दोहा, गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले आदिवासी जनजाति समुदायको राष्ट्रिय चाड पर्वहरू एकमुष्ट रूपमा मनाएको छ ।
संघले माघ्या सकराटी (मिनाम सार ल्हेस)/ चासोक तङनाम/तमू ल्होसार/साकेला उँधौली/मञ्जुश्री संवत् २८५९सोनाम ल्होछार/माघी/जितिया पर्व/रापावा श्यादर पिदार/येले संवत् ५०५३/प्हुगाल पारिम/म्ह पुजा/ल्यापव दुक्षेन/लदि कोशीपुजा/ग्याल्पो ल्होसार/सिरुवा पावुन/नयाँ खुवा/लिःल ल्होसार/को अवसरमा शुभकामना आदान–प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम भव्य र सभ्य रूपमा एकीकृत रूपमा मनाएको हो ।
शेर्पा समुदायको संस्कार झल्किने गरी सेब्रु नृत्य, नेवा पुच कतारले मौलिक नृत्य, सुनुवार सेवा समाजद्वारा आफ्नो समुदायको संस्कृति झल्कने श्यादरशिल नृत्य, किरात राई यायोक्खा शाखा कतारले आफ्नो समुदायको साकेला झाँकी, मगर सघ शाखा कतारले हुर्रा तथा कौरा नृत्य, थारु कल्याणकारी समाज कतारले जोगीरा सरर गीतमा नृत्य, तमु (गुरुङ) समाज कतारका तर्फबाट मौलिक नृत्य, किरात याकथुङ चुम्लुङले पनि आफ्नो (केलाङ) च्यापदुङ नाच, नेपाल प्रवासी तामाङ समाज कतारले आफ्नो झाँकीसहित नृत्य, प्रवासी भुजेल समाजले पनि आफ्नो झाँकी सहित नृत्य प्रस्तुत गरेको थियो ।
संघका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्व तथा कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा महासंघमा आबद्ध विभिन्न सामुदायिक संस्था तथा कतारमा स्थापित अन्य थुप्रै संघ संस्थाका अध्यक्ष तथा पदाधिकारीको आतिथ्यता रहेको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक जैवी चाम्लिङ राईले स्वागत मन्तव्य राख्दै कार्यक्रमको बारेमा जानकारी दिएका थिए भने "हामी आदिवासी जनजाति गीतबाट" विधिवत रूपमा सुचारु गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले यस्तै सामूहिक कार्यक्रमले सद्भाव र भावनालाई जोड्ने बताए । सामुदायिक रूपमा पर्व मनाउँदा खर्च कम हुने बताए । ढकालले पछिल्लो अपडेटअनुसार कतारमा ३ लाख ६४ हजार ५०० नेपाली कार्यरत रहेको डाटा दूतावाससँग रहेको बताउँदै प्रत्येक नेपालीले दिनमा १ रियाल कम खर्च गर्ने हो भने पनी करोडौं बचत हुने र देशमा त्यो रकम पुग्दा अर्थतन्त्रमा ठुलो टेवा पुग्ने बताए ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले वक्ताहरूले सामूहिक कार्यक्रमले आत्मीयता तथा भाइचारा वृद्घि सँगसँगै पर्यटनका लागि पनि प्रचार प्रसार हुने बताए । आदिवासी जनजाति महासंघ कतार तथा महासंघमा आवद्ध मातृ संस्थाहरूले संयुक्त रूपमा आफ्नो परम्परा अनुसार आयोजक तथा कार्यक्रमका सभापति मोहम्मद मुक्तदा मुसलमान,कार्यक्रम संयोजक जैवी चाम्लिङ राई र कलाकार संयोजक सामुयल सुनुवार लाई फेटाद्वारा र विशिष्ट अतिथिहरूलाई खादा तथा सम्मान गर्दै कोसेली प्रदान गरेका थिए ।
कार्यक्रममा गुना मगर, सलिना गुरुङ, वनिता राई, सरला तामाङ, गौतम लिम्बु, विमल लिम्बु र सुर्जे बहादुर तामाङले आफ्नो गायनमार्फत दर्शकलाई नचाउन सफल भए । त्यसतै जीवन खालिङ राईले हास्य नृत्य पेस गरेका थिए ।
संघका सचिव रबिन मगरले सहजीकरण गरेको कार्यक्रममा बोल्दै सभापति मुक्तदाले जनजाति महासंघको मातृ संस्थालाई सहकार्य तथा समन्वयका लागि धन्यवाद दिँदै कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।
नेपाल मगर संघ,किरात याक्थुङ चुम्लुङ , तमु (गुरुङ) समाज, किरात राई यायोक्खा, नेपाल प्रवासी तामाङ समाज कतार,थारु कल्याणकारिणी सभा, सुनुवार सेवा समाज, प्रवासी भुजेल समाज,नेवा पुचः माझि सेवा समाज,नेपाली धानुक समाज,शेर्पा किदुंग, प्रवासी दनुवार संगठन, ताजपुरिया समाज कल्याण परिषद गरि १४ आवद्ध मातृ (जातीय) संस्थाहरु रहेका छ्न ।