दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४५ वर्षीय वकी डाँगीको दिनचर्या बिहानको मिर्मिर उज्यालोदेखि बेलुकासम्म भैँसीका पाडापाडीको स्याहारसुसारमा बित्ने गरेको छ ।
छोटो समयमा व्यावसायिक भैँसीपालन गरेर एक सफल महिला उद्यमीका रुपमा आफूलाई चिनाउन सफल हुनुभएकी डाँगी सधैँ भैँसी स्याहारदेखि दूध बिक्रीवितरणको काममा व्यस्त देखिनुहुन्छ ।
आठ वर्षदेखि भैँसीपालन गर्दै आउनुभएकी डाँगीको परिवारमा अहिले दुईजना सदस्य पनि यहीँ पेशामा संलग्न हुनुभएको छ । साथै उहाँले आफ्नो फार्ममा स्थानीय दुईजनालाई रोजगारी समेत दिनुभएको छ ।
डाँगी पशुपालन पेसाबाट सन्तुष्ट हुनुहुन्छ । “वार्षिक रू सात लाख बचत गर्ने गरेकी छु, आम्दानी राम्रो भएपछि दैनिकी सहज भएको छ”, उहाँले भन्नुभयो । बिहानको मिर्मिरे उज्यालोसँगै उहाँको व्यस्तता सुरु हुन्छ । परम्परागत खेतीपाती गर्दै आएकी डाँगीले २०७० मा ‘शुभ भैँसी फार्म’ दर्ता गरी व्यावसायिक रुपमा भँैसीपालनको सुरुआत गर्नुभएको थियो ।
उहाँले भन्नुभयो, “सुरुमा रू एक लाखमा एउटा उन्नत जातको भैँसी खरिद गरी भैँसीपालन गरेका हाँै अहिले फार्ममा सानाठूला गरी ३८ वटा भैँसी छन् ।” तीमध्ये १० वटा दुहुना भैँसी छन् । उहाँका अनुसार दैनिक ८० देखि ९० लिटरसम्म दूध तुलसीपुर बजारमा रहेको आफैँले डेरी उद्योगबाट बिक्रीवितरण गर्नुहुन्छ ।
कोरोना महामारीका समयमा उत्पादित दूधले उचित बजार नपाउँदा केही घाटा बेहोर्नु परेको भएपनि अहिले भने बजारको कुनै समस्या नरहेको डाँगीले बताउनुभयो । “एक वर्षयता आफैँले तुलसीपुर बजारमा डेरी उद्योग सञ्चालन गरेका छौँ, दाङमा दूधको फुटकर मूल्य रू ९० र दहीको रू एक सय प्रति लिटर छ, अहिले आम्दानी राम्रै भएको छ”, उहाँले भन्नुभयो ।
शुक्रबार डाँगीको भैँसी फार्ममा दूध खरिद गर्न आएकी तुलसीपुर उमहानगरपालिका–६ रजौरा निवासी ४३ वर्षीया राधा पाण्डेले आफ्नै घरआँगनमा शुद्ध दूध खान पाइने भएकाले यहीँबाट लैजाने गरेको बताउनुभयो । “यसअघि एक लिटर दूध किन्न पनि तुलसीपुर बजार जानुपर्ने बाध्यता थियो तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुसी लागेको छ”, उहाँले भन्नुभयो ।
डाँगीले फार्ममा अहिलेसम्म रू ४० लाख लगानी गरिसक्नुभएको छ भने दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक रू २० देखि २२ लाखसम्म आम्दानी हुने गरेको छ । आन्तरिक व्यवस्थापकीय सबैजसो खर्च कटाएर गत वर्ष रू सात लाख बचत गर्नुभएको थियो । यसपटक डेरी पनि सञ्चालनमा रहेकाले बचत रकम बढ्न सक्ने उहाँको भनाइ छ ।
घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरनलगायत अन्य सामग्री खरिद गर्दा लागत खर्च बढेको छ । “सरकारी निकायबाट प्राविधिक सहयोग पाएको छु तर आर्थिक सहयोग भने कुनै निकायबाट पनि पाएको छैन”, डाँगीले भन्नुभयो ।
कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएकाले उहाँको भैँसी फार्ममा विभिन्न ठाउँबाट भैँसी हेर्न, जानकारी लिन तथा भैँसी खरिदका लागि मानिसहरु आउने गरेका छन् । पैसा कमाउन र जीविकोपार्जन गर्न जागिर खानै पर्छ वा विदेश जानैपर्छ भन्ने छैन, आफूले पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय राम्रो क्षेत्रका रुपमा साबित हुने उहाँको बुझाइ छ ।
राज्य नारामा मात्र सीमित नभई कृषि व्यावसायमा लाग्नेलाई व्यावहारिक रुपमा सहयोग गरेर कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनसके कृषिमा आत्मनिर्भर हुनेको सङ्ख्या बढ्ने उहाँको धारणा छ । उत्पादित कृषि सामग्रीलाई उचित बजारको व्यवस्था गर्न सकेमा किसानलाई थप हौसला प्राप्त हुने उहाँको अनुभव छ ।