शर्मिला पाठक : काठमाडौँ महानगरपालिका–१८ का मञ्जली शाक्यलाई कामपाका प्रमुख बालेन्द्र साहको निर्देशनमा सुरु भएको अवैध संरचना भत्काउने काम सकारात्मक लागेको छ ।
शाक्य भन्नुहुन्छ, “यसलाई निरन्तरता दिनुपर्छ, सोहीअनुसारको संरचना कसैको भत्काउने कसैको नभत्काउने गरियो भने यसमा विमति जनाइन्छ अन्यथा सकारात्मक कार्यको थालनीमा सहयोग रहन्छ”, उहाँले भन्नुभयो ।
“नगरप्रमुख साहले अवैध संरचना भत्काउने सम्बन्धमा अहिलेसम्म गरेको अध्यास ठीक छ । कानुनविपरीतका संरचना भत्काउँदा व्यक्तिगतरूपमा व्यक्तिलाई घाटा वा नाफाभन्दा पनि सामूहिकरूपमा यसको प्रभाव के हो भन्ने विषय प्रमुख हो”, शाक्यले भन्नुभयो ।
दश वर्षदेखि काठमाडौँ बस्दै आउनुभएकी धादिङकी फूलमाया तामाङ पनि कामपाले सुरु गरेको अवैध संरचना भत्काउने र फुटपाथमा सञ्चालन हुँदै आएको पसल हटाउने कार्यलाई राम्रो भन्नुहुन्छ । यसरी संरचना भत्काइरहँदा नगरप्रमुखको नजर गरिखाने वर्गमा मात्रै नपरोस्, कानुन सबैमा बराबर लागू होस्, हुनेखानी र पहुँचवालालाई पनि यसले आभाष दिलाओस् यसमा हाम्रो सहयोग नै रहन्छ ।
फूलमाया र मञ्जलीले जस्तै कामपा वडा नं १७ का यशोधा थापाको भनाइ पनि प्रमुख साहको समर्थन गर्ने पक्षमा नै छ । शिक्षण पेशा गर्दै आउनुभएकी थापाले भन्नुभयो, “नगरपिताले केही सकारात्मक परिवर्तन गर्न खोज्नुभएको छ, त्यसमा हाम्रो साथ रहन्छ ।”
कामपाको भित्री क्षेत्रमा कुनै पनि समयमा सहजरूपमा आवतजावत गर्न सकिँदैन, जताततै पसल छ, पसलको कारण कठिन भयो भन्न पाइँदैन उल्टै पसल सञ्चालकले नै गाली गर्छन् उनीहरुसँग डराएर हिँड्नुपर्ने अवस्था छ, प्रमुख साहको कदमले आगामी दिनमा उक्त समस्याबाट मुक्त पाउने विश्वास शिक्षक थापाको छ ।
थापा भन्नुहुन्छ, “यो काम राम्रो छ, यसलाई महानगरको सबै स्थानमा अनुगमन गरी गैरकानुनी संरचना भत्काउने र नागरिक आवतजावतगर्ने बाटोमा सञ्चालन भइरहेका सबै पसल हटाउनुपर्छ ।”
थापा र शाक्यको भन्दा फरकमत छ रामेछामको अर्पण केसीको । उहाँले १३ वर्षदेखि असनको फुटपाथमा सञ्चालित जुत्ता व्यापारबाट छोराछोरीको लालनपालनगर्दै आउनुभएको थियो । पछिल्लो समय कामपाले अवैध संरचनासँगै फुटपाथ पसल हटाउने कामपले धेरैको व्यापार–व्यवसायमात्रै होइन, दैनिक खाने गाँससमेत खोसिएको छ । संरक्षण गर्नुपर्ने निकायले झनै विजोग बनाएर छाडेको उहाँले दुःखेसो पोख्नुभयो ।
चाडवाडको मुखमा महानगरले धेरैको बिजोग बनाएको उहाँको गुनासो छ । “लामो समयदेखि गरिँदै आएको पेशामात्रै खोसिएको छैन, काम गर्ने स्थान पनि खोसिएको छ”, केसीले भन्नुभयो, “हटाउँदा पनि विकल्प दिनुपथ्र्यो”, उहाँले भन्नुभयो । कामपाले यही भदौ ६ गतेदेखि अवैधरूपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर गरिरहेको छ ।
कामपाले यसलाई अभियानका रूपमा नै अघि बढाएको भन्दै यो कार्य कसैले रोक्न नसक्ने भन्दै यसलाई निरन्तर अघि बढाउने अडान लिएको छ । कानुनीरूपमा अवैध ठहर भएका सबै संरचना भत्काउने काम निरन्तर गरिनेछ, त्यसका लागि कामपाले नक्साअनुरुप वैध–अवैध यकिन गरिरहेको छ, कामपाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भन्नुभयो ।
“नक्साविपरीतका संरचना, नक्सापास नगरी निर्माण भएका संरचना र सार्वजनिक जग्गा मिचेर बनाएका सबै संरचना भत्काउने काम कामपाको कर्तव्यभित्र पर्छ”, उहाँले भन्नुभयो । यो कामलाई अभियानका रूपमा सञ्चालन गरिने र महानगरको ३२ सै वडामा निर्माण भएका यस्ता कुनै पनि संरचना बाँकी राखिने छैन, महानगरप्रमुख साहको सचिवालय सदस्य सुनिल लम्सालले भन्नुभयो ।
यस सम्बन्धमा कामपाको ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो र सम्बन्ध भएका व्यक्ति वा संस्थाले यसको बेवास्ता गरेपछि कामपाले अवैध संरचनामा डोजर चलाउन थालेको हो ।