चालिसेले आफ्नो मन्तब्य राख्दै नेपालको विभिन्न जातिका धर्म, संस्कार, संस्कृती र परम्पराको असाध्यै महत्व राख्ने ज्ञानका भन्डार मञ्जुश्रीको यस क्षेत्रमा पहिलो चोटि पुर्ण कदको प्रतिमा प्राण प्रतिष्ठा राख्न सफल हुनुले गर्व महशुस भएको बताए।
भगवान मञ्जुश्रीको प्रतिमा स्थापनाले नगरपालिकाको सौन्दर्यतामा थप उचाई बढेको बताउदै सबै जातजाति धर्म संस्कार संस्कृतिको संरक्षण सम्बर्द्धन र प्रबर्द्धन गर्नु सबैको कर्तब्य रहेको जनाए।उनले सबै भन्दा महत्वपूर्ण कुरा शुरुवात पछि अन्त्य हुनु जरुरी रहेको बताएका थिए।जोरपाटी युवा क्लबको आयोजना तथा नगरपालिकाको सहयोगमा स्थापना भएको यो मुर्ति निर्माण प्रतिस्थापन गर्न सहयोगी भुमिका निर्वाह गर्नुहुने सम्पुर्णमा धन्यबाद ब्यक्त गरेका थिए।
अन्त्यमा कार्यक्रमका सभाअध्यक्ष तथा क्लबका अध्यक्ष साम्देन लामाले करिब २५ वर्ष अगाडि महा मञ्जुश्रीको प्रतिमा स्थापना गर्ने कल्पना गरिएको थियो जसलाई आज बिपनामा साकार पार्न सकिएको बताए।विश्व सम्पदाको सुचीमा रहेका भगवान पशुपतिनाथ,बौद्ध स्तुपा लगायत विभिन्न धार्मिक आस्थाको केन्द्रमा रहेको जोरपाटी चोकमा यो मुर्ति स्थापना तथा उद्घाटन तेस्रो औतारी गुरु लोप्साङ नाम्गेल रिम्पोर्छेको हस्तबाहुलीबाट सम्पन्न हुनु नै गर्वको बिषय भएकोले यश महान कार्यमा साथ सहयोग गर्नुहुने,ब्यस्त समयका बाबजुद पनि उपस्थित भएर साथ सहयोग गर्नुहुने सम्पुर्णमा धन्यबाद ब्यक्तगर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।