रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ स्थित रुकुमकोटमा रहेको हेलिप्याडमा लाइट जडान गरिएको छ । रातिको समयमा पनि हेलिकोप्टर अवतरण गर्न सक्ने गरी हेलिप्याडमा लाइट जडान गरिएको हो । यसअघि दिउँसोको समयमा मात्र हेलिकोप्टर अवतरण गर्ने गरेकोमा लाइट जडान गरेसँगै अब रातिको समयमा पनि हेलिकोप्टर अवतरण गर्न सकिनेछ ।
सिस्ने गाउँपालिकाको बजेटबाट लाइट जडान गरिएको पालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो । नेपाली सेनाले निर्माण गरेको हेलिप्याडमा सेनाको प्राविधिक सहयोगमा लाइट जडान गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाको करिब रु सवा दुई लाख बजेटमा लाइट खरिद गरिएको अध्यक्ष रेग्मीको भनाइ छ ।
हेलिप्याडमा सोलारबाट अटोमेटिक सञ्चालन हुने सेन्सर लाइट जडान गरिएको नरसिंह दल गणका गणपति प्रमोदकुमार शर्माले बताउनुभयो । “हेलिप्याडमा जडान गरिएका सेन्सर लाइटको पाँच वर्ष वारेन्टीसमेत छ”, उहाँले भन्नुभयो, “यी लाइट घाम डुब्यो भने आफँै बल्छन् र बिहान भयो भने आफैँ निभ्छन् ।” हेलिप्याडको वरिपरि पोल गाडेर ठूला चारवटा बल्ब पनि जडान गरिएको उहाँको भनाइ छ ।
लाइट जडानको काम सकिएपछि आजै सिस्ने गाउँपालिकाको स्वामित्वमा रहने गरी पालिकालाई हेलिप्याड हस्तान्तरण गरिएको छ । रुकुमपूर्वमा इमर्जेन्सी अवस्थाका बिरामीलाई हेलिकोप्टरमार्फत उद्धार गरिँदै आइएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका, सुत्केरी व्यथा लागेका र अन्य विभिन्न समस्याले तत्काल उद्धार गर्नुपर्ने अवस्थाका बिरामीलाई हेलिकोप्टरबाटै सुर्खेत, नेपालगञ्ज, पोखरा, काठमाडौँ लैजाने गरिएको गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेले बताउनुभयो ।
यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकासविक्रम शाहले यसअघि यस्ता समस्यामा परेका बिरामीलाई दिउँसोको समयमा मात्र उद्धार गरिँदै आइएको थियो भने अब रात्रिकालीन अवस्थामा पनि हेलिकोप्टर अवतरण गर्न सक्ने गरी हेलिप्याडमा लाइट जडान गरिएपछि यहाँका नागरिकलाई सहज हुने बताउनुभयो ।