म्याग्दीको बेनी नगरपालिका –९ मा रहेको गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटिबाट सडक बत्ती जडान गरिएको छ ।
गलेश्वर बजारको २.५ किलोमिटर सडक र मन्दिर परिसरमा सोमबार ५५ सडक बत्ती जडान गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले मन्दिरमा भक्तजनले चढाएको भेटि परिचालन गरेर सडक बत्ती राखिएको जानकारी दिनुभयो ।
सडक बत्ती जडान गर्न कुल रु. २ लाख ३० हजार ७५० खर्च भएको उहाँले जानकारी दिनुभयो । स्थानीयबासी, म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई रातका समयमा पैदल र सवारीसाधनमा आवतजावतका लागि सहज भएको छ ।
“गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटिबाट बत्ती जडान गरिएको छ,” उहाँले भन्नुभयो “मर्मत र विद्युत महशुल पनि मन्दिरको आम्दानीबाट व्यवस्थापन गछौ ।” सडक वत्तीले बजारलाई उज्यालोका साथै सुरक्षित बनाउन सहयोग पुगेको स्थानीयवासी बमबहादुर पुनले बताउनुभयो ।
गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटि पूजारी, कर्मचारीको तलव, संस्कृत विद्यालय, जेष्ठ नागरिक आश्रम सञ्चालन र पुर्वाधार निर्माणमा परिचालन हुँदै आएको छ । भेटी, महायज्ञबाट संकलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षका अवधिमा करिब रु. दश करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको छ ।
गलेश्वरमा भक्तजनले चढाउने भेटि मेलाको भोलिपल्टै र अन्य समयमा मासिक रुपमा गनेर सार्वजनिक गर्ने गरिएको छ । कालीगण्डकी नदी किनारको ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टान माथि रहेको गलेश्वरलाई पश्चिमको पशुपति नाथ र मुक्तिक्षेत्रको प्रवेशद्वारको रुपमा चिनिन्छ ।
साउन महिनाको सोमबार, बालाचर्तुदर्शी, महाशिवरात्री पर्वमा विशेष मेला लाग्ने गलेश्वरमा दैनिक पुजाआजा हुन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गर्नाले पुण्य मिल्नुका साथै मनोकांक्षा पूरा हुने जनविश्वास छ ।रासस