भकुण्डेवेशी ,नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने वीपी राजमार्गमा फोहोर फाल्ने सवारी साधन र यात्रुलाई कार्वाही गर्ने जनाएको छ। नेपाल प्रहरीसंगको सहकार्यमा नगरपालकिाले सो राजमार्ग प्रयोग गर्दा फोहोरजन्य सामाग्री फाल्ने जो कोहिलाई पनि कडा कार्वाही गर्ने निर्णय गर्दै सचेत गराएको हो । नगरपालिकाले वीपी राजमार्ग सरसफाई सञ्चालन गरिरहेको छ । सो राजमार्ग भएर जाने सार्वजनिक र नीजि यातायातका साधन र यात्रुले जथाभावी फोहोर जन्य सामाग्री फ्याक्न थालेपछी नगरपालिका बजार व्यवस्थापन कार्यबिधि २०७८ र फोहोमैला व्यवस्थापन ऐन, २०६८ अनुरुप उक्त निर्णय गरिएको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिएका छन ।
तत्कालनि संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघवीच सार्वजनिक सवारीका साधनबाट उत्पन्न हुने फोहोरमैला नियन्त्रण तथा व्यवस्थापन गर्ने विषयमा भएको समझदारी अनुसार सार्वजनिक सवारी मार्फत यात्रा गर्ने यात्रु तथा यातायात मजदुरहरु समेतहरुले यात्राका समयमा प्रयोग गर्ने पानीका बोतलहरु, खानेकुराका अवशेषहरु, प्लाष्टिकका झोलाहरु आदी फोहोरमैलाजन्यबस्तुहरु झ्यालबाट फ्याँक्ने, बसपार्कमा जथाभावी फाल्ने गर्नाले फोहोर भएको भन्दै सो रोक्ने व्यवस्था गराउने उल्लेख छ ।
उक्त क्रियाकलापलाई तत्काल बन्द नगरेमा, अटेर गरेमा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम यातायात सवारी चालक वा यात्रुलाई कारवाही हुने समेत उक्त समझदारीमा उल्लेख गरिएको छ।नगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरेर सवारीसाधनका चालक र यात्रुलाई फोहोर नफाल्न अनुरोध गर्दै चेतनामूलक स्टिकर समेत टाँसेका थिए। नगरप्रमुख लामा सहित उपप्रमुख रत्नबहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्साल, प्रबक्ता समेत रहेका वडा नं ६ का अध्यक्ष टीका बहादुर केसी, वडा नं ७ का अध्यक्ष धर्मसिङ लामा, वडा नं ४ का अध्यक्ष अर्जुन कार्की, युवा परिषदका कार्यकारी अधिकृत रामेश्वर अधिकारी, वातावरण अधिकृत सन्तोष काफ्ले लगायत कर्मचारीहरु, प्रहरी चौकी भकुण्डेवेशीका इञ्चार्ज प्रहरी नायव निरिक्षक इन्द्रबहादुर राउत लगायतले चेतनामूलक स्टिकर टाँस गर्दै पालना नगरे कार्वाही गर्ने बताएका हुन् ।
राजमार्गमा चल्ने सबै सवारी साधन र यात्रुलाई सचेत गराएर कार्यान्वयन नभए कार्वाही गर्ने तयारी नगरपालिकाको रहेको छ। नगरपालिकाले यस अघि पनि साताव्यापी कार्यक्रम गर्दै सरसफाई अभियान निरन्तर चलाउदै आएको छ।