दोहा : नेपाली नयाँ बर्ष २०८० सालको अवसरमा "शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम"दोहामा हुने भएको छ ।
कतारको पर्यटकीय स्थल "फ्ल्याग प्याजा कर्निस " मा दिनको ४ बजे देखि राती १० बजे सम्म हुने कार्यक्रम, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा र कतारमा स्थापित विभिन्न संघ - संस्थाहरुको आयोजनामा हुन लागेको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।
नज्मा स्थित वर्ल्ड दरबार नेपाली रेस्टुरेन्टको सभाहलमा कार्यक्रमका बारेमा स्पष्ट पार्दै अध्यक्ष मुक्तदाले, एनसीसी कतार र अन्य संस्थाहरुको समन्वयमा हरेक बर्ष नेपाली नयाँ बर्ष मनाउदै आएपनि सिमित ठाउँमा मात्रै आयोजना हुने गर्दथ्यो । यो पाली अलि विशेष कार्यक्रम बनेको र पहिलो चोटि नेपाली समुदायले कतारको पर्यटकिय स्थलमा खुल्ला कार्यक्रम गर्न पाउनु सौभाग्य रहेको अध्यक्ष मुक्तदाले बताए ।
"हरेक देशका समुदायले कतारका पर्यटकिय स्थल हरुमा कार्यक्रम गर्ने चाहाना अनुरुप नेपाली समुदायको बृहत कार्यक्रमका लागि लगिएको प्रपोजल कतार मिनिस्टरमा बाट स्वीकृती मिलेको बताउदै मुक्तदाले यो कार्यक्रम एनसिसिको मात्र नभएर दोहामा रहेका सबै संस्थाको कार्यक्रम रहेको जानकारी गराए ।
फ्ल्याग प्याजा कर्निसमा, हुने बृहत सांस्कृतिक कार्यक्रम कुनैपनि टिभी च्यानलमा प्रसारण हुन सक्ने र बिश्वका फुटबल प्रेमीहरुको माँझ माझ मात्र नभएर यो ठाउँ सामाजिक सञ्जालमा समेत निकै चर्चित र कतारको मुटु रहेको बताए । कार्यक्रम सफल भए नेपाली संस्कृति पनि विश्वमा पुग्नसक्ने, कतारका अरु थुप्रै पर्यटकिय ठाउँ कतारा, कर्नेस, लुसेल लगायतका ठाउँमा नेपाली समुदायका कार्यक्रम गर्न सकिनेमा अध्यक्ष मुक्तदाले बिश्वास व्यक्त गरे । सबै आयोजक संस्थाहरुको नाम प्रष्ट देखिने गरि ब्यानरमा लेखिने पनि उनले बताए ।
कार्यक्रम संयोजकको रुपमा उत्तम गुरुङ र सह संयोजक रोशन अर्याल, कार्यक्रम ब्यबस्थापक कृष्ण पन्थी, मिडिया संयोजक दिप जङ्ग शाह र कलाकार संयोजक सामुयल सुनुवार लाई जिम्मेवारी तोकिएको छ ।
कार्यक्रम संयोजक उत्तम गुरुङले बोल्दै यो कार्यक्रम आयोजना स्वरुप अहिले सम्म दोहामा करिब ३१ संस्थाले आफ्नो नाम पेश गराएका र अझै कतारमा रहेका थुप्रै संस्थाहरुले आफ्नो नाम दिने प्रक्रियामा रहेको बिश्वास व्यक्त गरे ।
स्पोन्सर गर्न चाहनेका लागि पनि ढोका खुला रहेको बताउँदै उनले मुख्य प्रायोजकका लागि २५ हजार रियाल कायम गरिएको जानकारी दिए । कार्यक्रमका लागि सह प्रायोजक, प्रायोजक, गोल्डेन स्पोन्सर लगायत विविध शीर्षकमा स्पोन्सर गर्न सकिने उनको भनाइ छ ।
पत्रकार सम्मेलनमा उपस्थितहरुले ठुलो धनरासी खर्च गरेर कार्यक्रम गर्नुको उदेश्य,नेपाली समुदाय र श्रमिकले पाउने फाइदा लगायतका प्रश्नहरु आयोजकलाई तेर्साएका थिए भने सबै प्रश्न हरुको उत्तर गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहमद मुक्तदाले प्रष्ट पारेका थिए ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रममा आयोजक संस्थाहरूबाट सहभागी हुन चाहने सबै व्यक्तिका लागि स्पेसल पास, कुर्सी तथा खानाको व्यवस्था गरिने भएको छ । संस्थागत सहभागी हुन चाहने व्यक्तिको नामावली कार्यक्रम हुनु भन्दा पहिले नै एनसीसीमा बुझाउन समेत आग्रह गरिएको छ ।
कार्यक्रममा आउने कलाकार हरुमा चर्चित गायिका मेलिना राई,एलिना चौहान, लोकदोहोरी गायक श्याम राना मगर, लोकदोहोरी गायिका बबिता माझी, मोडल तथा अभिनेत्री साक्षी लम्साल र कार्यक्रम संचालक बिबेक खतिवडा रहेका छ्न । साथै स्थानिय कलाकार हरुको पनि बेजोड प्रस्तुति रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो। कार्यक्रमको सहजीकरण एनआरएनए कतारका महासचिव पदम गिरिले गरेका थिए ।