प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई जनउत्तरदायी र प्रभावकारी बनाइनुपर्ने खाँचो औँल्याउनुभएको छ ।
जनप्रतिनिधिले जनतासमक्ष गरेको बाचा संसदीय विधि र प्रक्रियाद्वारा अनुमोदित गर्ने र जनताप्रति जवाफदेही रहने मुख्य थलो संसद् नै भएकाले यसको गरिमालाई उँचो बनाउने गरी जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न उहाँले सांसदलाई अनुरोध गर्नुभयो ।
सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदका लागि आयोजना गरेको ‘संसदीय प्रक्रिया र अभ्यास’ विषयक अभिमुखिकरण कार्यक्रमको आज उद्घाटन गर्दै सभामुख घिमिरेले संसदीय व्यवस्था र प्रणालीलाई उँचो बनाउन सांसदको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “संसदीय व्यवस्था र प्रणालीको गरिमा बढाउन र संसद्को भूमिकालाई जनउत्तरदायी बनाउन विज्ञ सरोकारवालाबाट प्रस्तुत हुने ज्ञान, सीप र अनुभवले संसदीय भूमिकालाई थप सिर्जनशील बनाउन मद्दत पुग्नेछ ।”
उहाँले विगतका कतिपय संसदीय अभ्यास जनउत्तरदायी नभएको गुनासो बढेको भन्दै नयाँ परिस्थितिमा संसदीय भूमिकालाई प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।
“संसद्को सर्वोच्च निकाय संसद्प्रति देशले आशा गरेको छ । संसद्को आफ्नै प्रक्रिया र अभ्यास छ । विषयगत र जनउत्तरदायी भएर संसदीय काम कारबाहीलाई जनताप्रति जवाफदेही र पारदर्शी ढङ्गले अघि बढाउन दुई दिने अभिमुखिकरणले मद्दत पुग्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।
उहाँले संसद्मा प्रतिपक्षको भूमिकालाई प्रभावकारी ढङ्गबाट अभिव्यक्ति गर्ने, त्यसलाई व्यवहारमा उतार्नका लागि भूमिका खेल्न आग्रह पनि गर्नुभयो । संसद्लाई प्रभावकारी बनाउने भूमिका सरकारको रहेको उल्लेख गर्दै सरकारका ऐन, कानुन बनाउने, देशको बजेट निर्माणलगायतका काम गर्दै प्रतिपक्षी दललाई पनि समन्वय गरेर लैजान सरकारको पनि जवाफदेहिता जरुरी भएको धारणा राख्नुभयो ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले संसदीय प्रक्रिया र अभ्यासको व्यवहारिक कार्यान्वयन गर्दै संसदीय गरिमा कायम गर्न सबैको सक्रिय भूमिका चाहिने औँल्याउनुभयो ।
उहाँले संसदीय अभ्यासमा आफ्नो पहिलो उपस्थिति रहेको भन्दै संसदीय प्रक्रिया र अभ्यासको विद्यार्थीका रुपमा रहेर जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । “संसदीय प्रक्रिया र अभ्यासमा मेरो पहिलो उपस्थिति हो । संवैधानिक अभ्यास अवलम्बनको अहिलेसम्म आइपुग्दा ठूलो उपलब्धि हो”, उहाँले भन्नुभयो ।
संसद्को प्रभावकारी भूमिका र गरिमा बढाउन संसदीय प्रक्रिया र पद्धत्तिको कुशल अवलम्बन गरेर मात्रै संसदीय दायित्व निर्वाह हुने र जनताप्रति उत्तरदायी हुने भएकाले यहाँ प्रस्तुत हुने व्यवहार र विचारलाई मर्यादित र संसदीय व्यवहारअनुरुप हुनुपर्ने उहाँको भनाइ छ ।