काठमाडौं । मादक पदार्थ सेवन (मापसे) मात्र नभई अब लागुपदार्थ सेवन गरेर सवारी चलाउनेलाई पनि प्रहरीले कारबाही गर्ने भएकाे छ । यसका लागि प्रहरीले लागुपदार्थ सेवन जाँच गर्ने छुट्टै प्रविधि प्रयाेगमा ल्याएकाे छ ।
यसअघि चालकले लागुपदार्थ (गाँजा, अफिम, हिरोइन, मर्फिन, कोकिन आदि) सेवन गरेकाे जाँच गर्न स्वास्थ्य परीक्षण नै गर्नुपर्ने बाध्यता थियाे । मापसे जाँच गर्दा भने प्रहरीले ‘ब्रेथ एनालाइजर’ मसिन प्रयाेग गर्दै आएकाे छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले लापसे जाँचका लागि ‘सोटोक्सा ड्रग एनालाइजर’ (sotoxa drug analyzer) प्रविधि प्रयाेगमा ल्याउन थालेकाे जानकारी दिए ।
“काठमाडौंका सबै चेक पोस्टमा ‘ब्रेथ एनालाइजर’ भएपनि लापसे जाँच गर्न झन्झट थियाे । अब चाँडै नै सबै ठाउँमा लापसे पनि जाच्ने व्यवस्था मिलाउँदै गर्छाैं,” उनले भने ।
कसरी हुन्छ लापसे जाँच ?
लापसे सेवन गरे/नगरेको थाहा पाउन हालसम्म चालकको स्वास्थ्य नै जाँच गर्नुपर्ने बाध्यता छ । यसका लागि स्वास्थ्य प्राविधिक, प्रहरीको लागुऔषध ब्यूरो र ट्राफिक प्रहरीको टोली खटिनुपर्छ । कुनै चालकले लापसे गरेको शङ्का लागे प्रमाणित गर्न उसको पिसाब परीक्षण अर्थात ‘युरिन टेस्ट’ गर्नुपर्छ ।
“यसअघिसम्म लापसेको जाँच युरिन टेस्टबाट भइरहेकाे छ । समय लाग्ने भएपनि यसको नतिजा विश्वासनीय हुने हुन्छ,” उनले भने, “तर यो विधिबाट परीक्षण गर्दा समय धेरै लाग्छ । त्यस्तै यो विधि झन्झटिलो पनि छ ।”
यसैकारण लापसे जाँचलाई प्रभावकारी बनाउन प्रहरीले ‘सोटोक्सा ड्रग एनालाइजर’ नामक प्रविधिकाे नमूना प्रयोग गरिरहेकाे उनले बताए । यस प्रविधिबाट लापसे जाँच प्रभावकारी ढङ्गले गर्न सकिने उनको भनाइ छ ।
“सवारी चालकको मुखको स्वाब ड्रग एनालाइजरमा राख्दा लापसे सेवन गरे/नगरेको थाहा पाउन सकिन्छ । यसले जाँचको काम छिटो र सरल बनाउँछ,” उनले मुग्लानी खबरलाई भने ।
सुरुवाती चरणमा मसिन थाेरै संख्यामा भित्र्याएका छाैँ । यसकाे सफल अभ्यास भएसँगै देशैभर प्रयाेगमा ल्याउने गरी मसिन थप्ने गर्छाैं,''