काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछी निलम्बनमा परेका छन।
आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग रकम मागेका हुन् । सांसद श्रेष्ठले आफ्नो दलले स्वास्थ्य मन्त्रालय पाउने भएको र मन्त्री बन्नका लागि नेताहरुले आफूसँग साढे २ करोड मागेको कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा बताईएको छ। ।
गत ३ माघमा मन्त्रिपरिषद् विस्तार हुनुअघि भएको यो संवादमा सांसद ढाकाकुमार श्रेष्ठले भनेका छन्, ‘स्वास्थ्य हामीले पाउने भयो, पार्टीलाई सहयोग गर, साढे २ जति चाहियो भन्दै थिए । मेरो पक्का भयो, मैले आज फिक्स गर्नु छ क्या सर !उनले अगाडि भनेका छन्, ‘मन्त्री पनि बन्नुपर्यो, धोइपखाली गरेर स्वास्थ्य क्षेत्र पूरा सफा पनि गर्नु छ । मैले धेरै गर्छु भनेर सोचेको छु, त्यसमा हजुरहरुको सहयोग पनि चाहियो ।’
उनले भनेका छन्, ‘रवि सर देखा पर्नुभएको छैन, बाहिरका २/३ जना साथी हुनुहुन्छ । उहाँहरुलाई दिने हो, पार्टीलाई जान्छ भनेका छन् ।’सुरुदेखि नै रविलाई सहयोग गर्दै आएको कोर टिमले रकम मागेको सांसद ढाकाकुमारले अडियोमा बताएका छन।
ह्वाट्सएपमा भएको भनिएको संवादमा व्यवसायी प्रसाईंले पनि २ करोड सहयोग गर्ने, तर त्यसका लागि केही समय लाग्ने बताएका छन् । ‘तपाईंलाई मैले २ करोड रुपैयाँ दिने ग्यारेन्टी गरें’ प्रसाईंले भनेका छन्, ‘उनीहरुसँग टाइम माग्नुस्, म दिन्छु भन्नुस् ।’उनले मेडिकल व्यवसायी प्रसाईंलाई रकम दिए आफूले मिलेर काम गर्ने समेत बताएका थिए ।त्यसैगरी संवादका क्रममा प्रसाईंले तोसिमा कार्कीले लडाईं गर्दिनन् नि भन्ने प्रश्न गरेका छन्, जसमा रास्वपा सांसद ढाकाकुमारले मन्त्री छान्ने जिम्मा रवि लामिछानेलाई दिइसकेका कारण कुनै समस्या नहुने बताएका थिए ।
त्यो बेलामा स्वास्थ्यमन्त्रीका लागि रास्वपामा ढाकाकुमारसँगै डा. चन्दा कार्की र डा. तोसिमा कार्की आकांक्षी थिए । ३ माघमा भएको मन्त्रिपरिषद विस्तारका क्रममा स्वास्थ्य मन्त्रालय एमालेले पायो । स्वास्थ्य राज्यमन्त्री भने रास्वपाकी तोसिमा भइन् ।यद्यपि २२ माघमै रास्वपाले सरकार छाड्यो । तर त्यसको दुई महिनापछि अडियो सार्वजनिक भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य डा ढाकाकुमार श्रेष्ठलाई सञ्चारमाध्यममा सार्वजनिक भएको टेलिफोन संवादबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।
आज प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका महान्त्री एवं प्रवक्ता डा मुकुल ढकालले छानबिन पूरा नभएसम्म सांसद श्रेष्ठलाई पार्टीको साधारण सदस्यका हैसियतमा काम नगर्ने÷नगराउन निर्देशन दिएको जानकारी दिनुभएको हो ।