इस्तानबुल, २३ lटर्कीको उत्तरपश्चिमी शहर बुर्सामा मङ्गलबार राति भएको आगलागीमा परी आठ बालबालिकासहित कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
आगलागीमा परी आठ बालबालिकासहित कम्तीमा नौ जनाको मृत्यु भएको इस्तानबुलका गभर्नरले बुधबार पुष्टि गर्नुभएको छ ।
मध्यरातमा आगलागी शुरू भएपछि तत्काल अग्निनियन्त्रकलाई बोलाइएको तर आगो निभाउँदासम्म सिरियाबाट टर्कीमा शरण लिँदै आएका एकै परिवारका नौ जनाको मृत्यु भएको अधिकारीले बताएका छन् ।
मृतक सबैलाई राति सुतेको समय निद्रामा नै आगोले जलेको अवस्थामा भेटिएको थियो ।
प्रान्तीय अधिकारीहरूका अनुसार मृतकहरूमा छ जना भाइबहिनी, उनीहरूकी आमा र दुई जना काका–काकी थिए ।
ती सबै बालबालिका ११ वर्षमुनिका रहेको बताइएको छ ।
प्रारम्भिक रिपोर्टअनुसार परिवार सुतिरहेको बेला न्यानोका लागि बालिएको स्टोभ हिटरले नजिकैको सामान सल्किँदा आगलागी भएको थियो ।
घटनाबारे अनुसन्धान शूरू गरिएको र विस्तृत विवरण रिपोर्ट आउँदासाथ तत्काल सार्वजनिक गरिने गभर्नरको कार्यालयले जनाएको छ ।
सिरियामा लामो समयदेखि जारी गृहयुद्धबाट भागेका करिब ४० लाख सिरियाली शरणार्थी टर्कीमा आश्रय लिँदै आएका छन् । रासस÷सिन्ह्वा