खेमराज सुवेदी: नमस्कार सर, मेरो पासपोर्ट रिन्यु गर्नु पर्ने थियो, कहाँ, के र कसरी सम्पर्क गर्नु पर्ने हो? मलाइ केही थाहा छैन। मेरो नागरिकतामा अलिकति समस्या भएको छ, प्लास्टिकको कभर टाँसीएर, यहाँ रिन्यु नहुने हो कि भन्ने डर लागेको छ। पासपोर्ट रिन्यु भएन भने त मैले घर फर्किनु पर्ने हुन्छ, घरमा अझै धेरै रिण छ, के गर्ने होला लौन हेल्प गर्नु होस् , भनेर एउटा म्यासेज मेरो इन्बक्समा आयो। आएको म्यासेज यति कारुणिक थियो कि मेरो हृदयलाई छेडेर गयो। म्यासेज ले धेरै बेर सोच्न वाध्य बनायो।
एक छिन पछि उक्त म्यासेज फेरी खोलेर हेरे, अनि प्रतिउत्तर फर्काएर वहाँको सम्पर्क नम्बर सबै भन्दा पहिले मागे। सम्पर्क नम्बर प्राप्त गरे पश्चात फोन गरेँ। निश्चिन्त हुन अनुरोध गरेँ वहाँलाई। मैले वाहाँलाई तुरुन्तै मद्दत गर्ने वचन दिए पश्चात वहाँ ढुक्क हुनु भयो जसको आभास मैले वहाँको वाणी मार्फत प्राप्त गरेँ। केही समयको भलाकुसारी पश्चात चाहिने दस्तावेजका तस्वीरहरू मागेर चाहिने विवरणका साथमा राहदानी नवीकरण गर्ने अनलाइन फारम भरेर वहाँलाई इन्बक्स गरिदिएँ। दोस्रो दिन वहाँ कम्पनी बाट छुट्टी लिएर दूतावासमा गएर Live Enrollment मा सहभागी बनेर बाकी रहेका प्रक्रिया पुरा गरे भन्ने खबर आयो, अनि म पनि ढुक्क भएँ।
अचेल मेरा प्राय: दैनिकीहरू यसरी नै बित्ने गरेका छन्। कामको चापबाट अलिकति फुर्सद हुन साथ ल्यापटपको डेस्कटपमा पास्पोर्टको नामले बनाएको फ़ोल्डर खोलेर दूतावासको वेवसाइटमा गएर राहदानी नवीकरण गरिदिनको निमित्त अनलाइन फारम भर्न थाल्छु। कामको बीचमा पनि आएका अनुरोध अनि वहाँहरूका दस्तावेजहरू सुरक्षित गरेर राख्दछु फारम भरिदिनको निमित्त। फारम भरिसके पश्चात ती कागजात सबै रिसाइकल बिनमा लगाई दिन्छु।
विशेष गरी हामी जस्ता धेरै निला रङ्गले रङ्गीएका श्रमिकहरू जो कम प्रविधी मैत्री हुनुहुन्छ, वहाँहरू प्राय: यस्तै समस्यामा रुमल्लिने गर्नुहुन्छ। हेर्दा मसिना लाग्ने यस्ता समस्याले समाधान नहुन्जेल सबैको अमन चैन लुटिरहेको हुन्छ। के गर्ने होला? कसलाई सोध्ने होला ? कसले गरिदेला? यस्ता किसिमका प्रतिनिधि मूलक प्रश्नहरूले समस्या ग्रस्त बनाइ रहेको हुन्छ। यस्ता किसिमका मसिना समस्याहरूका समाधान गरिदिँदा समेत वहाँहरूबाट “अपार सन्तुष्टी मिल्ने धन्यवाद” पाइने रहेछ, जुन कुरा मैले म स्वयम् दूतावास नपुगुन्जेल थाहा पाउन सकिन।
