कास्कीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित पर्यटकीय गाउँ भदौरेमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका २४औँ भदौरे पञ्चासे महोत्सव गरिने भएको छ ।
भदौरे क्लब र भदौरे आमा समूहको आयोजना एवं अन्नपूर्ण गाउँपालिकाको विशेष सहयोगमा आयोजना हुने महोत्सव यही पुस ९ देखि ११ गतेसम्म सञ्चालन हुने संयोजक मनबहादुर गुरुङले जानकारी दिनुभयो ।
भदौरे क्लबका अध्यक्ष जीवन गुरुङका अनुसार महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमसँगै स्थानीयस्तरमा उत्पादित कोदोसहितका परम्परागत प्राङ्गारिक खानाका परिकारको स्वाद लिने व्यवस्था मिलाइएको छ ।
महोत्सवमा फुटबल प्रतियोगिता पनि सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई रु ५५ हजार र दोस्रो हुनेलाई रु ३५ हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
पर्यटक आवासका लागि गाउँमा होटेल तथा घरवास सञ्चालित छन् । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको यो गाउँ पोखरादेखि ३० किलोमिटर पश्चिममा छ । प्राकृतिक रुपमा सुन्दर पञ्चासेको काखमा रहेको शीतल हावापानी युक्त यो ठाउँ आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्य हो ।
सयौँ प्रजातिका सुनाखरि पाइने प्रसिद्ध पञ्चासे संरक्षित वनको ठूलो क्षेत्र यसै गाउँमा पर्ने र यसलाई पञ्चासे पुग्ने प्रवेशद्वारको रुपमा पनि लिइन्छ । यहाँबाट अन्नपूर्ण हिम श्रृंखलाअन्तर्गत निलगिरि, धौलागिरि, माछापुछ«ेलगायतका हिमाल प्रष्ट रुपमा देख्न सकिन्छ ।
१०औँ संस्करणको लिटरेचर फेस्टिभल हुँदै
पोखरामा १०औँ संस्करणको नेपाल लिटरेचर फेस्टिभल हुनेभएको छ । लेकसाइडस्थित बाराहीघाटमा यही पुस ६ गतेदेखि ११ गतेसम्म ‘शब्द शक्ति उत्सवको एक दशक’ नारासहित फेस्टिभल आयोजना हुने बुकवर्म फाउण्डेशनले जानकारी दिएको छ ।
यस वर्ष फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलङ्काली लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुल, सहप्राध्यापक एवं लेक सुकेतु मेहता, लेखक एवं फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्चित व्यक्तित्वहरूको सहभागिता रहने महोत्सवका संयोजक सुजाता खत्रीले जानकारी दिनुभयो ।
खत्रीका अनुसार महोत्सवमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डा भगवान कोइराला, मास्टरसेफ सन्तोष साह, पत्रकार एवं लेखक विजयकुमार, सम्राट उपाध्याय, लेखक बुद्धिसागर, सुविन भट्टराई, सङ्गीतकर्मी रञ्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्का, पत्रकार रमा सिंह, गायिका झुमा लिम्बूलगायत विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ । साथै यसवर्ष फरक क्षमता भई अब्बल रहेका व्यक्तित्वहरु र दार्चुला, गोरखा मनाङका स्थानीय जनप्रतिनिधिको पनि उपस्थिति रहनेछ ।
महोत्सवमा हरेक दिन साङ्गीतिक प्रस्तुती रहने र पूर्वसन्ध्यामा कवि नवराज पराजुली र उज्जल सागरको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
गायक तथा सङ्गीतकार गोपाल योञ्जनको स्वगारोहणको २५ वर्षमा उहाँप्रतिको सम्मान गोपालय साङ्गीतिक प्रस्तुती पनि राखिएको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा एक सय वर्ष, अनिल शाही र उनको समूहको विशेष साङ्गीतिक प्रस्तुति र रैथानेको प्रस्तुती रहेको फेस्टीभलको अन्तिम दिन प्रदीप रोदनको महफिल रहने खत्रीले जानकारी दिनुभयो ।
फेस्टिभलमा शिक्षा तीन सत्रमा कक्षा ९ देखि १२ विद्यार्थीको वक्तृत्वकला प्रतियोगिता सञ्चालन हुनेछ । फेस्टिभलको उद्घाटन सत्रमा अर्थशास्त्री एवं काठमाडौ विश्वविद्यालयका रजिस्टार अच्युत वाग्लेले ‘नेपाल २०९०’ शीर्षकमा प्रवचन दिने कार्यक्रम छ ।
पत्रकार सम्मेलनमा आयोजक तर्फका सदस्य भरत कोइरालाले पोखरा र नेपाल लिटरेचर फेस्टिभल पर्याय बनेको जनाउँदै यस फेस्टिभललाई पोखरावासीले उत्साहपूर्वक प्रतिक्षा गरिरहेको बताउनुभयो । आयोजक सदस्य केशवशरण लामिछानेले नेपाल लिटरेचर फेस्टिभलले पोखरालाई सभ्य एवं सुसंस्कृत सहर बनाउँदै लगेको र पोखरालाई साहित्यको सहर बनाउन फेस्टिभलको महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु फेस्टिभल बाराहीघाट आइपुगेको बताउनुभयो
उहाँले फेस्टिभलमा हुने सामाजिक बहस र विमर्शले देशका उच्चपदस्थ व्यक्ति एवं सरोकारवालाई जवाफदेही बनाउन सघाउन पु¥याउने विश्वास व्यक्त गर्नुभयो । फेस्टिभल दक्षिण एसियाकै समावेशी मञ्च बन्दै गएको र यसलाई सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो ।