शुरबहादुर सिंह : मुलुकभर परेको अविरल वर्षाका कारण यसपालिको दसैँ कार्णालीवासीले राम्रोसँग मनाउन पाएनन् । सर्वसाधारणले बल्लतल्ल दसैँको टीका लगाउन त भ्याए तर वर्षा, चिसो र हिलोका कारण देशविदेशबाट दसैँ मनाउन घर आएकाहरुले परिवारमा बसेर एकापसमा खुसी नै साट्ने अवस्था भएन ।
दसैँको टीकाकै दिन बिहानैदेखि अत्यधिक चिसोसँगै बर्सात सुरु भयो । हिमाली जिल्लावासीको दसैँ वर्षा र चिसोले अझ बढी कष्टकर बन्यो । पूर्णिमाको दिनसम्म उज्यालो होला र आफन्तजनसँग टीका जमरा लगाउँला भन्ने आशामा बसेका यहाँका सर्वसाधारण निराश मात्र भएनन्, उनीहरुले विपद्को सामना गर्नुप¥यो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार विपद्कै कारण असोज २२ गते अपराह्न ४ बजे कनकासुन्दरी गाउँपालिका–५ जुम्ला बारकोटे गाउँका एकाघरका पाँचसहित सातजनाले ज्यान गुमाए । सोही दिन हिमा गाउँपालिका–३ जोगीवाडामा बाढीमा परी एकै घरका दुईजनाको ज्यान गयो ।
डोल्पादेखि जुम्ला आउँदै गरेकी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अध्ययनरत एकजना छात्राको गुठीचौर गाउँपालिका–१ मणिसँघु जुम्लामा राति घर भत्केर ज्यान गयो । असोज १९ गतेदेखि टेलिफोन टावर, इन्टरनेट, विद्युत् अवरुद्ध हुँदा कहाँ कति धनजनको क्षति भयो भन्ने यकिन अझै भइनसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
विपद्ले जुम्ला मात्र नभई कर्णालीका दशवटै जिल्लामा वितण्डा मच्चाएको छ । कतै पहिरो, कतै बाढी त कतै चट्याङले अरबौं जनधनको क्षति गरेको छ । सञ्चारमाध्यम अवरुद्ध हुँदा सबै जिल्लाको क्षति सङ्कलनमा जिल्लाका विपद् व्यवस्थापन समितिहरुलाई समस्या भएको छ । पहिराले कर्णाली राजमार्गलगायत अन्य सहायक मार्ग बन्द हुँदा उद्धार तथा राहतका कार्य गर्न पनि त्यत्तिकै कठिन भएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले बताउनुभयो ।
१३ मलामी पहिरामा बेपत्ता भएपछि गाउँ शोकमग्न
कालीकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा असोज २३ गते दिउँसो २ बजे मलामी गएका १३ जना पहिरामा परी बेपत्ता भएपछि राँचुली गाउँ शोकमा डुबेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार राँचुली गाउँभन्दा तल तिला नदी किनारस्थित भाडी खोलाको घाटमा दाहसंस्कार गर्दै गरेको अवस्थामा उक्त खोलामा पहिरो आई १३ जनालाई बेपत्ता बनाएको हो ।
त्यस्तै, कालीकोटको मान्म खाँडाचक्र नगरपालिका–८ सेरावाडा प्रहरी चौकीमा कार्यरत जुम्ला तातोपानी गाउँपालिका निवासी एकजना प्रहरी जवानको सोमबार खोला तर्ने क्रममा मृत्यु भएको छ । असोज २३ गते तिलागुफा नगरपालिका–७ कालीकोट बालीस्थित पहिराले घर भत्किँदा पाँचजना बेपत्ता भएका छन् ।
चङ्खेली गाउँपालिका–५ हुम्ला मेल्छाममा असोज २३ गते आएको पहिराले घर भत्किँदा चारजनाको ज्यान गएको छ । सोमबार आएको पहिराले घर पुरिँदा मुगु रारा छायाँनाथ नगरपालिका–११ सालिम बस्तीमा आठजनाको मृत्यु भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । एकजना डोल्पासहित जुम्लामा १० जनाको यो विपद्बाट ज्यान गएको छ । डुङ्गेश्वर गाउँपालिका– ५ दैलेखका एक व्यक्ति बेपत्ता भई २३ गते खोला किनारमा मृतावस्थामा भेटिएका थिए ।
दैलेखसहित साबिक कर्णालीका पाँचै जिल्ला गरेर अहिलेसम्म ४२ जनाको मृत्यु तथा बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विपद्कै कारण कर्णालीमा अर्बौंको क्षति भएको जनाइएको छ ।