मुग्लानी खबर /बैशाख २७
पाँचथरका बिभिन्न १० लिम्बुवान राज्यमध्येको एक हिलिहाङ राज्य नयाँ नेपालको संरचना अनुसार हिलिहाङ गाउपालिकामा प्रचार प्रसार तथा पर्यटकिय क्षेत्रको निर्माण गरि समृद्ध नेपालको निर्माणको सपना सहित एतिहासिक "हिलिहाङ महोत्सव २०७५" जारी भएको छ भने उक्त महोत्सवलाई प्रदेश न१ का मुख्यमन्त्री शेरधन राईले गत सोमबार उद्घाटन गरेका छन।
पाचथर र ताप्लेजुङ जिल्लाका साबिकका करिब २८ ओटा गाबिसहरु पाचथराका क्रमशः सुभाङ, पञ्चमी, अमरपुर, नागी, थर्पू, ओयाम, च्याङथापू र फलैँचा गाविसहरु तथा ताप्लेजुङका डुम्रिसे, थेचम्बु, तिरिङ्गे, फावाखोला, सिकैँचा, सिनाम, आम्बेगुदिन, चाक्सिबोटे, थुम्बेदिन, तेल्लोक, मामाङ्खे, याम्पुदिन, खेवाङ, पेदाङ, मेहेले, लिम्बुदिन, साब्लाखु, आङखोप, सादेवा र सुरुङ्खिमहरुको एक याङ्बरक थुम रहेको र उक्त विशाल शक्तिशाली राज्यको राजधानी हिलिहाङ दरबार थियो।उक्त हिलिहाङ राज्यमा भएका बिभिन्न सामाजिक, सास्कृतिक , पुरातात्त्विक तथा एतिहासिक महत्वलाई संरक्षण सम्बर्द्धन गर्दै प्रचार प्रसार गरी हिलिहाङ दरवार क्षेत्रलाई पर्यटकीय केन्द्रको रुपमा बिस्तार गरि समृद्ध नेपालको निर्माण गर्ने उक्त महोत्सवको उदेश्य रहेको बताईएको छ।
हिलिहाङ गाँउपालिका भित्र पर्ने सानो पाथीभरा, जोरपोखरी, आगेजुङ, गोपेटार, कालापानी, भोटे गढी, मृदङ्गा झरना लगाएतका स्थलहरु मुख्य पर्यटकिय आकर्षण रहेका छन उक्त क्षेत्रलाई प्रचार–प्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउनु, स्थानीय उत्पादनहरुको प्रदर्शन र प्रचार–प्रसार गरेर बजार खोज्ने लक्ष्य पनि महोत्सवले लिएको छ ।हिलिहाङ दरबार रहेको हिलिहाङ गाँउपालिका वडा नं. ४ मा रहेको हस्तपुर निक्कै अग्लो स्थानमा रहेको नवनिर्मित खेलमैदानमा आयोजना गरिएको महोत्सवमा तत्कालीन याङवरक थुमका राजा हिलिहाङ तथा उनको राज्यले प्रयोग गरेका हात हतियारहरु ढाल, तरवार,तोप लगाएतका केही सिमित हतियार हरुमा प्रदर्शनमा राखिएका छन।
हिलिहाङ गाँउपालिका क्षेत्रमा विभिन्न थरीका स्थानिय उत्पादनहरु चिया, राडी, पाखी, दुग्धजन्य उत्पादनहरु, खोर्सानी, कागती लगायतबाट उत्पादित सामाग्रीहरु घरेलु हात हतियारहरु, ढाकाका कपडाहरु तथा जनजाति समुदायका भेषभुषाहरु, पाखन्वेद, बुढो ओखती, हड्चुर, चिम्फिङ, चिराइतो, याङ्बे लगायत जडिबुटीहरु, हाते कागज, बाँसबाट निर्भित सामग्रीहरु, परम्परागत स्थानीय सामग्रीहरु, कपासमा उत्पादित लत्ता कपडाहरु, स्थानीय परिकारहरु महोत्सवमा प्रदर्शनको लागि राखिएको छ भने महोत्सव उद्घाटनमा आएका मुख्यमन्त्री राईले हिलिहाङ दरबार क्षेत्रको अवलोकन गर्दै ‘युमा साम्माङ माङयुक्ना हिम’को दर्शन समेत गरेका छन।
