सडकका खाल्डाखुल्डीबाट जोगिनै समस्या
पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डका विभिन्न ठाउँमा खाल्डाखुल्डी छन् । खाल्डोमा पानी जमेको छ । सडकमा बुङ्बुङ्ती धुलो उड्छ । धुलोको सास्ती त छँदैछ, यात्रा गर्दा खाल्डोबाट जोगिनपर्ने अवस्था पनि छ ।
मुग्लिन पोखरा सडक विस्तारका कारण यहाँका अधिकांश ठाउँका सडक भत्किएका छन् । ठूला सवारीसाधनलाई भन्दा पनि दुई पाङ्ग्रे सवारी साधनका यात्रुई खाल्डोबाट बच्नुपर्ने अवस्था छ । सडक खाल्डाखुल्डी पर्दा कष्टपूर्ण यात्रा त छँदैछ दुर्घटनाको जोखिम पनि बढेको छ ।
सडक खाल्डाखुल्डी हुँदा दशैँमा यात्रा गर्ने यात्रुले सास्ती पाएका छन् । मुग्लिन पोखरा सडक विस्तारका क्रममा तनहुँका धेरै ठाउँमा सडक खाल्डाखुल्डी हुँदा दशैँका बेला यात्रा गर्नेले सास्ती पाएको स्थानीयवासी बताउँछन् ।
सडकको दूरावस्थाले गर्दा यात्रा गर्दा सास्ती खेप्नुपरेको व्यास नगरपालिका–११ का भानुभक्त सोतीले बताउनुभयो । सदरमुकाम दमौली नजिकैका अधिकांश ठाउँमा सडक खाल्डाखुल्डी पर्दा यात्रा गर्दा जोखिमका साथै दुर्घटनाको सम्भावना रहेको उहाँ बताउनुहुन्छ । सोती आक्रोश पोख्दै भन्नुहुन्छ, “दशैँको बेलामा बाइक र स्कुटरमा हिँड्नेको पीडा सुविधायुक्त गाडीमा हिँड्नेलाई के थाहा ।”
उहाँले दशैँका लागि लक्षित गरी सडक मर्मतका लागि नगरपालिकालाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “नगरपालिका र वडासँग स्रोत साधन र बजेट छैन भने जनप्रतिनिधि ज्यूँ, बेल्चा लिएर आउनुस् श्रमदानका लागि हामी तयार छौँ ।” पृथ्वी राजमार्ग सङ्घीय सरकार मातहत रहेकाले यसमा केही गर्न नसकिने नगरपालिका बताउँछन् ।
पृथ्वी राजमार्गअन्तर्गत ७२ किलोमिटर खण्ड रहेको तनहुँमा मुग्लिन पोखरा सडक विस्तारका लागि काम भइरहेको छ । त्यसले गर्दा सडक सडकमा धुलो बुङबुङ्ती उड्छ । धुलो र खाल्डाखुल्डी सडकले राजमार्गमा यात्रा गर्न जोखिम रहेको म्याग्दे गाउँपालिका–७ का मोहन बरालीले बताउनुभयो । “दशँैका बेला त झन आफन्तको जानुपर्छ, सडकको हालत यस्तो छ की यात्रा गर्नै मन लाग्दैन”, उहाँले भन्नुभयो, “तर के गर्नु दुःखकष्ट गरेरै भए पनि आफन्तकहाँ पुग्नैप¥यो ।”
मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका प्रमुख नरेन्द्र सुवेदी भने दशैँका लागि साना–साना खाल्डा मर्मत गर्ने काम गरिएको बताउनुहुन्छ । “साना–साना खाल्डामा एक चरणको मर्मत गरेका छाँै, काम भइरहेका ठाउँमा भने सडक मर्मत गर्न सकेनौँ”, उहाँले भन्नुभयो, “ बेला–बेलामा पानी हाल्ने काम पनि भइरहेको छ ।”
दशँैमा सर्वसाधारणलाई केही सहज होस् भन्नका लागि फूलपातीसम्म धेरै ठाउँका खाल्डाखुल्डी मर्मत गरिएको उहाँले बताउनुभयो । “ठूला खाल्डा परेका ठाउँमा काम भइरहेका थिए त्यहाँ मर्मत गर्न सकेनौँ”, उहाँले भन्नुभयो ।
उक्त खण्डमा दशैँका लागि काम रोकिएको छ । कामदार फूलपातीदेखि घर गएकाले काम रोकिएको उहाँले भन्नुभयो । “दशैँपछि मात्र अब काम सुचारु हुन्छ, कामदार घर गएका छन्”, प्रमुख सुवेदीले भन्नुभयो । पृथ्वी राजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिए पनि तनहुँ खण्डमा भौतिक प्रगति भने न्यून छ । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी काम गरिएको छ ।
पूर्वी खण्डअन्तर्गत मुग्लिनदेखि जामुनेसम्मको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।
पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनिया कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ ।
मुग्लिन पोखरा सडक योजना (पूर्वी) खण्डमा हालसम्म ३.४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । आर्थिक वर्ष ०७८÷७९ मा पूर्वी खण्डका लागि रु दुई अर्ब ५१ करोड ८८ लाख आठ हजार विनियोजन गरिएको थियो तर यस अवधिमा रु ५७ करोड ३७ लाख चार हजार मात्रै खर्च भएको छ । कूल विनियोजितमध्ये ७७ प्रतिशत बजेट खर्च हुन नसकेको सुवेदीले बताउनुभयो ।
योजनाको पश्चिम खण्डतर्फ पाँच प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । वित्तीय प्रगति भने २३ प्रतिशत रहेको योजनाका इन्जिनियर नारायण पौडेलले जानकारी दिनुभयो । आर्थिक वर्ष ०७८÷७९ मा यो खण्डका लागि रु एक अर्ब ९१ करोड ९५ लाख १८ हजार विनियोजन भएकामा रु ४४ करोड ३६ लाख ४६ हजार खर्च भएको छ ।
विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बंैक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।
चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । RSS