नयाँ दिल्ली, २६ चैत l भारतमा बाघको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) ले जनाएको छ ।
बाघको सङ्ख्या बढ्नुलाई भारतले लोपोन्मुख प्रजातिको संरक्षणको प्रयासमा सरकार सफल भएको बताएको छ ।
बिरालो प्रजातिहरूमध्ये सबैभन्दा ठूलो बाघका लागि कुनै समय मध्य, पूर्वी र दक्षिणी एसिया महत्वपूर्ण क्षेत्र मानिन्थ्यो ।
आइयुसीएनका अनुसार विगत १०० वर्षमा बाघले आफ्नो ऐतिहासिक दायराको ९३ प्रतिशतभन्दा बढी हिस्सा गुमाइसकेको छ र अहिले १३ देशमा सिमित सङ्ख्यामा छरिएर मात्र बाघको अस्तित्व जोगिएको छ ।
भारतीय गणनाअनुसार देशभर तीन हजार १६७ वटा बाघ रहेका छन् भने यस पहिलेको गणनामा यो सङ्ख्या दुई हजार ९६७ थियो ।
विश्वभर प्रत्येक चार वर्षमा क्यामेरा ट्रयाप र कम्प्युटरको प्रयोग गरेर प्रत्येक प्राणीको पहिचान गर्न सर्वेक्षण गरिन्छ ।
अघिल्लो चार वर्षमा ३० प्रतिशतभन्दा बढी वृद्धि दर रहेकोमा यो अवधिमा यो दर घटेर सात प्रतिशतभन्दा कममा झरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ सङ्ख्यालाई ‘गर्वको क्षण’ भन्नुभएको छ ।
“हाम्रो परिवार विस्तार भइरहेको छ,” उहाँले दक्षिणी शहर मैसूरुमा आयोजित एक समारोहमा भन्नुभयो । “यो भारतका लागि मात्र नभइ विश्वकै लागि गर्वको विषय हो ।
वन फँडानी, अवैध शिकार र वासस्थानमाथिको मानव अतिक्रमणका कारण एसियाभरि बाघको सङ्ख्या नष्ट भएको छ तर मोदीले भन्नुभयो, “जनताको सहभागिता र देशको संरक्षणको संस्कृति का कारण भारतले बाघको सङ्ख्या बढाउन भारत सफल भएको छ ।”
अहिले विश्वमा बाघको सङ्ख्याको ७५ प्रतिशत हिस्सा भारतमै रहेको र ‘विश्वकै सबैभन्दा ठूलो बाघ रेन्ज भएको देश’ रहेको उहाँले बताउनुभयो ।
सन् १९०० मा एक लाख भन्दा बढी बाघहरू यस ग्रहमा घुमिरहेको अनुमान गरिएको थियो । तर सन् २०१० मा यो सङ्ख्या तीन हजार २०० मा झरेको थियो ।
सन् २०१० मा भारत र बाघको सङ्ख्या भएका अन्य १२ देशले सन् २०२२ सम्ममा पाटे बाघको सङ्ख्या दोब्बर बनाउने सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सन् १९४७ मा बेलायतबाट स्वतन्त्र हुँदा भारतमा बाघको सङ्ख्या करिब ४० हजार रहेको अनुमान गरिएको छ ।
त्यसपछिका दशकहरूमा यो सङ्ख्या घटेर सन् २००२ मा तीन हजार ७०० पुगेको थियो । चार वर्षपछि यो सङ्ख्या एक हजार ४११ मा झरेको थियो ।
विश्व वन्यजन्तु कोष–भारत (डब्ल्यूडब्ल्यूएफ–इन्डिया) तथा वासस्थान कार्यक्रमका निर्देशक दीपाङ्कर घोषले एएफपीसँग भन्नुभयो, “एकातर्फ बाघको सङ्ख्यामा पछिल्लो वृद्धि उत्साहजनक छ । अर्कोतर्फ यसले हामीलाई यो पनि बताउँछ कि अब हामी प्रत्येकले क्षयभएको वासस्थानको पुनस्र्थापना गर्न, करिडोरमार्फत बाघको सुरक्षित आवागमन सुनिश्चित गर्न र सहअस्तित्वलाई बढावा दिन अझ कडा परिश्रम गर्न आवश्यक छ ।”