मुख्यमन्त्री राईले महोत्सवकै अवसर पारेर आयोजना गरिएको भलिवल प्रतियोगिताको समेत मुख्यमन्त्री राईले उद्घाटन गर्नुका साथै हिलिहाङ दरबारको भग्नावशेष अघि निर्माण गरिएको राजा हिलिहाङको पूर्ण कदको शालिक समेत अनावरण गरे।महोत्सवको मुख्य आकर्षण एवं संरक्षण र प्रबर्द्धन गर्ने लक्ष्य लिइएको हिलिहाङ दरबारको भने भग्नावशेष मात्र बाँकी छ । उक्त दरबार तिब्बतबाट इटा ल्याएर बनाइएको जानकार तथा स्थानीय जेष्ठ नागरिकहरुले बताएका छन । उक्त दरबार क्षेत्रको २०७१ सालमा पुरातत्व विभागले उत्खनन समेत गरेको उक्त दरबार क्षेत्रलाई पुरातात्विक क्षेत्रको रुपमा सूचिकृत समेत गरेसकेको बिभागले जनाएको छ भने स्थानीय जानकारहरु दरबार क्षेत्रको उत्खनन गर्ने क्रममा दरबार क्षेत्रका पुरातात्विक तथा ऐतिहासिक प्रमाणहरु केही प्रमाणहरु नष्ट भईसकेको समेत बताईएको छ। दरबारलाई घेरिएको ८ फिट अग्लो पर्खालका इट्टाहरु केही स्थानीयले भत्काएर लगेको स्थानीय शिक्षक योगेश योङ्या वताउँछन् । १८४८, १८६० मा पटक–पटक गरिएका सम्झौताहरु शिलालेखमा लिपिवद्ध गरिएतापनि प्रमाण, इतिहासलाई नष्ट पार्ने भाचेर समेत फालिएको बताएका छन।
हिलिहाङ र नेपाल एकीकरणमा रहेको गोर्खाली सेनावीच १७ पटक युद्ध हुँदासमेत हारजित नभएको वताइन्छ । नेपाल राज्यमा गाभिने पक्षमा रहेका हिलिहाङ राजाकै आफन्त तथा अन्यले उनको बिस १८४४मा हत्या गरेको बताईन्छ।जेष्ठनागरिक तथा जानकारहरुले भनेका आधारमा तरबारको जिर्णोद्धार गर्नुपर्ने, तोप, ढाल, तरबार, सम्झौताका पाण्डुलिपी तथा शिलालेखहरु सङ्कलन गरि संग्रहालय निर्माण गरिनुपर्ने, माङ्हिमको निर्माण गर्नुपर्ने र पर्यटकीय स्थलको रुपमा विकास गरिनुपर्ने कुरा स्थानीयले अगाडी सारेका छन।
राजा हिलिहाङ नै लिम्बुवान राज्यका अन्तिम राजा भएका कारण हिलिहाङ दरबार अध्ययनको अत्यन्तै महत्वपूर्ण स्थल रहेको वताइन्छ ।करिब ५० लाख रुपैँयाको लागतमा सम्पन्न हुने अनुमान गरिएको महोत्सवलाई हिलिहाङ गाँउपालिकाले मूख्य रुपमा सहयोग गरेको छ । गाँउपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङ्देनको संयोजकत्वमा महोत्सव मूल आयोजक समिति गठन गरिएको थियो । समितिले देश तथा विदेशबाट महोत्सवका लागि सहयोग संकलन समेत गरेको छ ।
महोत्सवको पहिलो दिन महोत्सवको उद्घाटन, साँस्कृतिक झाँकीको प्रस्तुती,दरबार क्षेत्रको अवलोकन दोश्रो दिन नृत्य तथा गायन, प्रतियोगिता साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति,तेश्रो दिन हिलिहाङ ५–६ जोरपोखरीदेखि आगेजुङ गुम्बा, गोपेटार, भोटेगढी हुँदै हिलिहाङ दरबारसम्म पदयात्रा, चौथो दिन जेष्ठ नागरिकहरुको सम्मान,कलाकारहरुको प्रस्तुती तथा हिलिहाङ क्षेत्रको पर्यटन विकास सम्बन्धी अन्तरकृया र अन्तिम दिन भलिवल खेलमा विजेता हरुलाई पुरस्कार वितरण, सहयोगीहरुलाई सम्मान तथा महोत्सव समापन गरिने महोत्सव आयोजक मूल समारोह समितिले वताएको छ।