नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को कार्यकाल पूरा अवधिसम्म जोगाउन सफल भएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अघिल्लो सरकारका असंवैधानिक कार्यबाट संविधान र लोकतन्त्रको रक्षा गर्न संसद् सफल भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष भए पनि अकाल मृत्यु भोग्नुपर्ने अवस्थाबाट जोगाएका छौँ । अकाल मृत्यु भोग्नुपर्ने अवस्थामा सदन पुगेको थियो । त्यो अवस्थाबाट सदन बचेको छ । जनता, नागरिक समाजले सडक आन्दोलन गरेर र अदालतले संसद् जिवित गरायो ।”
माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष दाहालले पाँच वर्ष प्रतिनिधिसभा जसरी चल्नुपर्ने थियो त्यसरी चल्न नसकेको बताउनुभयो । “यो पाँच वर्ष जसरी व्यतित हुनुपर्दथ्यो । त्यो हुन सकेन । दुईपटक संविधान विघटन भयो । सात महिना चलेन”, उहाँले भन्नुभयो, “संविधानअनुसार स्थायी र समृद्धिको यात्रा अगाडि बढ्ने अपेक्षा गरिएको थियो । तर दुर्भाग्य त्यस्तो भएन । तीन वर्ष नपुग्दै तत्कालीन सरकार अगाडि जान सकेन ।”
अध्यक्ष दाहालले अब भविष्यमा लोकतन्त्रको मान्यताअनुसार संसद् सञ्चालन हुनुपर्ने धारणा राख्नुभयो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने सबै राजनीतिक दलले लाग्नुपर्ने भन्दै जनताको फैसला सबैले स्वीकार गर्ने उहाँले बताउनुभयो ।
अध्यक्ष दाहालले आउने दिनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समृद्धिका मुद्दामा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभयो । उहाँले संविधानअनुसार अर्को सरकार बन्ने सम्भावना भए पनि संविधानको भावना, लोकतन्त्रको मान्यताविपरीत तत्कालीन सरकारले प्रतिनिधिसभा विघटन गरेको स्मरण गर्नुभयो । उहाँले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको अन्तर विरोधलाई समाधान गर्न नसकेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउनुभयो ।