काठमाण्डौ,फागुन १६।चावहिल चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड स्कुल/कलेजले स्थापना दिवसको २५ औं वर्षको अबसरमा कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सोमबार 'रजत जयन्ती' भब्यताका साथ मनाएको छ।
मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाको सभापतित्व तथा नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रदेशसभा सदस्य श्रीराम लामिछाने, नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष पाण्डव हमाल, राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेशकी प्रमुख चैतन्य सत्याल, गायक शम्भुजित बास्कोटा, नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का, सञ्चारकर्मी टिकाराम यात्री, नेसनल प्याब्सनका पूर्व अध्यक्ष ऋतुराज सापकोटा, समाजसेवी रामजी अधिकारी लगायतको विशेष आतिथ्यता रहेको थियो।त्यसैगरी अतिथिहरुमा मनास्लु वर्ल्ड कलेजका प्रिन्सिपल राजन श्रेष्ठ, फाइनान्स डिरेक्टर कुमार मोक्तान सहित बोर्ड अफ डाइरेक्टर, शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरू,शिक्षा क्षेत्र सँग सम्बन्धित विभिन्न विशिष्ट व्यक्तित्वहरू लगायतको बाक्लो उपस्थिति रहेको थियो।
शान्तिको सन्देश दिने उत्कृष्ट स्वागत नृत्य बाट सुरु भएको कार्यक्रम अवधिभर मनास्लुका विद्यार्थीहरूका प्रतिभाले भरिएका विभिन्न प्रस्तुतिहरू राखिएको थियो।कार्यक्रममा उपस्थित सम्पुर्णलाई मनोरञ्जन दिलाउनका लागि राष्ट्रिय कलाकारहरू हिमाल सागर, अस्मिता अधिकारी सहित नृत्य समूह वाइल्ड रिपर्ज तथा मनास्लु ब्यान्ड लगायत विभिन्न कलाकारहरुद्वारा दमदार प्रस्तुतिहरु राखिएका थिए।मनास्लुका विद्यार्थीको सुन्दर प्रस्तुतिहरू सहित राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो।
मनास्लु वर्ल्ड कलेजको नाम धेरैले नसुनेको हुन सक्ने भएतापनी 'रजत जयन्ती' स्कुलले कसरी मनायो भन्ने कौतुहलतालाई स्पष्ट पार्दै सन् १९९८ मा भुवनेश्वरी पब्लिक स्कुलको नामबाट खुलेको स्कुल प्राक्सिस इन्टरनेसनल एकेडेमी हुँदै भर्खरै मनास्लु वर्ल्ड स्कुल/ कलेज बन्न सफल भएको कलेजका अध्यक्ष गेन्द्र लामाले बताएका थिए। उनले कलेजले बाचा गरेअनुसार आइएसो २००८: २०१५ बाट प्रमाणित हुन सफल भएको बताउदै आजसम्मको साथ सहयोगका लागि सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ सहयोगको अपेक्षा गरेका थिए।
कार्यक्रममा विभिन्न क्षेत्रमा ठूलो योगदान पुर्याउदै आएका बिशिस्ट ब्यक्तिहरुलाई कलेजले रजत जयन्तीको अवसर पारेर सम्मान गरिएको छ।जसनुसार वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, एपिवान टेलिभिजनका प्रधान सम्पादक टिकाराम यात्री, क्रिकेट खेलाडी पारस खडका, मानव सेवा आश्रमका रामजी अधिकारी र शिक्षाकर्मी ऋतुराज सापकोटालाई मनास्लु विशेष सम्मान प्रदान गरेको छ। त्यस्तै मनास्लु वर्ल्ड स्कुलमा कार्यरत सर्वोत्कृष्ट पाँच जना शिक्षक/ शिक्षिका, उत्कृष्ट नतिजा प्राप्त गर्ने ७ जना कक्षा १२ का विद्यार्थी तथा हाल कक्षा १२ मा अध्ययनरत १० जना विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै अन्य ब्यक्तिहरुले मनास्लु वर्ल्ड कलेजले पछिल्लो समयमा शिक्षा क्षेत्रमा गरेको उल्लेखनीय प्रगती,कलेजको योजना अतिरिक्त कृयाकलाप शैक्षिक वातावरण लगायत विविध कारणले लोभलाग्दो प्रगति गरेको भन्दै अन्य शैक्षिक संस्थाहरुले पनि मनास्लु वर्ल्ड कलेजबाट केही सिक्नुपर्ने बताउदै आगामी दिनमा अझै प्रगति गर्नका लागि शुभकामना ब्यक्त गरेका थिए।
उक्त अवसरमा कलेजले कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा कक्षा १२ उत्तीर्ण गरेकाहरूलाई बिदाई साथै आ- आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान दिएका विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो।कार्यक्रममा कक्षा १२ लाई प्रतिनिधित्व गर्दै नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेकी फरिन बानुले मनास्लु वर्ल्ड कलेज छनोट गरेर विद्यार्थीहरूले सही निर्णय गरेको बताइन् । यस किसिमका औपचारिक कार्यक्रम आयोजना गरेर स्वागत तथा बिदाइ गर्ने मनास्लुको स्थापनाकाल देखिकै संस्कार भएको भन्दै उनले आगामी १ वर्ष कक्षा ११ अध्ययनरत विद्यार्थीका लागि जीवनको सुनौलो पल हुने उल्लेख गरिन् । मनास्लुले भोलिका लागि सक्षम जनशक्ति उत्पादन गर्ने भन्दै उनले आफ्नो सुन्दर भविष्यको मार्गचित्र कोर्न तयार रहन पनि सबैलाई आग्रह गरिन् ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री मोदीले आफ्नो मन्तव्य राख्दै कलेजमा अध्ययनरत विद्यार्थीहरूको सुखद भविष्यको कामना गरेका थिए।उनले विभिन्न क्षेत्रका पाँच जना बिशिस्ट ब्यक्तिहरुलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउदै यसरी सम्मान गर्नुको उद्देश्य आफ्ना विद्यार्थीलाई उत्प्रेरणा दिनु रहेको बताए। आफू विद्यार्थी राजनीतिबाट आजको ठाउँसम्म आएको स्मरण गर्दै सङ्घर्ष गरेर मात्र सफल बन्न सकिन्छ।समाजप्रति गरिएक राम्रो कामले भौतिक रूपमा नरहे पनि सदैव सबैको मनमा इतिहासको पानामा रहिरहनेछ भन्दै विद्यार्थीलाई सुझाव दिदै वर्ल्ड कलेजले स्थापना दिवसको २५ औं वर्षको अवसरमा रजत जयन्ती मनाएकोमा मनास्लुलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए।