शुक्लाफाँटा नगरपालिका–३ का किसान रामकिसान चौधरीलाई धान काट्ने चटारो बढको छ । वर्षाको पानीले पाकेको धानबाली निथु्रक्क भिजाएर नोक्सानी पु¥याएकामा उहाँ निकै चिन्तित हुनुहुन्छ ।
“लगातारको एक सातासम्मको वर्षाले पाकेको धानबाली काटन पाएनौँ”, उहाँले भन्नुभयो, “धानको बोटमा लागेको बालामा भएका दाना उम्रिन थालेका छन, ढलेको धान पुरै उम्रिएर कामै नलाग्ने भएको छ ।” वर्षभरी परिवारका लागि खानका लागि चाहिने धानबाली भित्र्याउनमै ध्येय रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनका बेला उम्मेदवार गहकिला प्रतिबद्धता ल्याएर आउछन, चुनाव जितेर गएका किसानको अवस्था सोध्नका लागि पुग्दैनन्, किसानले समयमै रासायनिक मल, बीउ पाउदैनन् ।”
धानबाली भित्र्याउन पाए वर्षभरीका लागि खान पुग्ने भएकाले पुरै परिवार धान काटनमै व्यस्त रहेको उहाँले बताउनुभयो । गत वर्ष धानबालीमा निकै नोक्सानी भयो, थोरै मात्र क्षतिपूर्ति पाइयो, यस वर्ष पनि गत वर्ष झैँ नोक्सान भएको किसान तुलसीराम चौधरीले बताउनुभयो ।
“धानबालीमा ठूलो क्षति भए पनि बीउ खरिदका लागि पुग्ने रकम क्षतिपूर्तिका रुपमा पाएनौँ, धानबालीमा ठूलो क्षति व्यहोरेका किसानले एक हजार, दुई हजारमात्रै क्षतिपूर्ति पायौँ, किसानको हित नसोच्ने उम्मेदवारलाई मत हाल्दैनौँ”, उहाँले भन्नुभयो ।
“किसानका लागि मल, बीउ, सिँचाइ, तालिम, सहुलियत दरमा कृषि औजार उपकरण उपलब्ध गराउने उम्मेदवार रोजाइमा रहेका छन्”, कृष्णपुर नगरपालिका–२ बाणीका किसान शोभा खुनाले भन्नुभयो, “ काम गर्नेलाई मात्रै मत हाल्छौँ ।”