भक्तपुरमा अन्तर्राष्ट्रिय श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव २०७९ सुरु भएको छ ।
सूर्यविनायक नगरपालिका-६, कटुञ्जेस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा सुरु भएको महोत्सवमा आजदेखि दैनिक १० हजार बढी भक्तजनको उपस्थिति रहने मूल आयोजक समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँले आध्यात्मिक क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटन महोत्सवका रुपमा सुरु गरिएको बताउनुभयो ।
महोत्सवको पहिलो दिन कलश यात्राका साथै गजुर अनावरण गरिएको छ । महोत्सव अवधिभर मन्दिरमा दैनिक १०८ ब्रह्ममुनी (बटुक)ले श्री एक सय आठ तारतमसागर पाठपारायण गरिएको छ । महोत्सवमा दैनिक विभिन्न गुरु महाराजबाट प्रवचन हुनेछ ।
महोत्सवमा दैनिक सेवा पूजा आरती, योग ध्यान, चितवनी, पाठपारायण, ध्यान जप, धार्मिक प्रवचन, श्रीकृष्णामृत कथा, सन्ध्या आरती, प्रवचन र सांस्कृतिक कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो ।
महोत्सवमा विशेष कार्यक्रमअन्तर्गत दैनिक तारतम मन्त्र प्रदान तथा आत्मा जागनी कार्यक्रम, सम्मान कार्यक्रम, रक्तदान, निःशुल्क स्वास्थ्य परीक्षण र फागुन ३० गते सामूहिक उपनयन कार्यक्रम हुने मूल समारोह समितिका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
महोत्सवमा श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्त श्री विभूषित जगद्गुरु आचार्य श्री कृष्णमणिजी महाराजश्रीको प्रवचन, श्री मङ्गलधाम कालिम्पोङका गादिपति श्री एक सय आठ गुरुजी मोहन प्रियाचार्यजी महाराजको प्रवचन छ ।
श्रीनवतनधाम गादिपति १०८ बाबा अमृतराजजी महाराजद्वारा श्रीमत्तारतम सागर वाणी चर्चा एवम् श्रीकृष्ण रसामृत, श्रीभद्रावतिपुरीधाम भरोडा भारतका गादिपति श्री १०८ टहलकिशोरजी महाराजजी, श्रीनवतमधामका महन्त श्री १०८ पुरुषोत्तम महाराजजीबाट प्रवचन हुनेछ ।
महोत्सव आयोजक समितिका सचिव धर्मराज कार्कीले श्री १०८ तारतमसागर पाठ पारायण सप्ताह ज्ञान महायज्ञसहित ‘श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव–२०७९ मा देश विदेशबाटसमेत सहभागी रहेको जानकारी दिनुभयो । उहाँले महोत्सवमा करिब रु ५० लाख खर्च हुने र करिब रु ७० लाख सङ्कलन हुने अनुमान गरिएको छ ।
फागुन ३० गतेसम्म चल्ने महोत्सवमा नेपालका विभिन्न जिल्लालगायत अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, भारतलगायतका मुलुकबाट समेत प्रतिनिधित्व रहनेछ ।
यसअघि महोत्सव क्षेत्रबाट सुरु भएको एक हजार कलश यात्रा विभिन्न क्षेत्रको परिक्रमा गर्दै मन्दिरमै आएर समापन भएको थियो । कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले महोत्सव एवं महायज्ञको उद्घाटन गर्दै हिन्दू धर्म र आध्यात्मिक चिन्तनको जगेर्ना गर्नुपर्ने बताउनुभयो । उहाँले हिंसाले कसैको भलो नहुने भन्दै यस्ता महायज्ञले अहिंसाको बाटोमा लाग्न सबैलाई प्रोत्साहन गर्ने बताउनुभयो ।
मन्दिरको विगतका गतिविधि र पारायणको चर्चा गरी आयोजक समितिले प्रकाशन गरेको स्मारिकाको सभामुख घिमिरेले विमोचन गर्नुभयो । श्रीमन्नीजानन्द ब्रह्मसभा भवन तथा श्रीकृष्ण प्रणामी मन्दिरको कलश अनावरणसमेत गरिएको छ ।
विसं २०५७ मा श्रीकृष्ण प्रणामी मन्दिर निर्माण भई आध्यात्मिक कार्यक्रम सञ्चालन हुँदै अनाथ बालबालिका तथा वृद्धवृद्धाको संरक्षण पठनपाठन एवं भरणपोषण हुँदै आइरहेको छ । नेपालमा छाता संस्थाका रूपमा रहेको श्रीकृष्ण प्रणामी सेवा समितिका मुलुकभर दुई सय ५१ शाखा आध्यात्मिक तथा सामाजिक क्षेत्रमा कार्यरत छन् ।
शाकाहार स्वास्थ्यको महत्वबारे प्रवचन, अहिंसाको सन्देश जनजनमा फैलाउन जनचेतना जगाउने, हिन्दू धर्मको मठमन्दिर संरक्षण प्रवद्र्धनमा जोड दिने, अनाथ बालबालिका तथा वृद्धवद्धाको संरक्षण तथा शिक्षादिक्षामा अभिवृद्धि गराउने, यस ऐतिहासिक सांस्कृतिक नगरी भक्तपुरलाई धार्मिक पर्यटनसँग जोड्ने, दुव्र्यसनमुक्त समाज निर्माणमा जोड दिने जस्ता सन्देशमूलक कार्यक्रम सञ्चालन गर्न लागिएको छ ।