मे महिनाको १७ तारिख म आफ्नो राहदानी नविकरण गर्न भनेर अनलाइन फारम भरेर तोकिएको समय ९ बजे भन्दा १ घण्टा अगावै कतारको दोहा स्थित नेपाली राजदूतावास पुगेँ। म पहिलो व्यक्ति हुन्छु होला आज दूतावास पुग्ने भन्दै सोचेर हिंडेको, त्यहाँ पुग्दा म भन्दा अगावै ३० / ३५ जना साथीहरूलाई लाइनमा देख्दा छक्क परें। दूतावासको ढोका ९ बजे मात्र खुल्ने सूचना प्राप्त गरे पश्चात लाइनमा उभिएका साथीहरूसँग उही लाइनमा उभिँदै गफिन थालेँ। लुकेर बसेका समस्याहरू विस्तारै मिहीन ढंगले पढ्न थालेँ उभिएका निला रंगका श्रमिकहरूका अनुहारमा ।
सोधीखोजी गर्ने क्रममा यो फारम कहाँ र कसरी भर्नु भयो भन्ने जिज्ञासा उत्पन्न भएको हुँदा त्यसैलाई शान्त पार्न तर्फ लागेँ। वहाँहरूको उत्तर सुनेर मा निशब्द बने। प्राय: साथीहरू टाइपिङ्ग सेन्टर जानु हुँदो रहेछ, त्यहाँ ५० देखि १०० रियल सम्म खर्चेर फारम भरेर प्रिन्ट गरि ल्याउनु हुँदो रहेछ। समग्रमा धेरैले एउटा फारम भर्दा ५० रियल खर्च गरको पाएँ मैले त्याहाँ १ घण्टा उभिँदा खेरी। लाइनमा उभिने क्रममै केही साथी हरू फारम बिना नै त्यहाँ आउनु भयो। सोधी खोजी गर्दा वहाँहरूले फारम भर्ने व्यक्ति नपाएको हुँदा फारम भर्न नसकेको जानकारी गराउनु भयो। फारम नभरेका साथीहरू लाइनमा उभिएको जानकारी त्यहाँका केही व्यक्तिलाई हुनासाथ दूतावासको पछाडी पट्टी रहेको पार्किङ्ग तर्फबाट केही व्यक्तिहरू आएर वहाँहरूलाई लिएर जानु भयो। पछि बुझ्दा वहाँहरूले पनि केही शुल्क लिएर फारम भरिदिने गर्नु हुँदोरहेछ, यदि कोही फारम नभरी आएको छ भने।
यी सबै दृश्यले मलाई घरी घरी घोची रहे। "हाम्रा यति धेरै नेपाली समुदायका संघ संस्थाहरू छन् यहाँ, र पनि किन यस्ता मसिना नेपाली श्रमिकका समस्याहरूमा ध्यान दिन सकी रहेका छैनन्, नेपाली श्रमिकका यस्ता मसिना समस्या किन समाधान गर्न पछि परिरहेका छन् हाम्रा सामुदायिक संघ संस्थाहरू" भन्ने सोचले दूतावासको ढोका नउघ्रिउञ्जेल सम्म मेरो मन मस्तिष्कको ढोका खोल्ने प्रयास गरि रह्यो। १७ मे को बिहानी, ९ बज्नु भन्दा अगाडिको गर्मीले दूतावासको गेट बाहिर लाइनमा उभिँदा खेरी लगभग धेरैलाई गलाई सकेको थियो। हातमा बोकेको फारम ले श्रमिक साथीहरू सूर्यको किरण छेक्ने असफल प्रयास गरिरहेका थिए। केही साथीहरू त्यही फारम लाई पंखाको प्रारूपमा आफ्ना अनुहार अगाडि हम्कीरहेका थिए। यसरी गर्मीमा बाहिर श्रमिकलाई उभ्याउनको साटो भित्र वातानुकूलित कोठामा बस्ने व्यवस्था गर्न पाए उत्तम हुन सक्थ्यो भन्ने सोचले मस्तिष्क हल्लाई रह्यो। अझ त्यसरी पर्खिने क्रममा अहिले दूतावास भित्र स्थापित लाइव्रेरीको पनि सदुपयोग हुन सक्थ्यो। जुन महिना देखि सेप्टेम्बर महिना सम्म गर्मी अत्याधिक बढ्ने हुनाले त्यहाँ उभिने क्रममा गर्मीको कारणले लु लागेर दुर्घटना हुन सक्ने सम्भावना पनि उतिकै रहेको आभास मेरो हृदयले दिइरह्यो।
