तिलविक्रम थेवे
दोहा कतार
फरवरी १४ भ्यालेन्टाइन डे को सन्दर्भ
वास्तवमा भ्यालेन्टाइन दिवस खुशियालीको दिवसको हो ? या मृत्युदण्ड दिइएका भ्यालेन्टाइनको शोक दिवस ?
भ्यालेन्टाइन डे अर्थात् प्रेमदिवस, प्रणय दिवस, मायापिरती लाउने या बाध्ने या फुकाउने दिवस या जेसुकै परिभाषा दिएर धक खोलेर विशेष गरी मनको कुरा खोलेर प्रेम प्रस्ताव या विहेको प्रस्ताव नै एकार्कामा तेर्साएनी जसको नामबाट यो सुखद प्रेममयी उत्सव शुरु भयो उसकै जीवनको चाही सुखद रहेन । त्यो नाम अर्थात् भ्यालेन्टाइनको अन्त्य दुःखद छ ।
सन्त भ्यालेन्टाइनको (सेन्ट भ्यालेन्टाइन) वारेमा !
सन्त भ्यालेन्टाइन भन्ने व्यक्तिको वारेमा यसो भनिएको छ । उनी इसाई पादरी (क्रिष्चियन धर्मगुरु) थिए । युगको तेस्रो शताव्दीतिर सन्त भ्यालेन्टाइन रोमको गिर्जाघरमा (चर्चमा) धर्मगुरुको काम गरिरहेका समयमा त्यहाँका सम्राट क्लाउडियस द्धितियले विवाहितभन्दा अविवाहित सेनाहरु अलि कामयावी र मन अन्त नडुलाउने, नबरालिने र एकाग्र हुने भएकाले जवानहरुलाई सेनामा रहुन्जेलसम्म विवाह गर्नबाट बन्चित गरिरहेका थिए । त्यसवेला धर्मगुरु भ्यालेन्टाइनले भने चर्चमा गुप्तरुपमा भित्रभित्रै माया पिरतीमा बाँधिएका अनेक जोडाजोडीहरुको विवाह गराईदिई रहेकाथिए । जव सम्राट क्लाडियस द्धितियले यो कुरो थाहा पाए त्यसपछि पादरी भ्यालेन्टाइनलाई मृत्युदण्ड दिनु भन्ने हुकुम गरे र भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइयो ।
पादरी (धर्मगुरु) सन्त भ्यालेन्टाइनको वारेमा अर्को के पनि भनाई रहेको छ भने, त्यसवेलाको रोमन साम्राज्यमा जेलमा रहेका इसाई पादरी सन्त भ्यालेन्टाइन सहित अन्य इसाईहरुले जेलनेलको कडा यातना कुटाई,पिटाई जेलभित्र खेपिरहेका थिए ।
सन्त भ्यालेन्टाइन जेलभित्र नै रहेकोवेला संयोगवस जेल घुम्न आउने गरेकी जेलरको छोरीसित भ्यालेन्टाइनको मायापिरती बस्यो । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिनुअघि “तिम्रो भ्यालेन्टाइनको तर्फबाट” अर्थात् "From your Valentine" भन्ने सम्बोधन गरेर जेलरको छोरीलाई प्रेमपत्र लेखेका थिए र यही वाक्यलाई प्राथमिकता दिएर हरेकवर्ष फरवरी १४ को भ्यालेन्टाइन डे विकसित भएकोहो भन्ने गरिन्छ ।
हुनत “तिम्रो भ्यालेन्टाइनको तर्फबाट” अर्थात् "From your Valentine" भन्ने वाक्यको निकै धेरै अर्थ लाग्न सक्छ । जेलमा रहेका अन्य इसाईहरुलाई पनि सान्त्वना या तिनिहरूको मनोवल अझ उच्च राख्ने उद्देश्यले उनले त्यो पत्रलेखेको पनि हुनसक्छ किनकी उ अत्याचार सहन नसक्ने अलि विद्रोही स्वभावको व्यक्ति थियो भन्ने भनाई छ र चर्चमा जोडाजोडीको विवाह गराईदिई सम्राटको आदेश समेत उल्लंघन गरेर विद्रोही स्वभावको थप प्रमाणित गरेको पनि बुझाइ रहेको छ ।
वास्तवमा शुरुआती वर्षहरुमा सन्त भ्यालेन्टाइनलाई शहिद बनाइएको स्मरण गर्दै शहिद दिवसको रुपमा हरेक वर्षको फरवरी महिनातिर यो भ्यालेन्टाइन डे मनाउन थालिएको भएपनि अहिले आएर यो दिन प्रेमदिवस, प्रणय दिवस, मायापिरती लाउने या बाध्ने या फुकाउने दिवसको दिनको रुपमा विकसित भएर गएको छ । अझ कुरकुरे वैसले छपक्क छोपेका युवा पुस्तामाझ यो फरवरी १४ मायापिरती लाउने,बलियो बनाउने, डेटीङ जाने विशेष दिनको रुपमा परिस्कृत हुदै आएको छ ।
हुनत समय, काल र परिस्थिति अनुसार इतिहासको व्याख्या, परम्परा संस्कार,संस्कृति सवै अपडेट हुदै आएको छ र त्यही अनुसार व्याख्या विश्लेषण हुदै आउन थालेको छ ।
तर इतिहास, परम्परा, संस्कार र संस्कृतिको जुन समयमा, जुनरुपमा, जुन अवस्थामा जसरी लेखियो या थालनी गरियो त्यसलाई नवङग्याइकन निरन्तर ल्याउन नसक्दा कतै भ्यालेन्टाइन डे पनि यो रुपमा आज विकसित भएर आएको हो की पनि भन्ने अडकल काटन सकिन्छ ।
भ्यालेन्टाइनको इतिहास सरसर्ती अध्ययन गर्दा चाही यो चारैतिर प्रेम नै प्रेम र मायालुहरु मात्र देखिने फरवरी १४ को विषयमा प्रश्न गर्न मन लाग्छ, के यो भ्यालेन्टाइन दिवस खुशियालीको दिवसको हो ? या मृत्युदण्ड दिईएका शहिद भ्यालेन्टाइनको शोक दिवस ?
रोमन शासकद्धारा इसाई पादरी सन्त भ्यालेन्टाइनलाई प्रेम प्रसंगको मुद्धामा मृत्यदण्ड दिईएको थियो या त्यसवेलाको परिस्थिति अनुसार राजनितिक या धार्मिक मुद्धामा मृत्यदण्ड दिईयो त्यो विषयको स्पष्ट निक्र्यौल इतिहासले गर्ला नै तर सत्य कुरा के हो भनेसन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड चाही दिइएको हो ।
अव भ्यालेन्टाइन डे लाई हेप्पी भ्यालेन्टाइन डे भनेर भन्ने कि भ्यालेन्टाइनको मुत्युको स्मरण गरेर भ्यालेन्टाइनलाई हार्दिक श्रद्धान्जली दिने !
अव बुझनेलाई श्री खण्ड नबुझनेलाई डयास डयास !