प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आमसञ्चारमाध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी गर्ने बताउनुभएको छ ।
नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले सूचना प्रविधिको विकास र विस्तारलाई केन्द्रमा राख्न सके राष्ट्रको कार्यभार पूरा गर्न सकिने बताउनुभयो । उहाँले यस कार्यको नेतृत्वकारी भूमिका सरकारी सञ्चारमाध्यमले नै खेल्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधार निर्माणका साथै कानूनी र व्यावहारिक सुनिश्चितता गर्न प्रतिबद्ध रहेको उहाँको भनाइ छ
उहाँले सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवद्र्धन र हितका निम्ति सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकासका लागि सरकारले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र संवद्र्धन गर्ने सरकारको नीति रहेको बताउनुभयो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्दै जनताको जीवनस्तर उठाउन सहयोगी माध्यमका रूपमा सूचना तथा सञ्चार प्रणालीको विकास गर्ने नीति अगाडि सारिएको प्रधानमन्त्रीको भनाइ छ ।
आजको युग विज्ञान प्रविधिको युग भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यस युगलाई हामीले ‘डिजिटल इरा’का रूपमा संश्लेषण गर्न सकिने धारणा राख्नुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, “राजनीतिक प्रणाली र राज्यको चरित्रमा आएको परिवर्तनअनुरूप टेलिभिजनले पनि आफूलाई परिमार्जन र रूपान्तरण गर्दै अगाडि बढेको तथ्यले टेलिभिजनको भूमिका र महत्वलाई थप प्रमाणित गर्दछ ।”
यस वर्षदेखि विभिन्न सात भाषामा समाचार प्रसारणको आरम्भ हुनु थप महत्वपूर्ण रहेको भन्दै प्रधानमन्त्रीले टेलिभिजनले आम नागरिक र दर्शकको अपेक्षाअनुसार थप जिम्मेवार र व्यावसायिक बन्नुपर्ने चुनौती रहेको बताउनुभयो ।
सो चुनौतीलाई अवसरमा बदल्न आफ्नो सम्पूर्ण ज्ञान, बुद्धि र विवेक संस्थाको हितमा खर्चिन पनि प्रधानमन्त्रीले टेलिभिजनलाई आग्रह गर्नुभयो ।
प्रादेशिक च्यानल विस्तारको कार्यलाई टेलिभिजनले थप उचाइका साथ आवश्यकता र प्राथमिकताका आधारमा निरन्तरता दिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “काठमाडौँबाट प्रसारण हुने टेलिभिजनले सबै वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायको इतिहास, भाषा, संस्कृति र आवाज मुखरित गरेको छ । यसरी हेर्दा देशका सबै वर्ग र समुदायले नेपाल टेलिभिजनभित्र आफ्नो अनुहार देख्न सक्छन्, अपनत्वभावको अनुभूति गर्न सक्छन् भन्ने तथ्य स्थापित भएको छ ।”
नेपाली भाषा, कला, संस्कृति र पहिचान विश्वव्यापी रूपमा स्थापित गर्न सफल भएकामा प्रधानमन्त्रीले नेपाल टेलिभिजनलाई आभार व्यक्त गर्नुभयो । उहाँले टेलिभिजनले आगामी दिनमा व्यावसायिक दक्षतामा अभिवृद्धि गर्दै थप अत्याधुनिक, द्रूत र व्यवस्थित सेवा प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा नेपाल टेलिभिजनका अध्यक्ष समीरजङ्ग शाहले सूचना र सञ्चार क्षेत्रमा भएको परिवर्तनलाई आत्मसात् गर्दै संस्थाले व्यावसायिक दक्षता र सीपको विकासमा जोड दिइएको बताउनुभयो । महाप्रबन्धक फुलमान बलले प्रधानमन्त्रीको चाहनाअनुसार नै नेपाल टेलिभिजनले विभिन्न भाषाभाषीमा समाचार प्रसारण सुरु गरेको जानकारी दिनुभयो ।