बेनी, ४ कात्तिक l जिल्लाको पहाडी क्षेत्रमा कोदो पाक्न थालेपछि कृषकलाई बाली भित्र्याउने चटारो छ । बिहानेदखि बेलुकीसम्म नै कोदो टिप्न कृषक बारीमा व्यस्त हुने भएपछि भोट माग्द घरदैलोमा पुगेका उम्मेदवार खेतबारीसम्मै पुग्न थालेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका नेता यतिबेला घरदैलो अभियानमा व्यस्त छन् ।
निर्वाचन आयोगले उम्मेदवारको प्रचार–प्रसार अभियानका लागि सभा, समारोह, आमसभा गर्नका लागि मतदान हुने दिनअघिको १७ दिनमात्रै गर्न पाउने नियम बनाएपछि यतिबेला उम्मेदवार घरदैलो अभियानमा छन् । म्याग्दीमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका खमबहादुर गर्वुजा र प्रदेशसभा (क) मा उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का हरि भण्डारी र (ख)मा उम्मेदवार बन्नुभएका रेशम जुग्जालीसहित निर्वाचन प्रचार–प्रसारको टोली घरदैलो अभियानमा केन्द्रित भएका छन् ।
प्रदेशसभा (क)अन्तर्गतको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाका विभिन्न बस्तीमा कांग्रेसका गर्वुजा र प्रदेशसभा सदस्य पदका उम्मेदवार भण्डारीको टोलीले घरदैलो गरिरहनुभएका छन् । जिल्लास्तर, दुवै प्रदेशसभा क्षेत्र र छवटै स्थानीय तहमा गठबन्धनको तर्फबाट संयुक्त निर्वाचन परिचालन समिति गठन गरिएको र वडा तहसम्म नै चुनाव प्रचार–प्रसार समिति गठन र उम्मेदवारसहितको टोलीले घरदैलो अभियान गर्न सुरु गरेको मूल निर्वाचन परिचालन समितिका संयोजक कर्णबहादुर भण्डारी (केवी)ले जानकारी दिनुभयो ।
गठबन्धनको तर्फबाट प्रदेशसभा (ख)का उम्मेदवार जुग्जालीसहितको टोली घरदैलो अभियान लिएर धवलागिरि गाउँपालिका–१ गुर्जा पुगेका छन् । मालिका गाउँपालिकाभित्रका सबै वडामा चुनाव प्रचार–प्रसार समिति गठन गरी अभियानको सुरुआत गरेको टोलीले धवलागिरिको सबैभन्दा विकट बस्ती मानिने गुर्जाबाट अभियानको थालनी गरेको हो । टोलीमा प्रदेशसभा (ख) का संयुक्त निर्वाचन प्रचार–प्रसार समितिका संयोजक टङ्कप्रसाद पुन, प्रदेशसभा सदस्य पदका उम्मेदवार जुग्जाली, मालिकाका निवर्तमान अध्यक्ष एवं कांग्रेसका युवानेता श्रीप्रसाद रोकालगायत सहभागी हुनुहुन्छ ।
जिल्लामा गठबन्धनको मुख्य प्रतिस्पर्धी दल नेकपा (एमाले)ले समेत घरदैलो अभियान चलाएको छ । एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठसहित प्रदेशसभा (क)का उम्मेदवार देवेन्द्रबहादुर कटुवाल क्षेत्रीको टोलीले रघुगङ्गाको विभिन्न वडा, टोल र बस्तीमा पुुगेर मतदातासमक्ष भेटघाट सुरु गर्नुभएको छ । एमालेको यस टोलीले रघुगङ्गा–८, कुइनेमङ्गलेको घ्याँसीखर्क, चिमखोलाको लाम्मेला र दर्मिजा पुगेर मतदाता भेटघाटसहित घरदैलो अभियान गरेको हो । प्रदेशसभा (ख)मा पनि एमाले उम्मेदवार यामबहादुर गर्बुजासहितको टोलीले घरदैलो अभियानमार्फत मतदाता भेटघाट गरेका छन् । जिल्लामा राप्रपा, नेशनल मङ्गोल अर्गनाइजेशनलगायतका दल र स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरूलेसमेत घरदैलो अभियान चलाएका छन् ।
आगामी निर्वाचनलाई लक्षित गरेर जिल्लामा मतदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भइरहेको छ । दलहरूले प्रचार–प्रसार गर्ने मुख्य अवधिमै स्थानीय तहमार्फत निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिनुभयो । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र र प्रदेशसभाका दुई गरी प्रत्यक्षतर्फको तीन सिट रहेको म्याग्दीमा २० जना चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभामा स्वतन्त्रसहित नौ, प्रदेशसभा क्षेत्र (क)मा पाँच र (ख)मा छ उम्मेदवार बनेका छन् । रासस