काठमाण्डौ, प्रतिनिधि सभाका सांसद दिपक गिरीले मुलुकको अर्थनीति र राजनीतिलाई समय सापेक्ष परिवर्तन र समृद्धि तिर लैजान परम्परागत ढंगबाट होईन नवीन शैली अपनाउनु पर्ने बताएका छन।
आज बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिदै सांसद गिरिले मुलुकको खस्किँदै गएको अर्थतन्त्रलाई पुन: पुरानै लयमा फर्काउन सकिने बताए। अनले अहिलेको आर्थिक संकट लाई सम्बोधन गर्न सकिएन भने आगामी बजेटले लिने नीति कार्यक्रम र लक्ष्य निरर्थक रहने बताए।सांसद गिरीले कुनैपनि राष्ट्रपति वा राष्ट्र प्रमुखबाट प्रस्तुत नीति तथा कार्यक्रम खराब नहुने तर त्यसको कार्यन्वयन नहुने भन्दै मुलुकको अर्थतन्त्र र राजनितिक सुधारमा दिएका सुझावहरु यसप्रकार रहेका छन।
१) बजारमा लगानी योग्य रकम छैन, त्यो रकम खोजेर सरकारले पठाउन ढिला गर्यो । तत्काल बैंकिङ च्यानलमा पैसा पठाऔं । त्यसको लागि सरकारले ठोस योजना बनाउनुपर्छ ।
२) अहिलेको मुख्य समस्या धेरैले ब्याजदर भनिरहेका छन् । मलाई त्यस्तो लाग्दैन, ब्याजदर विगतमा पनि २० प्रतिशतसम्म पुगेको थियो, तर बजारमा शून्यता थिएन । अहिलेको सबैभन्दा ठूलो समस्या आमनागरिकले गुमाएको ‘कन्फिडेन्ट’ हो । पैसा कमाएर खर्च गर्दा फरक पर्दैन भन्ने ‘कन्फिडेन्ट’ नागरिकमा फर्काउन सक्नुपर्छ ।
३) पूँजी बजारको विकासमा ठोस र रणनीतिक निर्णय लिन ढिला गर्नुहुँदैन । पूँजी निर्माणमा बजारको भूमिका भुल्न हुँदैन ।
४) जग्गा र ब्यक्तिगत घर कर्जालाई छुट्याउ । घर बनाउने मानिसलाई केही कम ब्याजदरमा कर्जा पाउने आधार तयार गरौं । यसले हाम्रा उत्पादनमूलक उद्योग चल्छन् । नागरिकले खर्च गर्न थाल्छन् । यसले बजार चलायमान हुन्छ ।
५) यही उत्पादन हुने वस्तुको आयातलाई निरुत्साहन गर्दै उत्पादन वृद्धिमा जोड दिनुपर्छ । स्वदेशी वस्तु २० प्रतिशतसम्म महंगो भए पनि सरकारले प्रयोग गर्ने नीति लिएको छ । यसले देशको औद्योगिक विकासमा सहयोग पुग्छ ।
६) निर्यातको सम्भावना बढेर गएका उद्योग समस्यामा छन् भने उनीहरूको कर्जा रिस्ट्रक्चर गर्नु पर्ने अवस्था देखिन्छ । उद्योगलाई दिइने विद्युत्को गुणस्तर र मूल्य पनि राम्रो बनाउन सकिएको छैन । त्यसको लागि बजेटले निर्देश गर्न सक्छ ।