महोत्तरी, १७ जेठ l प्राचीन मिथिला क्षेत्रका मधेसका महोत्तरीसहितका जिल्लामा आज धार्मिक र औषधीय गुणयुक्त वनस्पति तुलसीको बीज छर्दै निर्जला एकादशी पर्व मनाइँदैछ । जेष्ठ शुक्ल एकादशीमा तुलसीको बीउ छरेर पानीसमेत नखाई व्रत गर्ने परम्पराअनुसार आज मैथिल (मिथिलाका बासिन्दा) यो पर्व मनाइरहेका छन् ।
पूर्वीय दर्शन परम्पराको मैथिल चलनमा जेष्ठ शुक्लपक्ष लाग्नासाथ दशहारास्नान मेला प्रारम्भ हुन्छ । जेष्ठ शुक्ल दशमीका दिनसम्म विभिन्न तीर्थस्थलमा स्नान गरी दशमीकै दिन वर्षभरिको पूजाअर्चना प्रयोजनको पूmलको दल राख्ने र भोलिपल्ट तुलसीको दल राख्दै निर्जला व्रत (अन्नजल नखाइ गरिने व्रत) बस्ने मैथिल चलन छ ।
मिथिलामा सामान्यतया सबै एकादशीलाई धार्मिक विश्वासमा खास दिन मानिने परम्परा भए पनि निर्जला, हरिशयनी र हरिवोधनीचाहिँ विशेष नै मानिन्छन् । हिन्दू मैथिल परम्परामा एकादशी र तुलसीबीच गहिरो सम्बन्ध रहेको मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का बासिन्दा पण्डित महेशकुमार झा बताउनुहुन्छ ।
“मैथिल परम्परामा वर्षभरिका सबै एकादशी र तुलसीको महत्व छ, यद्यपि निर्जला, हरिशयनी र हरिवोधनीचाहिँ विशेष मानिन्छन्”, झा भन्नुहुन्छ, “निर्जलामा तुलसी विजारोपण गर्ने, हरिशयनीमा बिरुवा मठमा रोप्ने र हरिवोधनीमा तुलसी विवाह गरिने चलन छ ।” हिन्दू मैथिल परम्परामा लक्ष्मीसहित भगवान् विष्णु समुद्रमा जानुहुने, हरिशयनीका दिन विष्णु शयन गर्ने र हरिवोधनीका दिन जागा हुने विश्वास गरिँदै आइएको झाको भनाइ छ ।
अघि सत्ययुगमा सति नारी वृन्दाका दुष्ट पतिको संहार गर्न विष्णुले छलेर उनको सतित्व डगाउँदा वृन्दाले भगवान् विष्णुलाई श्राप दिएकी वर्णन पाइन्छ । त्यसै श्रापअनुसार वनस्पतिरूपमा भगवान् विष्णु तुलसी हुँदा उहाँको पूजाआराधनासँग तुलसीको प्रचलन जोडिएको जनविश्वास छ ।
धार्मिक विश्वासमा पूजा गरिने तुलसी वातावरण र औषधीय गुणयुक्त वनस्पति रहेको त विज्ञानकै पछिल्ला अध्ययनले पुष्टि गरेको वातावरणविज्ञ सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिबास सामाजिक संस्थाका अध्यक्ष नागदेव यादव बताउनुहुन्छ । त्यसैले तुलसीको बीउ छर्ने, रोप्ने र संरक्षणका दायित्वसँग जोडिएका मैथिल परम्पराका चाडवाड परम्परामात्र नभई वैज्ञानिक पनि रहेका यादवको भनाइ छ ।