म्याङलुङ, २० कात्तिक : दसैँ र तिहारको अवसरमा तेह्रथुमका ढाका उद्यमीले रु एक करोडभन्दा बढीका ढाकाका सामग्री बिक्री गरेका छन् । गत वर्ष कोरोनाले ठप्प रहेको ढाकाको व्यापार यस वर्ष बढेको छ । विगतका वर्षमा कोरोना कहरले ढाका कपडाको व्यापारमा निकै नै कमी आएको थियो ।
यस वर्ष उत्साहजनक बिक्री भएको न्यू तेह्रथुम धागो तथा ढाका पसलकी सञ्चालक शोभा दाहालले बताउनुभयो । कोरोनाले विगतका वर्षमा व्यापार ठप्प रहे पनि यस वर्ष कोरोना कम भएकाले र तेह्रथुमलाई ढाकाको राजधानी घोषणा भएसँगै ढाकाको व्यापार सोचेभन्दा बढी भएको दाहालले बताउनुभयो ।
तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि उपहारस्वरूप ढाकाका सामग्री दिने चलन बढेपछि ढाका कपडाको कारोबार उच्च भएको हो । जिल्लामा सञ्चालन भइरहेका साना–ठूला गरी करिब तीन दर्जन ढाका कपडा उद्योग र व्यपारीले दसैँ तिहारको अवसरमा रु एक लाखदेखि १० लाखसम्मको कारोबार गरेका छन् ।
मायाको चिनो र व्यक्तिगत प्रयोगमा ग्राहकको ढाकाप्रतिको मोह बढेपछि कपडाको बिक्री बढेकाले यो वर्ष रु पाँच लाखभन्दा बढीको बिक्री गरेको उज्ज्वलता ढाका कपडा उद्योगका सञ्चालक उज्ज्वलता सुब्बाले बताउनुभयो । यस वर्ष धरान, विराटनगर, पोखरा, काठमाडौँ र हङकङबाट माग बढी भएकाले ढाकाका कपडाको कारोबार उच्च भएको सुब्बाले बताउनुभयो ।
दसैँ तिहारमा ढाकाको टोपी र पछ्यौराको बिक्री धेरै भएको छ । एउटा टोपी रु पाँच सयदेखि २५ हजार सम्ममा बिक्री भएको छ । यसैगरी एउटा पछ्यौरा रु एक हजारदेखि पाँच हजारसम्ममा बिक्री भएको छ । जिल्लाका ढाका उद्योगले टोपी पछ्यौरा, सर्ट, टाई, रुमाल, चौबन्दी, टोपी, ब्लाउज, साडी, तन्ना, पर्दा, फेटा, थैली, झोला, पर्स, गलबन्दी, सलवार, चोलो, जुत्ता, चपल, बेल्टलगायत आकर्षक सामग्री उत्पादन गर्ने गरेका छन् ।
हातैले बुनेका कलात्मक ‘तेह्रथुमे ढाका’ हेर्दा आकर्षण देखिने भएकाले तिहारका लागि ढाका कपडा किन्न उर्लाबारीबाट आउनुभएकी श्यामकला भट्टराईले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “तेह्रथुमे ढाकामा धागो र रङको संयोजन कलात्मक र उत्कृष्ट छ । टिकाउ पनि उतिकै राम्रो छ । सबैले मन पराउने भएकाले आफूलाई पनि रहर लागेर किन्न आएकी हूँ ।”
दसैँै तिहारबाहेक अरु समयमा पनि यहाँ आउने सबैको पहिलो नजर तेह्रथुमे ढाकामै जान्छ । उनीहरूले एक÷दुईवटा ढाकाका कपडा किनिहाल्छन् । हिजो–आज तेह्रथुमे ढाकाले छुट्टै पहिचान बोकेको छ । यही पहिचानका आधारमा ढाका कपडाका पारखीहरूले टाढैबाट चिनिहाल्छन् । तेह्रथुमे ढाका कपडा स्वदेश तथा विदेशमा समेत लोकप्रिय बन्दै गएको छ । देशका विभिन्न स्थानमा ढाका कपडा बुनिए पनि ढाका कपडाको क्षेत्रमा छुट्टै पहिचान बनाएको छ तेह्रथुमे ढाकाले ।