तोकिएको समयमा नै दूतावासको अगाडिको ढोका खोलियो। हामी सबै भित्र गयौँ। भित्र प्रवेश गर्दा पालो कुर्नको निमित्त नम्बर प्रदान गरियो जसले सबैलाई थप सहजता प्राप्त गरायो। पालो आए पश्चात तोकिएको काउण्टरमा दस्तावेज रुजु गराएर, लाग्ने दस्तुर तिरे पश्चात ८ नम्ब कोठामा गएर Live Enrollment मा सहभागी बने पश्चात राहदानी नविकरण गर्ने प्रक्रिया पुरा गरियो उक्त दिन। यो भन्दा अघिल्लो पटक दश वर्ष अगाडिको राहदानी नविरण गर्दाको र अहिलेको अनुभूतिमा धेरै सकारात्मक भिन्नता पाइयो। यो सकारात्मक भिन्नताको निम्ति म मुक्त कण्ठले प्रशंसा गर्न चाहन्छु दूतावासको।
राहदानी नविकरण गर्ने फारम भरेर कसरी धेरै नेपाली श्रमिकलाई सहजता प्रदान गर्ने भन्ने सम्बन्धमा "अनलाइन भोलेन्टियर" फेसबुक पेजका स्वयम् सेवक साथीहरू तथा "श्रमिकको साथी" फेसबुक पेजका स्वयम् सेवक साथीहरू समक्ष छलफल गरियो। छलफलका क्रममा सामाजिक सेवाको विषय उठेको हुँदा यही फारम भर्ने विषयलाई नै सूचना बनाएर सम्पर्क नम्बरका साथ दुवै फेसबुक पेज बाट सूचना सम्प्रेषण गर्न थालियो। हामीले प्रेषित गरेको सूचनालाई QN Khabar तथा अन्य सामाजिक संजाल तथा फेसबुक पेजहरूले समेत सेयर गरेर सहयोग गरिदिनु भयो, वहाँ हरू प्रति हामी आभार प्रकट गर्दछौँ । तत्पश्चात म लगायत विश्वराज नेपाल, रमेश ढकाल, हंसराज ढकाल तथा अन्य साथीहरूलाई यस्तै समस्यामा परेका धेरै साथी हरूले विभिन्न माध्यम मार्फत सम्पर्क गर्न थाल्नु भयो।
अहिले विशेष गरिकन धेरै साथीहरूले राहदानी नविकरण गर्नको निमित्त, योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अनलाइन फारम भरेर उक्त कार्यक्रममा सहभागी हुनको निमित्त हामीलाई वहाँहरूको निशुल्क सेवा गर्ने अवसर प्रदान गरिरहनु भएको छ। यसका साथै श्रमिकका अन्य समसामयिक समस्याहरूका विषयमा सोधिएका प्रश्नहरूको समेत हामीले जानेका बुझेका सर सल्लाह प्रदान गर्दै नजानेका विषयमा विज्ञहरूको सल्लाह सुझाव लिएर सम्बन्धित ठाउँमा सम्पर्क गर्नु होस् भन्दै सल्लाह प्रदान गरे सहयोग गरिरहेका छौँ।
राहदानी नविकरण गर्ने अनलाइन फारम भर्नको निमित्त तथा योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अनलाइन फारम भर्नको निमित्त आवश्यक परेको खण्डमा ७०९१९२६६, ५०६४३३५७, ५५७८३६८५ , ७७२०९६८८ तथा ५५९८२१५५ मा सम्पर्क गरेर श्रमिक साथीहरूले निशुल्क रूपमा सेवा लिन सक्नु हुन्छ। आवश्यक परेको अवस्थामा यो सेवा गर्ने अवसरलाई हामी यहाँ रहुन्जेल निरन्तरता दिइरहने छौँ।