काठमाण्डौ, गोकर्णेश्वर नगरपालिका वडा नं ८ को स्थानिय महिलाहरुको लागि पन्ध्र दिने उद्घोषण तालिमको उद्घाटन महाँकाल भैरव मन्दिर सामुदायिक भवनको सभाहलमा सम्पन्न भएको छ।
वडा नं ८ को आर्थिक सहयोग तथा माने परिवार महिला समाजद्वारा संचालित उक्त उद्घोषण तालिम माने परिवार महिला समाजका अध्यक्ष निरु मल्ल श्रेष्ठको सभा अध्यक्षता तथा गोकर्णेश्वर नगर प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यतामा भएको थियोे ।त्यसैगरी बिशेष अतिथिहरूमा उप प्रमुख सान्नानी लामा, वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, अतिथिहरूमा वडा नं ९ का वडा अध्यक्ष राजिव थापा,वडा नं ८ का वडा सदस्यहरु चन्द्रलाल श्रेष्ठ,सुमन लामा,सीता तिमल्सिना , र सोभिता मिजार लगायत स्थानिय बुद्धिजीवी, समाजसेवी तथा दाजुभाई दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।
राजेश दहालद्वारा सहजीकरण गरिएको कार्यक्रममा प्रमुख अतिथी दिपक कुमार रिसाल लगायत उपप्रमुख सान्नानी लामा,वडा अध्यक्ष नन्दलाल श्रेष्ठको हातबाट तालिमको उद्घाटन गरिएको थियो। कार्यक्रममा वडा अध्यक्ष तथा बिशेष अतिथि नन्दलाल श्रेष्ठले बोल्दै विगतका दिनहरूका तालिमहरु भन्दा यो तालिमको लागि फरक ढंगबाट बजेट बिनियोजन गरिएको बताउदै उद्घोषण गर्न सक्षम बनाइदिनको लागि महिला समाजको अनुरोधलाई मनन गर्दै सम्पुर्ण प्रक्रिया पूरा गरि सञ्चालन गर्न थालिएको जानकारी गराएका थिए।
कार्यक्रमका प्रमुख अतिथी तथा नगर प्रमुख दिपक कुमार रिसालले नगरपालिका द्वारा लक्षित महिलाहरूलाई अगाडि बढाउनुपर्छ भन्ने उदेश्य अनुरुप यो तालिमको लागि समेत बजेट बिनियोजन गरिएको बताएका थिए।उनले महिलाहरूले घरमा गरेको योगदानलाई हेर्ने हो भने कुनै पनि मुल्यांकन गर्न नसक्ने बताएका थिए।मेयर रिसालले नेपालको संविधानले पनि सम्पुर्ण लिङ्ग, बर्ग क्षेत्रको आधारमा सबैले सबैको प्रतिनिधित्व गर्न सकोस भन्ने उदेश्यले आरक्षण कोटाको सुनिश्चितता गरेको दर्साउँदै महिला पुरुष समान रुपमा अगाडि बढ्न नसके समृद्धी र बिकास हुन नसक्ने बताए।
अन्य महिलाहरुको समृद्धि आर्थिक उन्नती र आत्मनिर्भर बन्न कुनै आवश्यकता भए जानकारी गराउन अनुरोध गर्दै उक्त उचित बिषयलाई आउँदो बजेट तथा नीति कार्यक्रममा समाहित गर्ने बताउदै पन्ध्र दिने यो तालिमको पुर्ण सफलताको शुभकामना ब्यक्त गरेका थिए।