झापा, बसन्त राज सुब्बा - उधमशील महिला जागरण केन्द्रले कार्तिक ३ गते विहीबार आफ्नो चौथो बार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न गरेको छ ।
उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता उप्रेती दाहालको अध्यक्षता तथा कमल गाउँपालिका प्रमुख हुकुम सिंह राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
मानवीय सेवालाई परमधर्म ठानी जनसेवा एवं परोपकारी भावनाबाट अभिप्रेरित भई समाजसेवामा सहयोग पुर्याउने उद्देश्य अनुसार समाजमा जनचेतनाको अभावका कारण समाजमा देखिने बिकृति र विसंगती , महिला हिंसा , बाल हिंसा, यौन शोषण,लागुपदार्थ दुव्र्यशनी झैँ झगडा र अशिक्षाका कारण उत्पन्न समस्याहरुलाई न्यूनीकरण गर्न उधमशील सक्षम बनाउन बनाउने उदेश्यले २०७४ सालमा स्थापना भएको संस्थाले आफ्नो चौथो बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
हाल यो संस्था जिल्ला समन्वय समिति झापा, समाज कल्याण परिषद लगायत झापा जिल्लाका विभिन्न ९ स्थानीय निकाय, इलामको चुलाचुली , मोरङको विराटनगर, संखुवा सभाको मादी न.पा,चैनपुर न. पा, पांच खपन न. पा साथै प्रदेश २ मिथिला न. पा. सम्म यस संस्थाले गतिविधिहरु संचालन गर्दै आएको छ भने यसै आव. देखि प्रदेश ३ हेटौडा उप महानगरपालिका तथा भरतपुर महानगरपालिकामा समेत कार्य क्षेत्र बनाई कार्यक्रम संचालन गर्ने तयारीमा रहेको छ ।समाजमा देखीने विकृती र विसंगती लाई न्युनिकरण गर्न तालिम गोष्ठी तथा सेमिनारले मात्र समृद्ध समाज निर्माण हुन सक्दैन यसकालागी लक्षित वर्ग छनौट गरी सिपमुलक, आयमुलक तथा व्यबसाय मुलक तालिम प्रदान गरी तालिम प्राप्त व्यक्तिलाई रोजगारीको श्रृजना गर्न सके मात्र समाजमा हुने विकृती र विसंगती क्रमस न्युनिकरण हुँदै जाने संस्थाले जनाएको छ ।
संस्थाले आवद्ध महिलालाई विभिन्न प्रकारका सिप मुलक तालिम प्रदान गरिरहेको छ । जस अन्तर्गत ढाकाका सामान निर्माण, अचार बनाउने, सेनेटरी प्याड निर्माण, ड्राईभिङ्ग, लैङ्गिक हिंसा विरुद्ध सचेतना सम्बन्धि तालिम,लागु औषध दुर्ब्यसनी , महिलाहरुको नेतृत्व विकास, मानव अधिकार, कफि बनाउने लगायत १ दर्जन भन्दा बढी तालिम सञ्चालन गर्दै आईरहेको छ।
महिलाहरु विशेष गरेर घरायसी काममा नै बढी ब्यस्त भएता पनि समयलाई मिलाएर विभिन्न सिपमुलक तालिमा समावेस हुनु सकारात्मक रहेको छ। गाउँपालिकामा रहेका बेरोजगार महिलालाई तालिम प्रदान गरेर रोजगारी श्रृजना गरेको छ। यसले गाउँपालिकाको काममा एउटा ईटा थप्ने काम गरेको कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले बताएकी छिन। कार्यक्रममा कमल गाउँ पालिका वडा नम्वर ६ का वडा अध्यक्ष नरेन्द्र भट्टराई, चुलाचुली गाउँपालिका वडा नम्वर १ की महिला वडा सदस्य रामकुमारी राई र संस्थाका सल्लाहकार यामनाथ दाहालले समाज रुपान्तरणमा संस्थाले गरेको कामको चर्चा गर्दै आगामी दिनमा थप सफलता मिलोस् भन्ने शुभकामना ब्यक्त गरेका थिए।
संस्थामा हाल ९ जना सस्थापक ७३ जना आजिवन र २१७ जना साधारण सदस्य रहेका छन् जस मध्ये ८० जना महिला प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी गरिरहेका छन् । साधारण सभाको अवसरमा संस्थाले थप आठ जनालाई आजिवन सदस्यताको प्रमाण पत्र समेत प्रदान गरेको छ ।अतिथिहरुलाई यसै संस्थाले उत्पादन गरेको मायाको चिनो संस्थाका अध्यक्षको हातबाट प्रदान गरिएको थियो भने चौथो साधारण सभामा वार्षिक आम्दानी खर्च विवरण संस्थाकी कोषाध्यक्ष बेगमाया वाग्लेले प्रस्तुत गरेकी थिईन।अतिथिमा कमल वाणिज्य संघका अध्यक्ष बीरेन्द्र अधिकारी , मिडिया तथा पत्रकार ओमनाथ भण्डारी, बिरेन्द्र कुमार याक्थुबा लगायतको उपस्थित रहेको थियो ।कार्यक्रम संस्थाकी सचिव सिता शेर्पाले सहजीकरण गरेकी थिईन भने सह सचिव नन्दकुमारी लिम्बुले शाब्दिक शब्द द्वारा स्वागत गरेकी थिईन।