झापा, प्रदेश नं १ को पुनः नामाकरणको दबाबपुर्ण कार्यक्रम अन्तर्गत यहि आउदो बैशाख ११ गते देखि बिसौं हजार पहिचानबादी प्रदर्शनकारिहरु बिराटनगरमा जम्मा हुने भएका छन।
प्रदेश नं १ पुन: नामाङ्कन संयुक्त संघर्ष समिति संयुक्त समिती अन्तर्गत किरात याक्थुङ चुङ्लुङका अध्यक्ष प्रेम यक्तेन, आदिबासी जनजाती महासंघका अध्यक्ष ग्याल्जे शेर्पा,पहिचान सहितको प्रदेश नं १ पुन: नामाङ्कन अभियान समितीका अध्यक्ष डकेन्द्र सिंह थेगिम,किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई,नेपाल शेर्पा संघका अध्यक्ष लाक्पा शेर्पाले संयुक्त रुपमा हस्ताक्षर गरि प्रेश बिज्ञप्ति सार्बजनिक गरिएको छ।
प्रेश बिज्ञप्तिमा भनिएको छ,प्रदेश नम्बर १ मा दशकौँ देखि चलिरहेको पहिचानको आन्दोलनलाई षडयन्त्रमूलक तरिकाले दबाउनको लागि ऐनमा उल्लेखित ७२ घण्टा अघि सरोकारवालाहरूलाई जानकारी दिनुपर्ने, प्रदेश नम्बर २ मा जस्तै गोप्य मतदान गर्नु पर्ने प्रावधानहरूलाई बेवास्ता गरियो । नेकपा (एमाले), नेपाली कांगेस, नेकपा (माओवादी केन्द्र), राप्रपा लगायत पार्टीहरूले हठात् कुल्चेर २०७९ फाल्गुन १७ गते प्रदेश नं. १ लाई पञ्चायतकालीन मण्डले औपनिवेशिक ‘कोशी’ नामकरण गरिएको प्रति उक्त १७ गते बिहानैदेखि हामी पहिचानवादी आन्दोलनकारीहरूले सशक्त विरोध गर्दै आएका छौँ ।
हाम्रो शान्तिपूर्ण आन्दोलनकै क्रममा प्रशासनको पिटाइले हाम्रो सहयोद्धा पदम कुमार लिम्बु ‘लाजेहाङ’ सहिद भइसकेका छन् । हाम्रो आन्दोलनले भरसक कुनै पनि पक्षको जनधन क्षति नहोस् र शान्तिपूर्ण वार्ता बहसद्वारा कोशी नाम खारेज होस् भनेर यस संयुक्त सङ्घर्ष समितिले मिति २०७९ चैत्र २६ गते माननीय मुख्यमन्त्रीज्यू र माननीय प्रदेश सभामुखज्यूलाई अल्टिमेटम पत्र पेश गरेका थियौँ ।
यसरी हाम्रो सङ्घर्ष समितिले दिएको अल्टिमेटमलाई सम्बन्धित निकायले बेवास्ता गरेको र आन्दोलनकारीलाई थकाउने गलाउने नियत अपनाएको प्रति हामी घोर भत्सर्ना र विरोध गर्दछौँ । र, हामीले दिएको उक्त अल्टिमेटमको समय अवधि यही २०८० वैशाख १० गते पुग्ने र उक्त समय सीमामा हाम्रो मागहरू पूरा नगरिएमा वैशाख ११ गतेदेखि विराटनगर केन्द्रित निर्णायक आन्दोलन अघि बढाउने जानकारी सहित चेतावनी दिन चाहन्छौँ । यस सङ्घर्ष समिति प्रदेश नम्बर १ को नामकरणको समस्या शान्तिपूर्ण तरिकाले नै समाधान होस् भन्ने पक्षमा रहेको छ तर पहिचानको आन्दोलनलाई कम आँक्ने, थकाउने, गलाउने र दबाउने पक्षमा सरकार लागेमा हामी जीवन मरणको लडाइँ लड्न सङ्घर्षको मैदानमा उत्रिसकेको पनि सम्बन्धित निकायलाई सचेत गराउँदछौँ ।उल्लेख गरिएको छ।
त्यसैगरी सार्बजनिक बिज्ञप्तिमा लेखिएको छ!
प्रदेश नाम कोशी – खारेज गर । प्रदेशको नाम कोशी – मुर्दावाद । सहिद पदम कुमार लिम्बु ‘लाजेहाङ’ – अमर रहून् । प्रदेशको नाम कोशी – मान्दैनौँ । सम्पूर्ण पहिचानवादीहरू – एक हौँ । ऐतिहासिक पृष्ठभूमि तथा प्राचीन सभ्यता र पहिचानको आधारमा प्रदेश नं. १ को – पुनः नामकरण गर । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति – जिन्दावाद ।जस्ता नाराहरु पनि उक्त बिज्ञप्तिमा राखिएको छ।