वालिङ, ५ कात्तिक l नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशमा व्यवस्था बदलिए पनि प्रवृत्ति नबदलिएको बताउनुभएको छ । उहाँले व्यवस्था परिवर्तन भए पनि अवस्था पुरानै र परिवर्तन हुन नसकिरहेको अवस्थामा अब भ्रष्ट प्रवृत्तिको विरोध गरी प्रवृत्ति नै बदल्नु आवश्यक रहेको बताउनुभयो ।
नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ (क)ले आज वालिङमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्नुहुँदै उहाँले भ्रष्टाचारकै कारण देश समृद्धितर्फ जान नसकेको उल्लेख गर्दै अब सबै जना एकजुट भई जरो गाडेर रहेको भ्रष्टाचारको अन्त्यका लागि लाग्नुपर्ने बेला आएको धारणा राख्नुभयो ।
“भ्रष्टाचारकै कारण देश अगाडि बढ्नुको सट्टा पछाडि–पछाडि धकेलिँदै छ”, उहाँले भन्नुभयो, “अब पनि यस्तो अवस्था रहिरहे समृद्धि सम्भव छैन, अगाडि होइन, पछाडितर्फ धकेलिन्छौँ ।”
देशको विकास गर्छु भन्नेहरू पहिला आफैँबाट सुध्रिनु आवश्यक रहेको गुरुङले बताउनुभयो । अरुलाई सुधार्नुपूर्व आफैँ सुध्रिनु आवश्यक छ अनि बल्ल अरुलाई सुधार्न सहज हुने उहाँ बताउनुहुन्छ ।
“नेतृत्व तहमा आउनेले जनताका अगाडि उभिएर एउटा सङ्कल्प गरौँ”, उहाँले भन्नुभयो, “सबै नेताको सम्पत्ति छानविन गरौँ र त्यसको सुरुआत धनराज गुरुङबाट गर्नुहोस् भनेर म पटक–पटक बोलेको छु ।” उपसभापति गुरुङ नेपाली कांग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुनुहुन्छ । आगामी मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसका उपसभापति गुरुङ र नेकपा (एमाले) केन्द्रीय सचिव पद्माकुमारी अर्यालबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा अर्यालले कांग्रेसका केन्द्रीय सदस्य एवं तत्कालीन उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गर्नुभएको थियो ।