काठमाडौं महानगरपालिकाले साढे तीन सय वर्षअघि बनेको रानीपोखरी सर्वसाधारणका लागि दैनिक रूपमा खोल्न थालेको छ।
यसअघि भाइटीका र छठ पर्वमा मात्र खोलिने गरेको रानीपोखरी पुनःनिर्माण भएपछि पहिलो पटक महानगरले गत फागुन २७ गतेदेखि सर्वसाधारणका लागि दिनहुँ रूपमा निश्चित समय तोकी खोल्न थालेको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए।
उनका अनुसार रानीपोखरी बिहान निश्चित समयका लागि मात्र खोलिएको हो।
'अहिले बिहान मर्निङ वाक गर्न ६ बजेदेखि ९ बजेसम्म खुला गरिएको छ,' उनले भने, 'मर्निङ वाक गर्ने स्थान नभएका कारण सोही कुरालाई मध्यनजर गर्दै रानीपोखरी अनौपचारिक रूपमा खुला गरिदिएको हो।'
स्थानीयहरूले मर्निङ वाक गर्नलाई खोलिदिनुपर्यो भन्ने माग गरेपछि त्यसलाई मध्यनजर गर्दै बिहान तीन घन्टा रानीपोखरी खोल्न थालेको उनी बताउँछन्।
अनौपचारिक रूपमा सर्वसाधरणको सुविधाका लागि रानीपोखरी खोलेका कारण अन्य गतिविधि नगरिदिन अधिकारी आग्रह गर्छन्।
'त्यहाँ बसेर खाने, भलाकुसारी गर्ने, माछालाई खान दिने, टिकटक बनाउने लगायतका काम नगरिदिनुहुन अनुरोध गर्छौं,' उनले भने, 'रानीपोखरीको तोकिएको ठाउँमा मात्र हिँड्न र अन्य ठाउँमा प्रवेश नगर्न पनि अनुरोध छ।'
अहिले पुनर्निर्माण प्राधिकरणले महानगरलाई रानीपोखरीको सबै भाग हस्तान्तरण गरिसकेको छैन। रानीपोखरीको पूरै भाग महानगरको स्वामित्वमा आएपछि व्यवस्थित ढंगले शुल्क लिएर खोल्ने योजना पनि ल्याइने अधिकारी बताउँछन्।
अहिले रानीपोखरी खुलेपछि मर्निङ वाक, व्यायाम र योगा गर्न आउने स्थानीयहरू लर्को लाग्ने गरेको छ। यसरी रानीपोखरीमा दिनहुँ हिँडडुल गर्न पाएकोमा स्थानीयहरू पनि खुसी छन्।
बिहानै रानीपोखरीमा कोही मानिसहरू हिँडिरहेका हुन्छन् त कोही गीत बजाएर व्यायाम गर्दै गरेको देखिन्छ। यस्तै कोही बाललबालिका करातेको प्रशिक्षण दिइरहेका हुन्छन्।