तेह्रथुमे ढाका कपडा देशका ठूलाठूला बजारमा मात्रै नभई विदेशमा निर्यात हुन थालेको उद्यमीहरू बताउँछन् । हिजो–आज काठमाडौँ, पोखरा, बुटबल, धरान, विराटनगरलगायत देशकै ठूलाठूला बजारमा तेह्रथुमे ढाकाको माग बढ्दै गएको छ । यसैगरी हङकङ, बेलायत, सिङ्गापुर, ब्रुनाई, भारतलगायत देशमा पनि तेह्रथुमे ढाकाको निर्यात बढ्न थालेको छ । विशेषगरी विदेशमा बसोबास गर्ने नेपालीले पनि ढाका माग गर्ने भएकाले विदेशमा तेह्रथुमे ढाका कपडाको निर्यात हुन गरेकोे उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजीव ढुङ्गानाले बताउनुभयो । ढाका कपडाले जिल्लाको अर्थतन्त्रलाई ठूलो टेवा पु¥याएको उहाँको भनाइ छ । यसबाट हजारौँ महिलाले रोजगारी पाएका छन् । ढाका उद्यमबाट महिलाको आयआर्जनमा सुधार आएको र महिला हिंसा कम हुने गरेको म्याङलुङ नगरपालिका–१ निवासी सुनिता दाहालले बताउनुभयो ।
ढाका उद्योगमा काम गर्ने महिलाले मासिक रु सातदेखि २५ हजारसम्म कमाइ गर्ने गरेका छन् । यसका अतिरिक्त स्थानीयवासीले घर–घरमा घरेलु कपडा बुन्ने गरेका छन् । बजारमा तेह्रथुमे ढाका कपडाको माग यति धेरै बढे पनि माग पूरा गर्न नसकिएको उद्योगीहरू बताउँछन् । हाते तानबाट ढाकाका कपडा बुन्न सुरु गरिएको तेह्रथुममा अहिले घरका कौसी, बार्दली, कोठा मात्रै नभएर भान्साघरमा तान राखेर ढाका कपडा बुन्ने युवायुवतीको सङ्ख्या प्रशस्तै भेटिन्छ । सभ्यताका रूपमा स्थापित ढाका कपडाप्रतिको मोह र जीविकोपार्जनका लागि पनि कपडा बुन्ने तान हरेक परिवारका कोठामा जोडिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुममा दर्ता भएका एक हजार एक सय ८१ उद्योगमध्ये एक सय ३५ उद्योगले ढाका कपडा दर्ता गरेका उद्योग विकास अधिकृत कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
तेह्रथुमे ढाका कपडाको प्राण भनेकै ढाका उद्यमी र बुनकर हुन् । यिनीहरूको आर्थिक, सामाजिक, स्वास्थ्य र परिवारबारे सरोकारवाला सङ्घसंस्था, स्थानीय, प्रदेश, सङ्घीय सरकारले दीर्घकालीन हितका योजना ल्याई कार्यान्वयनमा लैजानुपर्ने स्थानीयवासीको भनाइ छ । बुनकरलाई यो पेशामा आकर्षण गर्न सके ठूलो सङ्ख्यामा रहेको शिक्षित तथा अशिक्षित र बेरोजगारलाई स्वरोजगार बनाई तेह्रथुम ढाका कपडा र उद्योग विस्तार गरी तेह्रथुम जिल्ला ढाकाको राजधानी पर्यटनकोे खानी भन्ने उक्त कायम राख्न सकिने उनीहरूले बताएका छन् । रासस