म्याग्दे गाउँपालिका–३ किलचोकका पूर्णबहादुर सारु ३२ बर्ष पुग्नुभयो । पूर्ण अशक्त उहाँलाई यताउता लैजान अरुको सहारा चाहिन्छ ।
क श्रेणीको अपाङ्गता रहनुभएका सारुले शुक्रबार आफ्नै घरमा कोभिड बिरुद्वको खोप लगाउन पाउँदा खुशीले गद्गद हुँदै बल्ल हामी जस्ता अपाङ्गता र अशक्त व्यक्तिले स्थानीय सरकारको अनुभूति गर्न पाएका छौ भन्नुभयो ।
गाँउपालिकाद्धारा आयोजित घुम्ती शिविरको चौथो दिन शारीरिक रुपमा अशक्त र अपाङ्गता भएको व्यक्तिहरुलाई घर घरमा पुगेर कोभिड विरुद्धको खोप र अन्य स्वास्थ्य सेवा दिन थालेपछि म्याग्देबासी खुशी भएका हुन् ।
सारुले जस्तै २८ बर्षीय कृष्णबहादुर थापा, सोही ठाँउ वस्ने, वर्ष ३३ का बिहिसरा थापा र २९ बर्षीय नारायणबहादुर हुन्चिङ्गलगायत घरमा स्वास्थ्यकर्मी पुगेर खोप दिएपछि राहतको महसुस गरेका छन् । स्पाईनल ईन्जुरीका कारण पूर्णरुपमा शारिरिक अपाङ्ग भई ओछ्यानमा रहेका २९ वर्षिय नारायणबहादुर हुच्चिङ्गले कोभिड खोप र स्वास्थ्य सेवा पाँउदा खुशी हुँदै समान्य व्यक्तिभन्दा पनि अपाङ्गता भएको व्यक्तिलाई सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयोे ।
अपाङ्गताहरु वडा र पालिकामा आउन नसक्ने र घुम्ति शिविरमा आएर पनि स्वास्थ्य सेवा लिन नसक्ने भएकाले ँ निजहरुको घर घरमा नै गएर खोप लगाइदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
एकिकृत घुम्ती सेवा मार्फत घर घर टोल टोलमा पुगेर सेवा दिदाँ म्याग्देबासीमा खुशी छाएको उहाँले बताउनुभयो ।
चौथो दिनसम्ममा सात स्थानमा शिविर सम्पन्न हँदा कोभिड १९ विरुद्ध बयस्क फाईजर खोप दुई सय सरसठ्ठी जनाले लगाएकामा सत्र जनाले पहिलो मात्रा, अठ्ठार जनाले दोश्रो मात्रा र दुई सय ३२ जनाले तेश्रो÷बुष्टर मात्रा खोप सेवा पाएको स्वास्थ्य शाखा प्रमुख दिनेश पण्डितले बताउनुभयो ।
वडा नं १ को मान्हौँ, गुणादी र बाख्रे, वडा नं. २ को गुञ्जारा, जामुने, ऋषिथुम र पिपलडिही समेत गरी सात स्थानमा घुम्ती शिविर सम्पन्न भैसकेको छ । उक्त शिविर असोज २ देखि २०७९ असोज ३१ गते सम्म चल्ने सो गाउँपालिका कार्यालयले जनाएको छ ।रासस